~कल्पना मगर~
तैले मलाई कैदी किन बनाइस ?
चिन्छु म राम्ररी तलाई
कैदी हुँ म कैदी
अपराध विहिन कैदी
जन्मदै कैद गरिस मलाई
खोल्दै छु म आँखा
कस्दै छु म मुठी अब
सामाजिक अन्धविश्वास मेरो नेल
धार्मिक परिधि मेरो कैदको पर्खाल
यी पर्खालका उचाई नाघ्न
उज्यालोलाई साथ लिन्छु
खोल्छु आँखा
उज्यालो र अँध्यारो छुट्याउछु
पाइला चाल्छु अब
पाइला चाल्न अब गोर्कीलाई साथ लिन्छु
म बाँच्छु मान्छे भई
तँ जस्तालाई अन्त्य गर्न
कैदी किन बनाइस ?
तैले सबै मेरो स्वतन्त्रता
गोजीमा हालिस
मेरो विश्वासमा लगेर पुरिस
मेरो हातमा हतकडी
खुट्टामा नेल किन लाइस ?
भ्रुणबाटै कैद गर्ने
तेरो यस्तो हिम्मत
कहाँबाट सोचिस बाबै
मलाई ग्याँस च्याम्बरमा
लगाउने
त जस्ता हिरण्य कस्यपुको
अन्त्य गर्न केही बेर लाग्दैन
पर्खि मात्र बस्नु
तेरो अन्त्य हुन्छ हुन्छ ।
–भेडेटार
(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)