~सन्त थुलङ(सुब्बा)~
नियालिरहेछ
पीडा–दृश्यहरु
संवेदित अनुभूतिले
छामिरहेछु–आफैभित्र
दुखाइका अनन्त घाउहरु
हेरिरहेछु निर्निमेष
आत्मीयहरुको लाशको पहाड
र कहालिलाग्दा
आँशु र रगतका भेल
आँखै सामु
पुल काटियो–वारिपारी गर्न बन्द भयो
स्कूल जलाइयो
नानीहरुको भविष्यमा
भयंकर अँध्यारो खस्यो
सत्तर वर्षे बृद्ध बाबु
काल पर्खदा पर्खदै
रटिए आफ्नै सन्ततिहरुबाट
हेर्दाहेर्दै
दिदी बहिनीहरुले
आफनै सौभाग्यको प्रतिक पोते चुँडाले
आफनै प्रिय जीवनसाथीको
चुरा फुटाले सिउँदो पखाले
देश हाँक्ने
जोशिला तन्नेरीहरु
विनास÷विध्वंसमा उद्यत देखिए
हातमा बम÷बारुद बोकेर
विनासको गीत गाउदै
बृद्धहरु माथि धावा बोल्न थाले
मैले समाएको कलम
निशाचर चुपचाप बसिरह्यो
कोरेन कुनै जीवनको गीत÷व्यथा
लेखेन विजय÷उत्सवको कथा
मैले हेरिरहेँ
मेरो हातको कलम
जो आतंकित थियो
आतंकित दृशयहरुबाट ।
–सांवा–७, ताप्लेजुङ, हाल धरान (एक्काइशौं शताब्दी)
(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)