~नेत्र तामाङ~
मनसरा र धनसराले स्कुलबाट फर्केपछि पिढींमा बसेर खाजा खाए । आमाले दुबैका लागि सानो डोको, नाम्लो र हसियाँ तयार पारिन् ।
‘लु है, दुबैजना आओ, घाँस त आज अलि धेरै ल्याउनुपर्छ’ आमा आँगनमा पुगिन् ।
‘म त जान्नँ के, ताल्चावाला झोला नकिने जाँदैजान्न’, मनसरा ठुस्किइन् ।
‘नक्कलीलाई ताल्चावाला झोला, हामीलाई सुर्केनी झोलाले नै भएको छ त,’ धनसराले आँखा तन्काइन् ।
मनसरा र धनसराको पारा देखेर आमा जिल्ला परिन् । मनसरा र धनसरा जुम्ल्याहा थिए । दुबैजना कक्षा ४ मा पढ्छन् । कक्षामा ३० जना विद्यार्थी थिए । मनसराको रोल नम्बर १, धनसराको रोल नम्बर ३० । मनसरा पढ्नमा एकदमै तेज थिइन् । धनसरा पढाईमा त्यति मन लाउथिनन् ।
मनसरा आज्ञाकारी पनि थिइन् । धनसरा उत्ताउली स्वाभाउकी । आज आज्ञाकारी छोरीको माग सुनेर आमा छक्क परिन् ।
‘बेलका बाबा आउनु भएपछि भनौला नि,’ आमाले फकाउने कोशिश गरिन्, ‘तिमीलाई किन्दिहाल्नुहुन्छ नि ।’
‘प¥या छैन किन्दिन, उसलाई किन्दिने हो भने मलाई पनि चाहिन्छ,’ डोको बोक्दै धनसराले भनिन् ।
‘लौ लौ, दुबैजनाको कुरा बेलका म बाबालाई सुनाउँछु, अहिले घाँस काट्न जाउँ,’ आमा डोको बोकेर आघि लागिन् ।
बेलका खाना खाने बेलामा बाबा आइपुगे । मनसराले खाना पनि मन लगाएनन् । आज उसको व्यवहार देखेर बाबा पनि छक्क परे ।
‘के भा छ मनसरालाई आज ?’ चकटी तान्दै बाबाले भने ।
‘कुखुरा बन्नु प¥यो नि क्लासमा आज,’ धनसराले पोल लगाइन् ।
‘किन छोरी, के भयो र कुखुरा बन्नुप¥यो, कसले मेरो छोरीलाई कुखुरा बनायो ?’ बाबाले हात धुधैं भने, ‘मेरी छोरीले क्लासमै अन्डा पारेकी भए के हुन्थ्यो ।’
बाबाको कुराले सबैजना गलल हाँसे । मनसराको पनि हाँसो फुत्कियो ।
‘खास कुरा के भएको हो भन त, मनसरा,’ बाबाले सोधे ।
मनसराको मुख खोल्न नपाउदै धनसराले कक्षामा भएको घटना सुनाउन थालिन् । आज कक्षामा मनसरा र धनसरा कुखुरा बनेकी थिइन् । अरु सबैले ‘होमवर्क’ गरेर ल्याएका थिए । तर मनसरा र धनसराको होमवर्क थिएन । धनसरा त दिनहुँजसो कुखुरा बन्थिन् । मनसरा भने यो पहिलोपटक कुखुरा बनेकी थिइन् । मनसरा कुखुरा बनेकोमा धनसरा खुबै खुसी थिइन् ।
‘अनि नि, बाबा, मनसराले मिससँग के भनी भने, तपाईलाई थाहा छ ?’ धनसराले बाबालाई भने, ‘मेरो होमवर्क उडेर गएछ, मैले त झोलामा राखेकी थिए, यसो पो भनी ।’ सबैजना गलल हाँसे । मनसरा भने सुक्कँ सुक्कँ गर्न थालिन् । मिस निकै कडा भएको पनि सुनाईन् धनसराले । ‘मिस जानु भएपछि ताल्चावाला झोला किनिमाग्नुपर्छ भनेर मसँग भन्दै थिई,’ धनसराले भनिन् ।
‘ल धन्दा नमान्नु, भोलि नै किन्दिन्छु, तिमीले भने जस्तै झोला,’ बाबाले मनसराको नजिकै गएर भने, ‘बरु के भएको थियो मलाई भन ।’
मनसराले हिजो बेलका सबै होमवर्क गरेको कुरा सुनाईन् । स्कुलमा पुगेर कक्षामा मिसलाई देखाउँदा कापी खाली थियो । त्यसपछि उनलाई आफ्नो होमवर्क सुर्केनी झोलामा सुरक्षित हुदैन कि भन्ने शंका लाग्यो । कक्षाका सबैजना ताल्चावाला झोला भिर्थे । मनसरा र धनसरामात्रै सुर्केनी झोला बोक्थे । धनसरा होमवर्क नै गर्दैनथे । के के भनेर कक्षामा टार्थी । सजाय सहन तयार हुन्थी । छोरीको कुरा सुनेपछि बाबा बाहिर निस्के । बाबाले विचार गरे, ‘यिनी सिसाकलमले मात्र लेख्छिन्, पक्कै बाहिनीचाहिले नै काम विगारेकी हुनुपर्छ ।’
राति बाबाले धनसराको अगाडि मकैको घोगा फाले । धनसरा आत्तिएर उफ्रिइन्, कराईन् । उनको हातबाट कापी उछिट्टियो । उनको आवाजले मनसरा र आमा पनि ब्युझिए । कापी बाबाले टिपेर हेरे । मनसराको आधाआधी होमवर्क त मेटिएको रहेछ । धनसराको हातमा ‘इरेजर’ थियो । होमवर्क धनसराले मेट्दी रहेछ भन्ने कुरा थाहा पाइहाल्यो । ‘बाबा, सरी अब म यस्तो कहिले गर्ने छुइनँ,’ धनसरा काबु भइन् । बाहिर जतिसुकै बदमासी गरेपनि धनसरा बाबासँग डराउँथिन् । मनसरा पनि आफ्नो होमवर्क गायब पारिदिनेलाई बाबाले पत्ता लगाइदिएकोमा खुसी भइन् ।
–पोखराबाट प्रकाशित हुने मासिक बालपत्रिका छुनुमुनुको वर्ष ५ अंक १२-२०७१ साउनमा प्रकाशित ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)