~पिपला ढुङ्गाना~
लिएर दायित्व
बढाएर जिम्मेवारी
सहेर उकुसमुकुस
जो चुपचाप मुस्कुराउँछे
आफ्ना हरुको लागि
खाली कसौँडिको आवाजलाई
निलेरै भन्छे म टन्न छु
न थाक्छे उ कहिल्यै
आफ्ना हरुको नजरमा
न दिक्क मान्ने अधिकार छ उसलाई
न सक्छे दौडिन बनेर स्वतन्त्र
किनकि पैतालाको चालले
नापिन्छ उसको स्वभाव
कड्किएर बिमति जनाउने अधिकार
उसै दिन गाडिन्छ सायद
उसको सालनाल सँगै
पैतालाका चालहरु
धिमे धिमे सुस्ताउँदै जान्छन्
उसको हुर्काइ सँगै
ठेकेदार हो उ
सम्पुर्णलाई खुसी पार्ने ठेक्का लिएकी
भलै मतलब गर्ने कोहि नहुँन्
उसको खुशीको
चाहना र भावनालाई कुल्चाएरै पनि
खुसी खुसी स्विकारोक्तिको भान छर्ने
महान् कलाकार हो उ
र त मुस्कुराउँछे
कुन्नि कुन शक्तिको भरमा
हो त्यही सत्य हो नारी
(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)
कस्तो राम्रो कविता । मनै छोयो