~झमक घिमिरे~
न्वारान नभएको मेरो छोरो
समयसँग रुवाइको पहिलो मूल्य नमाग्दै
सहिदको दर्जामा उभिएको छ
त्यही रगत पोखिएको भूमिबाट
भोलि आउने पुस्तामा
खुशीको कान्ती छोड्नु छ
त्यसको एउटा बीज रोप्नु छ ।
आमाका निःस्वास रुवाइहरु सँगै
मातृ वात्सल्यका मृगतृष्णाहरु
छोरालाई गर्भमा बोकेर पालेका क्षणहरु
दुखेको मानसपटलमा सजीव छन् ।
हिजो यही भुमिको सतहमा
फूलमतीले पनि जीवनको बलि दिई
वर्तमानको संघारमा ग्याल्मोको छोरोले पनि
जीवनको आहुति दिनुपरिरहेछ
एउटा अज्ञात भविष्यको स्मारकमा
कति लास, कति वलि चढाइयो ?
आजका यी रगतका छिर्काहरु
ज्ञात, अज्ञात बलिहरुले भोलिको इतिहासमा
एउटा नयाँ आयाम थप्ने छ ।
असमयमै पहेलिएका फूलहरु
बन्द पर्खालको सानो छिडीबाट
घामको एक टुक्रा न्यानोपन पाउने आशामा
जीवनको परिर्यायमा संर्घषरत
जीवनको लीला समाप्त नहुन्जेल
बाहिर सुनिरहेछन्
पर्खालभित्रका आवाजहरु
अविरल सुनिरहेछन्
दवाइएका आवाजहरु ।
(स्रोत : धनकुटा सन्देश – अंक ७, सेप्टेम्बर २००५)