~ईश्वरी घिमिरे ‘ईश्वर’~
जहाँ,रोग,भोक र शोकले ग्रस्त छन् जनताहरु
पसिना र ठेलाले फतक्कै गलेका छन् शरीरहरु
श्रम गरिकन पनि भोको,नाङ्गो अवस्था छ,
त्यहाँ,जन्मन्छ एउटा विकृति ।
जहाँ, मानवको खडेरी छ पाशविक छन् व्यवहारहरु,
दुस्खीको सपनालाई समनै गनिन्न लत्याउने गरिन्छ,
सम्पन्नताको मातले चारैतिर अन्धकार छरिन्छ,
त्यहाँ,जन्मन्छ एउटा विकृति ।
जहाँ, मल्हमपट्टि बाँध्ने घाउहरुमा नुनचुक हालिन्छ,
सहानुभुति र सान्त्वनाको ठाँउमा गालीहरु दिइन्छ,
निभ्न लागेको आगोमा पानी खन्याई बलेकोमा ईन्धन थपिन्छ,
त्यहाँ,जन्मन्छ एउटा विकृति ।
जहाँ, मान्छे भएर बाच्ने हकमा तगारो हालिन्छ,
दाशताको सक्रीयले सयौ फन्को जेलिन्छ,
सहिदहरुको रगतमाथि स्वाथै मात्र हेलिन्छ अनि,
त्यहाँ,जन्मन्छ एउटा विकृति ।
जहाँ, उज्यालो प्रहरलाई छल्न पर्दा थोपरिन्छ,
भदौमा आँखा फुट्या गोरुले झै सर्वत्र हरियाली देखिन्छ ,
आफुले गरे ठिक गलत देखिन्छ सवै कुरा,
त्यहाँ,जन्मन्छ एउटा विकृति ।
जहाँ,धनाढ्यहरुको मस्तिका लागि झुप्राहरु मासिन्छन्,
नशाले चुर पँुजीपतिहरु द्वारा बलत्कृत आँशुहरु छन् ,
न्याय दिने नाममा मत्स्यन्याय मात्र बढाइन्छ,
त्यहाँ,जन्मन्छ एउटा विकृति ।
जहाँ, योग्यताको कदरको कुनै नामै छैन,
सत्ता हानथापमा व्यस्त छन् ठूलाठालुहरु,
जनतालाई ठानिन्छ सिर्फ चेसको गोटी सरह
त्याहाँ,जन्मन्छ एउटा विकृति ।
जहाँ, मत पाउने आशमा जनवादी छन् भाषणहरुप,
मन्तव्य र कर्तव्यमा आकाश पातल छन् फरकहरु,
व्यत्तिहित अघि सर्छ राष्ट्रहितलाई लात मार्दै,
त्यहाँ,जन्मन्छ एउटा विकृति ।
जहाँ, राष्ट्टियता सधै विलाउँछ सुन्यतामा,
योजना बनाए झै गरी राष्ट्रिय धनले खल्ति भरिन्छन्,
‘माछो माछो भ्यागुतो’ बनाईन्छ सोझा जनतालाई,
अवस्य,
त्यहाँ जन्मन्छ एउटा विकृति ।
(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)