~कल्पना मगर~
स्यावास !
पाराङ्ग दाइ
स्यावास ! !
तिमीले एउटा नयाँ बाटो रोजेछौ
नयाँ यात्राको शुरुवात गरेछौ
अब कसले भन्छ
दिनमा मात्र उज्यालो आउछ
आकाशमा मात्र सूर्य उदाउछ
कसले भन्छ ?
मखमली फूल सरवमा मात्र फूल्छ
यी सब कुरा
तिम्रो नयाँ बाटोमा हुन्छ ।
नयाँ यात्रामा हुन्छ
अब तिमीले ठुलावडाको घरमा
झुक्न जानु पर्दैन
हिजोको त्यो दिन सहनु पर्दैन
तिमीले रक्सी पिएर
जाबो एक गिलास
रक्सीको पैसा तिर्न नसक्दा
भट्टी पसल्नीबाट घिसारीनु पर्दैन
अब तिमीले
छोराछोरी भोकाएर रुदा
गाली र थप्पड दिएर राख्नु पर्दैन
अनि तिम्री पाराङ्गनीको चुल्ठोमा
हात लम्काउनु पर्दैन
याद छ तिमीलाई
गरीबीको पिडा सहेर बस्न नसक्दा
रक्सी पिएर
तिमी र तिम्री पाराङ्गनी बीच
आगनमा लड्डी पर्दा
सबैले खिल्ली उडाएको
यी सब कुरा तिमीले सहनु पर्दैन
अब
यी विवशताको समाधान
तिम्रो सृजनशिल हातहरुले गर्ने छन्
नयाँ बाटो रोजेछौ
यहि बाटाको यात्राले गर्ने छन्
त्यसैले तिमीलाई
स्यावास छ !
स्यावास !!
(स्रोत : धनकुटा सन्देश – अंक ८, अक्टुबर २००५)