छन्द कविता : कोरोना र दम्भ

~रमेश भट्टराई ‘सहृदयी’~

छन्द : शार्दुलविक्रीडित

लोभै हो मनको र दम्भ तनको बोकेर हिँड्छौ कति
आए ती र गए सबै जन यहाँ छोडेर त्यो सम्पति
आयो सङ्कट लौ भयङ्कर यहाँ बाँच्नै छ ठूलो कुरा
दाह्रा धस्न सिपालु राहत सबै चाल्छन् अनौठा छुरा । १ ।

सीमा पार गुहार गर्छ जनता आशा भरोसा गरी ।
माटाको ममता बुझेर उसले पोख्दै छ त्यो जीवनी
बस्छौ भित्र घरै र आँशु जनका के बुझ्न सक्छौ तिमी
आमाका बचरा बराबर भनी चिन्दैन अन्धो धनी । २ ।

आफ्नाको हित मात्र गर्छ दुनियाँ भुल्दो छ संवेदना
आमा छिन् रगताम्य हेर कसरी चुस्दै छ मान्छे यहाँ
मान्छे हो सबको विचार परको राखेर सोच्ने भए
भारोपर्म थियो, खुशी जन थिए ती सत्य गुम्दै गए । ३ ।

पैसा नै सबथोक ठान्दछु भनी भन्नेहरू छन् घर
सानो भैकन हेर भाइरसले यो दम्भ तोड्यो तर
आविष्कार गरेँ, जितेँ भुवन नै भन्ने त कोठा पसे
बाँचौँ लौ सबले बचाउन सकौँ भन्दै विचार्दै बसे । ४ ।

अर्काको धन खान आज दुनियाँ जोत्दो छ नाली मुख
मर्दै छन् तर छैन चेत अझ खै बुझ्दैन साँचो सुख
खोक्रो दम्भ सिकार भो पलभरै मर्ने र मार्ने पनि
मान्छेको बलको विषाणु बबुरो झार्दै छ सेखी अनि । ५ ।

दाता भाव विभोर भो तर यहाँ घ्याम्पे र घोप्टे बढे
छिःछिः तुच्छ छ त्यो कलङ्क कुलको बाँचेर मर्दै रहे
कोरोना तनको र भ्रष्ट मनको यी शत्रु जानी लिनु
तर्केरै घरमा बसेर रहने सच्चा छ ऊ सम्झिनु । ६ ।

छन्द : शार्दुलविक्रीडित : SSS IIS ISI IIS SSI SSI S

२०७६÷१२÷२७
Ramesh Bhattarai
Lecturer
Adarsha Multiple Campus
Gajuri 1, Dhading

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.