~सङ्कलन : धनहांग सुब्बा~
उहिले नै थाबाःमा (तमुर) नदीको थूममा दुइ जना दाजुभाइ बस्स्थे । दाजुको नाम साङगीते थियो भने भाइको राङगीते । दाजु गीत गाउनमा पोख्त थिए भने भाइ नाच्नमा । त्यस बेला थाबाःमा थूम जंगलले ढाकिएको थियो । चारै तिर ठूलाठूला रुखपातहरु मात्र थिए । उस बेलाका मानिसहरुले खेतीपाती गरी अन्न पात उर्मान जानेका थिएनन् । बनमा भएका कन्दमूल, गिठ्ठा–भ्याकुरहरु खनेर आहार खान्थे र जीवन गुजार्थे ।
थाबाःमा नदीको एकहोरो सुसाई र छाँगाबाट झरेका झरनाको कल कल ध्वनी र चरा चुरुगीहरुका चीरबिरे आवाजले वातावरण संगीतमय बनेको थियो । एक दिन साङगिते गिठ्ठा–भ्याकुर खन्न र ल्याउन जंगलतिर पसे । बढो लयात्मक सूरले लय हालेर गीत गाउदै सारा जंगल संगीतमय बनाईदिए । उसको सुरिलो लयात्मक गीत सुनेर आकाशमा उडी रहेका बेसारा र अन्य चरा चुरुंगी, जंगलमा मृग–घोरल जन्तुहरु मस्त भए । उद्भिदमा बाँसका टुप्पाहरु एर्काकामा झुम्मिन्थे । तिनीहरु पनि संगीतमा मस्त भएर नाची रहेको भान हुन्थ्यो ।
यसरी बनमा सुरिलो भाकामा लयात्मक ढंगले गीत गाउदै तरुल खनी सकेर घर फर्कन लाग्दा छेवैको पोथ्रामा कति बेला देखि बसी रहेको बाघ अहिले गर्जिएको सुने । उ डरले भयभीत भए । साङगितेको लयात्मक सुरिलो संगीत सुनेर मस्त भएर बाघ यतिन्जेल बसी रहेथ्यो । तर उ अहिले घर फर्कन लाग्दा बाघ गर्जियो । अब कसर घर फर्कने ? हिड्दा हिड्दै बाघले गाँजेर खाई हाल्छ कि मनमा एक किसिमको त्रास उत्पन्न भयो । उसले अब यहाबाट उम्कने उपाय सोच्न लाग्यो । आफ्नो भाइ राङगितेको नाच्ने कला प्रयोग गरी बाघलाई भुलाई दिने उपाय सोच्यो । उ छम छम नाच्दै घर तर्m विस्तार विस्तार कदम बढाउन थाल्यो । बाघ जुन पोथ्रामा थियो त्यहीबाट नाच हेर्दै मख्ख परेर हेरि रह्यो । साङगितेले भाइ राङगितेको कलालाई उपभोग गर्दै माथि डाँडासम्म आइपुग्यो । यतिन्जेल बाघ देखि निकै टाढा भइसकेको थियो । उ अब बाघले भेट्न सक्दैन भनी आँट गरेर दौडेर घर आइ पुग्यो ।
बाघ साङगितेको मधुर लयात्मक गीतको धुन र राङगितेको नाच्ने कलाको तालमा मुग्ध भएर मनुवालाई खान पनि विर्सियो । यसरी नै संगित र नृत्यमा मानिस, पशु–पंछी र उद्भिदसम्मलाई मुग्ध पार्ने शक्ति हुन्छ । यसरी मनमुग्ध लयात्मक गीतले एकार्काको हृदयलाई आत्मासाथ गर्ने कलालाई संगित भनेको हो भन्ने कुरामा किराँतीहरु विश्वस्त छन् ।
–धनहांग सुब्बा, धनकुटा–७
(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)