कविता : रानी पोखरी

~प्रेम राई परिक्षित~

घण्टाघरका
सुमधुर घण्टिहरुले
रानीपोखरी ब्युझाईरहन्थ्यो
स्निग्ध तरङ्गहरुमा डल्फिन झैं
घन्टिका तालहरुमा
रङ्गिन माछाहरु लोक भाकामा
गरिरहन्थे कला प्रदर्शन

छेवैमा त्रीचन्द्र कलेज
आफ्नो गौरवपूर्ण ईतिहास
रात नपरेसम्म प्रतिबिम्बित गरिरहन्थ्यो
रानी पोखरीको सौम्य तरङ्गहरुमा
लक्ष्मी पूजाको झिलिमिली बत्तिहरु
बालिरहन्थ्यो रानी पोखरी
प्रताप मल्ल छेवैमा बसेर गदगदिरहन्थे

राजहन्सका प्रेमिल भाले पोथी
बालगोपाल महादेव परिक्रमा गरिरहन्थे
डुबुल्किन्थे र प्रेमिल सपनाहरु साटिरहन्थे
च्वाप च्वाप म्वाई खाईरहन्थे
पानीमा चम्चाकार पहेला ठुँडहरु डुबाएर
उत्तर तर्फ बिश्वज्योती सिनेमा हल
“द बङ्ग“ हाउसफुल चलचित्र हेर्न छाडेर
रानी पोखरीलाई एक निमेषले हेरिरहन्थ्यो

छेवैको दरबार हाईस्कुल
छठपर्वमा रानि पोखरी धपक्क बल्दा
सकेको ईर्ष्या गरिरहन्थ्यो
खचाखच भैइरहने भोटाहिटि
रानी पोखरीको बारभरि
अटाइ नअटाई भीड भरिरहन्थ्यो
रानी पोखरीको अदभुत कला देखेर
छेवैको ललितकला क्याम्पस मदहोस हुन्थ्यो

तर आजकाल रानी पोखरी
एकादेशको सुनकेशरी कथा भएकोछ
न आजकल घण्टाघरको घण्टिमा
तरङगहरुमा नाच्छ रानिपोखरी
प्रेमिलिन्छन न सुन्दर राजहन्सहरु
रानीपोखरीको कन्चन अवयवहरुमा
न त्रीचन्द्र कलेजको ईतिहास
पौडी खेल्छ शान्त स्निग्ध तलाउमा
खिसिटिउरी गरिरहन्छ
हाउसफुल बिस्वज्योती सिनेमाहल

इतिहास मेटेर रानी पोखरी
हिलो छ्यापिरहेछ
दिनदहाडै बलत्कृत रानिपोखरी
माईति नेपालको साहारा खोजिरहेछ
अपहरित रानी पोखरी
छेवैको प्रताप मल्लको शालिकलाई
हार गुहार मागिरहेछ
वस्त्रहरणमा परेकी द्रौपदिझैं
नाङ्गिएको रानी पोखरी
आज एकाएक खरानी पोखरी भएकोछ ।

सधै बादको लडाई लड्ने शान्तिबाटिका
रानी पोखरीको चीरहरणमा
बिरोधको शव्दोचारण सम्म गर्दैन
सन्सद गान्धारी झै आँखामा पट्टि बाधेर
आफैलाई बन्धक बनाईरहन्छ
एउटा ढोका बन्द गर्छ
अर्को लस्कर लिएर खोल्छ
ताल्चा खोल्ने र बन्द गर्ने राजनितिमा
रानी पोखरी हराएर आफ्नो पहिचान
आज हिले पोखरी भएकोछ
अनि धुलोपोखरी भएकोछ

बीसौ हजार मान्छे
टुडिखेलमा उभाएर
नेपालको झण्डा बनाउने युवाहरु
एकदिन रानी पोखरीमा उभ्याइदिए
नेपाल बन्द गर्ने मशाल जुलुसहरु
रानी पोखरीको लागि एकदिन
सिंहदरबार घेरिदिए
शान्तिबाटिकाको स्वरहरुले
कुम्भकर्ण महानगरपालिका झक्झकाईदिए
फेरि पनि रानिपोखरीले
इतिहासको गीत गाउने थियो
तरङ्गहरु परपर फैलाउदै
सेता राजाहंसहरुको प्रेमिल हनिमूनसङ्गै
फेरि जिवन्त मुस्कुराउने थियो
कान्तिपुरीको पहिचान
रानी पोखरी……!!

(स्रोत : परिवर्तन खबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.