कविता : मेरी प्रभा

~देवीबहादुर श्रेष्ठ~

रत्तिम किरण छरेर ,गल्ली र चौतारीहरुमा
उज्येली छर्दै ,गाउँ वेशीलाई व्यूँझाउँदै
मुर्चुङ्गा र विनायोको तालमा,लैवरीको भाकामा
नेपाली संस्कृतिसंगै ,नेपाली माटो संगै
निर्थक्कताका साथ, सबैसंग हातेमालो गर्दै
मेरी प्रभा तिमी आऊ ।।

भोकाएकाहरु तिम्रै प्रतिक्षामा छन्
नाङ्गाहरु तिम्रै प्रतिक्षामा छन्
लुटिएका गास र खोसिएका वास दिलाउन
बालबानिता स्याहार्न ,रोएकालाई हसाँउन
अन्यायको उछित्तो काढ्न ,चिसो शरीरमा तातोरत्त संचार गर्दै
मेरी प्रभा तिमी आऊ ।

साँढेहरुको जुँधाईमा, कैयौ बाच्छाहरु मिचिए
सम्मानका ठाउँमा, अपमान छ
नालायकहरुको विगविगीले,सत्य डगबगाएको वेला
मृत्युशैटयमा छटपटाएको वेला, तिमी सञ्जीवनी बनेर आऊ
मुक्ति बनेर आऊ
आउदा ठेस नलागोस, ज्योती लिएर आउ
मेरी प्रभा तिमी आऊ

सन्तानहरु अशिक्षामा छन् , शिक्षाको उज्यालो छन्
विकास लङ्गडो भएको छ, तिमी शक्ति बनेर आउ
अन्याय र अत्याचार हटाउन, महादेवीको अवतार लिएर आऊ
कालो रातलाई चिर्न, चन्द्र सूर्य बनेर आऊ
मेरी प्रभा तिमी आऊ ।।।

– तुङ्गेछा– १ भोजपुर

(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.