~जेवी घलेमगर~
(लाग्छ, खुल्ला आकाश नै मञ्च । खुल्ला मैदान नै मञ्च । मानौ, मैदानलाई मञ्च परिकल्पना गरिएको छ । मञ्चको एकछेउबाट शान्तिको आगमन)
शान्ति : (अट्टहास छोड्दै) हा . . . हा . . . हुँ . . . शान्ति हुँ म शान्ति । तिमीहरुले मलाई चिनेनौ ए ! दुनियाका पाजी हो ! हा . . . हा . . . मलाई किन सम्बोधन गर्दैनौ ! अनि किन सम्मान गर्दैनौ । बोल सबै बोल । ए पाजी हो ! छिटो सबै बोल ।
विभेद : (विभेदको प्रवेश) को हो त्यो ! ठूलो ठूलो स्वरमा ढाडस दिने ? जसले यो दुनियालाई दिग्भ्रमित पारेको छ ।
शान्ति : म शान्ति हुँ शान्ति । मैले यो दुनियालाई ढाड्स होइन । न्याय र समानता दिएको छु । बरु भन् तँ को होस् ?
विभेद : ए ! तँ यो दुनियामा शान्ति ! तैले यो दुनियालाई न्याय र समानता दिएको छस् ? बरु भन् अरु के के दिएको छस् ?
शान्ति : हो ! मैले यो दुनियामा दिने नदिने सबै थोक दिई सकेको छु । मेरै कारणले सबैले शान्तिको सास फेर्न पाएका छन् । म नै यो दुनियाको सबैभन्दा ठूलो हुँ । मैले यो दुनियामा आधिपत्य जमाइसकेको छु । हुँ ! हा . . .हा . . . ।
विभेद : असम्भव ! विलकुल यो हुन सक्दैन । शान्ति ! यो विभेदको फस्ट वार्निङ हो । तँ यो दुनियालाई अवदेखि दिग्भ्रमित पार्ने दुष्प्रयास नगर ।
शान्ति : म फेरी दोहोर्याउदैछु । न्याय र समानताको कारण शान्तिको सञ्जाल अथाह भइसकेको छ । तँ धम्कीको भाषा नबोल विभेद !
विभेद : शान्ति ! यो धम्कीको भाषा होइन ! एउटा कुरा याद राख ! यो दुनियामा शान्तिको सञ्जाल होइन । विद्रोहको सञ्जाल फैलिएको छ । युद्धको सञ्जाल फैलिएको छ । यो समाज विभेदले टुक्रा टुक्रा भएको छ । त्यसैले त यहा शान्ति होइन ! शान्ति चाही विष्फोटन भएको छ ।
शान्ति : फेरी पनि म भन्दैछु ! शान्तिले समाजलाई टुक्रा टुक्रा होइन । तैले चाहि शान्तिलाई आक्रमण गरेर शान्तिलाई विथोल्न खोज्दैछस् ।
विभेद : शान्ति ! मेरो लागि तँ शान्ति नै होइन । तँ मुर्दा शान्ति होस् । मुर्दा शान्ति हाम्रो समाजको लागि सह्य हुने छैन ।
शान्ति : (विभेदको कपालमा समातेर तान्दै) विभेद ! अब मेरो धैर्यताको बाध टुटिसकेको छ । अब म सहन सक्दिन । म अब तलाई टुक्रा टुक्रा पारेर चिहान बनाई दिनेछु ।
विभेद : (चिच्याउदै) शान्ति ! म जे भन्दैछु ठिक भन्दैछु । सदियौं देखि यो समाजमा विभेद विद्यमान थियो । यी तैंले यो हातपात गरेको पनि अर्को विभेदको नमुना थपिएको छ ।
शान्ति : चुप ! फेरी पनि वक वक नगर ।
विभेद : हो समाजमा विभेदमाथि विभेद थपिदै गएको छ ।
शान्ति : ला . . . . ! विभेद थपिदै गयो रे ! ला . . . . . तलाई विभेद ! (शान्ति विभेदलाई लात बर्साउछ)
विभेद : शान्ति . . . . (चिच्याउदै) अन्याय भयो अत्याचार भयो ।
शान्ति : शान्तिको सम्मान गर्छस गर्दैनस ? तुरुन्त निर्णय दे । (फेरी लात)
विभेद : निर्णय होइन । अब सुन्दै जा . . . . . हो, यसबाट प्रष्ट हुन्छ ।
शान्ति : के प्रष्ट ?
विभेद : जबसम्म एकले अर्कालाई दोश्रो दर्जाको नागरिक मानिने चलनको अन्त्य हुँदैन । जबसम्म महिला जाति र पुरुष जाति भनेर दुरी कम हुदैन । जबसम्म धनी र गरिब भनेर दुरी अन्त्य हुदैन । जबसम्म ठुला जाति– साना जाति भनेर दुरीको अन्त्य हुदैन जबसम्म दार्चुला राजधानी भनेर दुरी कम हुँदैन । जबसम्म मानवअधिकार र जनअधिकारको ग्यारेन्टी हुदैन । जबसम्म क्रुर शासक र जनता वीचको दुरीको अन्त्य हुँदैन र सबैखाले अन्याय, अत्याचार र विभेदको अन्त्य हुदैन तबसम्म म निर्णय दिन सक्दिन ।
शान्ति : (फेरी विभेदलाई एकोहोरो लात बर्साउछ) ला . . . . . !
अब म तँलाई आगोको झिल्को निकालदिन्छु । ला . . . . !
द्वन्द : (चट्याङ परेको तरङ्ग आउछ) हो ! शान्ति !
शान्ति त हो । तर मुर्दा शान्ति । शान्तिको मुर्दा शान्ति विकल्प होइन । हामी शान्तिको कुरा त गर्छौ, तर सबैखाले विभेदले चरम रुप लिएको छ । त्यसैले म द्वन्द उपस्थित भएको छु । विभेदले चरम रुप लिएपछि द्वन्दले पनि चरम रुप लिएको हो ।
अज्ञात स्वर: खबरदार ! खबरदार ! शान्ति पनि मुर्दा शान्तिमा यथावत रहिरहन पाउदैन । निश्चय पनि विभेदको चरम उत्कर्षपछि द्वन्द छाएको हो । खबरदार ! द्वन्दको नाममा विनाशलिला मच्चाउन पाइदैन । अब विभेदको परिणाम न्याय, समानता, शुशासन र अग्रगमनमा रुपान्तरण हुनुपर्दछ ।
शान्ति . . . . ! विभेद . . . . ! द्वन्द . . . . एक साथ हात उठाउ ।
(सबै एक साथ हात उठाउछन्, पर्दा खस्छ)
(समाप्त)
(स्रोत : धनकुटा सन्देश – नवौं अंक नोभेम्बर, २००५)