पुस्तक समीक्षा : सघन तुवाँलो उपन्यासमा रामकृष्ण बान्तवा

~शेखरकुमार श्रेष्ठ~

उपन्यासकार रामकृष्ण बान्तवा (जन्मः२०२३) डायस्पोरियन उपन्यासकार हुन् । उनले नेपाली साहित्यको उपन्यास, नाटक, कविता र गीत विधामा आफ्नो सिर्जजशील क्षमता प्रस्तुत गरेका छन् । उनको नेपाली साहित्यमा खरानी (सन्१९८८), आत्मा(सन् १९९६), राधाराम (सन् १९९७), आमाछोरी (सन्१९९८) र सघन तुवाँलो (सन् २००७) औपन्यासिक कृति अशिक्षाको प्रताप (सन् १९९५) र मायाजाल (सन् १९९९) नाट्यकृति, मिर्मिरे कविता सङ्ग्रह (सन्१९९९) र आधुनिक गीतहरू भाग १ र भाग २ प्रकाशित छन् । उनी मूलतः उपन्यासकार पछि गीतकार, नाटककार र कवि हुन् ।

सघन तुवाँलो उपन्यासको विश्लेषण

रामकृष्ण बान्तवाद्वारा रचित् सघन तुवाँलो उपन्यास नेपाली समाजको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक पक्षको मिहिन चित्रण गरी लेखिएको समाजवादी यथार्थवादी उपन्यास हो । यस उपन्यासमा उपन्यासकारले नेपाली समाजमा विद्यमान लैङ्गिक असमानता, विकलाङ्ग मानिस र केटाकेटीप्रति गरिने दुव्र्यवहार, पुरुषले नारीमाथि गर्ने अन्याय अत्याचार र दमन, राजनीतिक दमन, सरकारी पक्षले जनतामाथि गर्ने निर्घिनी व्यवहार, न्यायका लागि सङ्गठित जनताप्रति प्रशासनले गर्ने अमानवीय दमन, अधिकार प्राप्तका लागि गरिएको प्रदर्शनमा सरकारी लठैतको घुसपैठ आदिजस्ता पक्षलाई प्रस्तुत गरी लेखिएको उपन्यास हो ।

कथासार ÷ कथानक

प्रस्तुत सघन तुवाँलो उपन्यासको सुरुवात नेपालको ऐतिहासिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमिका साथ आरक्षण केन्द्रको वर्णनबाट गरिएको छ । यस वर्णनको क्रममा आरक्षण केन्द्रमा आरक्षितहरूको पनि उल्लेख गरिएको छ । मूल कथानकको सुरुवात भने पूर्णिमाको हजुरआमा मुनाले आमालाई जन्म दिएपछि भएको छ । आमा मुनाले सन् १९५१ मा छोरीलाई जन्म दिन्छे । रूप र सौन्दर्य दुवैले पूर्ण छोरीलाई आमा मुनाले विद्यालयमा भर्ना गरिदिन्छे । मुनाले छोरीलाई दिनरात मजदुरी गरी माध्यमिक शिक्षा उत्तीर्ण गराउँछे । सदरमुकाममा गएर कलेज पढ्ने बेलामा आमा मुनाको निधन हुन्छ । आमाको निधनपछि छोरी सानिआमाको घरमा शरण लिन्छे । सानिआमाले उसको विहे गाउँकै सम्पन्न छिमेकीसँग गरिदिन्छन् । विहेपछि ज्वाइँ पनि सानिमाकै घरमा बस्न थाल्छ । सुरुमा श्रीमान् भद्र भए पनि पछि पुरानो रक्सी पिउने बानी दोहो¥याउन थाल्छ । सानिमाको पनि निधन हुन्छ । उसले बिस वर्षकै उमेरमा छोरी पूर्णिमालाई जन्म दिन्छे । पूर्णिमाको बाबुले घर व्यवहार हेर्दैन उल्टो पूर्णिमाकै आमाले लोग्नेको खर्च टारिदिन पर्ने हुन्छ । दिनरात परिश्रम गर्दा पनि आमाले बाबुको कुटाइ खान्छे । एक दिन बाबुको व्यवहारबाट दिक्क भएकी पूर्णिमाले बाबुलाई मर्यादा भुलेर कुट्छे र विद्रोह गर्छे । त्यसपछिका दिनमा पूर्णिमाको बाबुले आमा कुट्न छाड्छ तर रक्सीमा डुब्छ । यही कारणले उसको मृत्यु पनि हुन्छ । बाबुको निधन पछि गाउँलेहरूले आमालाई बोक्सी र वेस्याको आरोप लगाउँछन् । यसबाट आमाछोरीको जीवन थप कष्टप्रद बन्न पुग्छ । एकदिन आमाछोरी दुवै जीविकोपार्जन खातिर सहरतिर हिँड्छन् । सहरमा आमाले केटाकेटी पढाउने काम गर्छिन् र जीवन चलाउँछिन् । यसैबिचमा छोरी पूर्णिमाले प्रवेशिका उत्तीर्ण गरी कानुन विषय लिई कलेज पढ्न थाल्छे । पूर्णिमाले एक दिन रहरले छोटो मिनिस्कट किनेर लगाउँछे । यसले आमालाई चिन्तित तुल्याउँछ । आमाले छोरीलाई नारी भएर जन्मनुको पीडाको कथा सुनाउँछे । यसबाट पूर्णिमा एकातिर गम्भीर बन्छे भने अर्कातिर मितव्ययी बन्छे ।ऊ उताउलो श्रृङ्गारबाट मुक्त भई अध्ययनमा समर्पित हुन्छे । पूर्णिमामा बुद्घि र ज्ञानको भण्डार भरिन्छ । ऊ पुरुषबाट नारीमाथि हुने अन्याय अत्याचारबाट गम्भीर हुन्छे । हिउँदको एक विहान आमा छोरी दुवैले एउटी आइमाई रोएको सुन्छन् । यसबाट दुवैको ध्यान रुवाइतिर तानिन्छ । एकछिन पछि प्रहरी आइपुगेर दाइजो नदिएका कारण स्वास्नी कहाँ कुटिएको छ भन्दै सोध्दै पूर्णिमाको घरमा आउँछन् । प्रहरी गएपछि गाउँकै अधबैँसे लोग्ने स्वास्नी दिलबहादुर र फूलमती माइली छोरी खोज्दै आउँछन् । पूर्णिमाको आतिथ्य ग्रहणपछि ती जोडीले आफ्ना तिन छोरी र दुई छोराहरू भएको बताउँछन् । उनीहरूले आफ्नो जेठी छोरीलाई १४ वर्षकै उमेरमा फकाएर लगी वेस्यालयमा कसैले बेचेको र एडस लागी छोरी मरेको बताउँछन् । त्यसको भोलिपल्ट दिलबहादुर फेरि छोरी खोज्दै आमाकहाँ आइपुग्छ र माइली छोरीलाई विहे गरेर लगेपछि दाइजोको नाममा लोग्नेबाट यातना पाएको र अस्पतालमा भर्ना भएको बताउँछन् । यसैबिच दिलबहादुरकी माइली बुहारी घरमा सासूआमा बेहोस भएकीले ससुरालाई बोलाउन आएको बताउँछे । बुहारीको कुरा सुनी दिलबहादुर घरमा दौडेर पुग्छ । ऊ घर पुग्दा फूलमतीको हृदयाघातबाट निधन भइसक्छ र ऊ पनि मुर्छित भई संसार छाड्छ । दिलबहादुरको घरमा रुवावासी चल्छ । मलामीले शब जङ्गलतिर लान्छन् । शोक सभाको कार्यक्रम चल्छ । कार्यक्रममा पूर्णिमाले महिला, बालबालिका, किसान र श्रमजीवीवर्गको मुक्तिका लागि अभियान चाल्नु पर्ने वक्तव्य दिन्छे । कार्यक्रममा पूर्णिमाको साथी विजय र आमाले भाषण गर्छन् । विजयसँग आमाको परिचय हुन्छ । विजय पूर्णिमाको सहपाठी हुन्छ । ऊ गरिव केटाकेटीलाई पढाउँछ । विजयको कामबाट आमा खुसी हुन्छे । विजय र पूर्णिमा आमाको कार्य पछ्याउने प्रतिबद्घता जाहेर गर्छन् । दाइजोको निहुमा लोग्नेबाट यातना पाएकी दिलबहादुरकी माइली छोरी गीता अस्पतालमा हुन्छे । आमा पूर्णिमालाई भेट्न दैनिक अस्पताल जान्छे तर उनी पनि ब्रोङ्काइटिसबाट पीडित भएकीले भेट्न जान छुट्छ । यसैबिचमा गीता अस्पतालबाट डिस्चार्ज भई माइतीघर जान्छे । उसको आमाबाबु दुवैको मृत्यु भइसकेको हुन्छ । भाउजूहरूले आमाबाबु मर्नुको दोष उसैलाई दिँदै घरमा बस्न दिँदैनन् । त्यसपछि गीता अनुपमाको संरक्षण केन्द्रमा बस्न थाल्छे ।

पूर्णिमाको कोठामा उनका सहपाठीहरू मिलेर समाज र राष्ट्रमा रहेको विकृति विसङ्गतिको विरुद्घमा मोर्चा कस्ने बारेमा छलफल गर्छन् । बजारमा पुरुषबाट महिलामाथि हुने हिँस्रक आक्रमणको विरोधमा पर्चा बाँड्ने कार्य हुन्छ । प्रहरी प्रशासनले पूर्णिमाको घरमा छापा मार्छ ।

मालती दिलबहादुरकी कान्छी छोरी हो । ऊ सानी भए पनि पूर्णिमाको परिवारसँग नजिकिन्छे । पूर्णिमाको कोठामा मालतीका साथीहरू छन् । कोठामा यी सबै मिली नारी र पुरुषको बिचमा हुने फरक व्यवहार बारे चर्चा हुन्छ र विभेदको अन्त गर्न आन्दोलन गर्न अगाडि सर्नु पर्ने कुरा चल्छ ।

विजय कानुन विषयमा स्नातक सकी स्नातकोत्तर पढ्दै हुन्छ । ऊ एक दिन गाउँमा दुखिया आइमाईलाई बोक्सीको आरोप लगाई यातना दिन लागेको अवस्थामा विरोध गर्न पुग्छ । विरोधमा सबै मिली उसलाई कुट्छन् । घाइते विजय उपचारार्थ अस्पतालमा भर्ना हुन्छ । सहरमा दैनिक नारी हक संरक्षणको अधिकार माग्दै जुलुस प्रदर्शन हुन्छ । पढ्न विदेश गएका दिलबहादुरका छोराहरू नवीन र सविन घर फर्कन्छन् । लोग्ने घर फर्केकाले सीता र पार्वती खुसी हुन्छन् । उनीहरूले बाबुको पारम्परिक ढङ्गले किरिया गर्छन् । सहरमा प्रहरीले एउटी नारीलाई बेस्याको आरोप लगाई गिरफ्तारी गर्छ । यसको विरोधमा पूर्णिमा लगायतको भिडले चौकी घेर्छन् । नारा जुलुस हुन्छ । द्वन्द्व चल्छ । पूर्णिमालाई समेत प्रहरीले गिरफ्तार गर्छ । विजय अस्पतालबाट डिस्चार्ज भई आउँछ । उसले पूर्णिमालाई छुटाउने जिम्मेवारी लिन्छ । आन्दोलनलाई थप चर्काउने नेतृत्व आमाले लिन्छिन् । विश्वविद्यालयबाट पढाउन आएका विमल लगायतका व्यक्तिले पूर्णिमाको गिरफ्तारीको विरोधमा गिरफ्तारी दिन्छन् । आमाले संरक्षण केन्द्रमा गई चेतना जगाउने काम गर्छिन् । यसैबिच मालती आमालाई भेट्न आउँछिन् । ऊ प्रहरीले पूर्णिमालाई समातेकोमा दुःख मनाउ गर्छे । मालतीले नारीमाथि हिँसा भएको घटना आमालाई सुनाउँछे । नारी पुस्तकको लेखिका गीताको बारेमा मालतीले कुरा सुन्छिन् । अनुपमा दिदीको संरक्षण केन्द्रमा गीताले आश्रय लिएकी थिइन् । यसैबिच दिनेश आमालाई भेट्न आउँछ । दिनेश धनी बाबुको छोरो भए पनि नारीमाथि हुने हिँसाको विरोध गर्छ । क्रान्तिलाई परिवर्तनको वाहक ठान्छ । विजय माघे सङ्क्रान्तिको दिनमा आन्दोलन सुरु गर्ने निर्णय गर्छ । आमा पूर्णिमा भेट्न जान्छिन् । पूर्णिमाको अवस्थादेखि आमा दुःखी बन्छिन् । आमाको घरमा विमल आएका हुन्छन् । विमल पूर्णिमापन्थी थिए । विमल आएको केही दिन पछि पूर्णिमाको रिहाइ हुन्छ । ऊ रिहाइ पछि केही दिन घरमा आराम गर्छे । एकदिन उनी विजयसँग गाउँको डाँडाँतिर घुम्न जान्छे । त्यहाँ नारी अधिकार र हितका लागि आन्दोलन अपरिहार्य भएको कुरा हुन्छ । विजयले माघ एक गतेको तयारी सुनाउँछ । आन्दोलनमा अनुपमा दिदीको संरक्षण केन्द्र लगायत दिनेश, विजय, कर्णेल, गीता सबैको अन्तक्र्रिया हुन्छ । गीताले लेखेको पुस्तकको चर्चा हुन्छ । गीता नवीन र सविनकी बहिनी र मालतीकी दिदी थिइन् । उनी लोग्नेको सिकार भई विकलाङ्ग भएकी हुन्छिन् । मालतीलाई विजयले गीताले पठाएको मायाको चिनो दिन्छ । माघ एक गतेको प्रदर्शनमा गीताको पनि उपस्थिति हुने कुरा सुनाउँछ । मालतीको स्मृतिमा गीता दिदीको याद नभए पनि नारी पुस्तकको लेखिकाको सम्झना थियो । पूर्णिमाको कोठामा गीताले लेखेको कथा सुनाइन्छ , नवीन र सविन रुन्छन् । उनीहरू गीता बहिनीले आफूलाई सम्हाली जीवनमा आदर्श बाटो पहिल्याउन सकेकोमा खुसी हुन्छन् । उनीहरू माघ एक गतेका दिन हुने प्रदर्शनमा तिन महिनाको गर्भवती पार्वती बाहेक सबै लैजाने कुरा गर्छन् । पार्वतीलाई भने मालतीले एक्लै छाड्न मान्दिन । जब पार्वतीसँग सीता बस्ने भई तब मालती पनि प्रदर्शनका लागि जान तयार भई । माघ एक गतेको दिन प्रदर्शन सुरु हुन्छ । दिनेशले नारा लाउँछ भने पूर्णिमा र गीताले भाषण दिन्छन् । भाषणपछि प्रदर्शन सदरमुकामतिर लाग्छ । प्रदर्शनलाई डिएसपी राज र इन्स्पेक्टर जगतले जेल भएको स्थानतिर जान बन्देज लगाउँछन् । प्रहरी र प्रदर्शनकारीबिच प्रदर्शन व्यवस्थित गर्ने सल्लाह हुन्छ । यसैबिचमा बाघवीर फटाहाहरूको समूह लिएर प्रदर्शनकारीलाई ढुङ्गा प्रहार गर्छन् । प्रदर्शनमा हुलहुज्जत गरेको भनी प्रहरीले गोली प्रहार गर्छ । दिनेश, कर्णेल र गीता ढल्छन् । गीता र दिनेशबिचको प्रेम खुलासा हुन्छ । घाइतेको उपचारका लागि एम्बुलेन्सको व्यवस्था हुन्छ । गीता र कर्णेलको निधन हुन्छ । दिनेश आफ्नो उपचार गराउन मान्दैन । प्रहरीले अमनचयन भङ्ग गरेको आरोपमा सबैलाई गिरफ्तार गर्छ । भालिपल्ट आमा, अनुपमा, दिनेश र मालतीलाई छाडी पूर्णिमा, विजय, नवीन, सविन र विमललाई हिरासतमा राखिन्छ । कर्णेलको लास जलाइन्छ । गीताको शव अनुपमा आरक्षण केन्द्रमा ल्याइन्छ । मालतीले घरमा गई भाउजूलाई गीता मरेको खवर दिन्छे भने नवीन र सविनको खवर दिँदिन । गीताको श्राप परेको सीता ठान्छिन् । गीता बोक्सी भएको आरोप भाउजूले लगाउँछे । मालतीले गीता क्रान्तिको नायिका भएको भनी प्रतिवाद गर्छिन् । सीता पश्चातापमा परी मर्छिन् भने पार्वतीको गर्भ पतन हुन्छ । विजुवा धामी बोलाएर पार्वतीले घरमा शान्ति ल्याउन खोज्छिन् ।अर्कातिर आमासँग प्रहरीले वयान लिन्छ । आमासँग रूपा रहेकी हुन्छे । रूपाले नेपालको इतिहास नामक किताब पढी नेपाल स्वाधीन र सुन्दरताले भरिएको राष्ट्र हो भनी कुरा गर्छे ।

आमालाई भेट्न प्राध्यापक चन्द्र आउँछन् । प्रगतिवादको विषयमा कुरा चल्छ । पूर्णिमा, विजय, नवीन र सविन प्रहरीबाट बन्दी भएकोमा मालती चिन्तित बन्छिन् । मालती आफ्ना दाजुहरू नवीन र सविनलाई प्रहरी बन्दीबाट छुटाउन आवश्यक देख्छिन् । गोपाल र राधा पनि प्राध्यापक हुन् । प्रदर्शनमा घाइते भएकी अनुपमा केन्द्रकी सज्जुलाई गोपाल र राधासँग रहेर उपचार गराइएको हुन्छ । उनीहरूले सज्जुलाई आफैसँग बस्नुपर्ने बताउँछन् । कक्षा लिन हतार भएकोले उनीहरू हिँड्छन् । अनुपमाले आफ्नै पैसाबाट केन्द्र चलाउँछिन् । काम जति असफल भएकोमा आमा पुख्र्यौली घरतिर लाग्छिन् ।गाउँको सानो खोलामा आमाले अनु, मनु र सानुलाई भेट्छिन् । आमा जडिबुटी खोज्न गएकी होलान् भन्ने मालती ठान्छे । मालती आमालाई भेट्न चाहन्छिन् ।मालतीले आमालाई भेटी दिनेशको प्रेमिका गीताको निधन भइसकेकोले अब आफूले विहे गरेर साथ दिन चाहेको कुरा बताउँछे ।आमाले मालतीको कुरा स्वीकार गर्छे । मालती दिनेशलाई भेट्न दिनेशको रातो झरना भएको गाउँ जान्छे । उसको भेट त्यहाँ ज्योतीसँग हुन्छ । ज्योतीले आफू स्वयम्ले दिनेशको मनमा डेरा जगाएको कुरा हुन्छ । यतिबेला मालतीको सपना भङ्ग हुन्छ ।

प्राध्यापक चन्द्रले पूर्णिमाको रिहाइका लागि मुद्घा हालेका थिए । मुद्घा फैसलाको दिन पूर्णिमा पक्षधरका मानिस र डिएसपी राज तथा इन्स्पेक्टर जगत उपस्थित थिए । पूर्णिमालाई प्रदर्शनको क्रममा हुलहुज्जत गरेको तथा आन्दोलनका लागि उक्साएको आरोप थियो । सावधानीपूर्वक प्राध्यापकले अदालतमा वहस गर्छन् । अन्तमा न्यायधीश भूसालले पूर्णिमाको पक्षमा निर्णय सुनाउँछन् । पूर्णिमाको रिहाइ हुन्छ । पूर्णिमा र विजयको विवाह हुन्छ । सबैको सहयोग र काममा गाउँ विकासतिर उन्मुख हुन थाल्छ । दिनेश आरक्षण केन्द्रतिर आउन थाल्छ । उसको सम्बन्ध फेरि मालतीसँग बढ्न थाल्छ । यसैबिच वागबीर लठैतहरूका साथ गाउँ फर्कन्छ । आरक्षण केन्द्रमा गोली पडकन्छ, आगो लाग्छ । यसरी एउटा कथाको अन्त हुन्छ तर अर्का कथा सुरु भएको हुँदैन । उपन्यासका सबै पात्र तितरवितर हुन्छन् । आमाले गाउँ छोडेको सुनिन्छ र बाटो सेनाले रोकेको हल्ला सुनिन्छ । केही समयपछि आमा काठमाडौ सहरतिर देखा परेको पनि सुनिन्छ । यसरी उपन्यासको अन्तमा सघन तुवाँलो फाटिएको देखिन्न । तर लेखक कानुन कडा भएकोले अवैधानिक लेखन गर्न नहुने भन्दै उपन्यासको अन्त गर्न पुग्छन् ।

प्रस्तुत सघन तुवाँलो उपन्यासमा वर्गीय द्वन्द्व प्रस्तुत गरिएको छ । पूर्णिमा, गीता, आमा, मालती, विजय, दिनेश जस्ता पात्र नारी,बालबालिका र निम्न वर्गीय जीवनको हक र अधिकारका लागि लड्ने वर्गका पात्रका रूपमा रहेका छन् । यसका लागि यी पात्रले जनप्रदर्शन गरेका छन् । यिनका यी प्रदर्शनलाई बाघवीर जस्ता पात्रले बिथोल्ने प्रयास गरेको छ । प्रदर्शनकारीमाथि ढुङ्गा प्रहार गरेको छ । त्यस्तै पूर्णिमापन्थीको प्रदर्शनलाई डिएसपी राज र इन्स्पेक्टर जगत लगायतका प्रहरीले गोली प्रहार गरी दमन गरेका छन् । दमनको क्रममा गीता र कर्णेल मारिएका छन् भने दिनेश घाइते भएको छ । यसरी यस उपन्यासमा प्रदर्शनकारी र प्रदर्शन विथोल्न चाहनेबिच वाह्य द्वन्द्व भएको छ । यसको साथै यस उपन्यासमा नारीलाई वेस्या र बोक्सीको आरोप लगाई दुर्नाम गर्ने तथा दाइजोको नाममा बुहारी वा पत्नीलाई यातना दिने सामाजिक तथा सांस्कृतिक कुव्यवहारको विरोधमा नारी हक अधिकारको प्रत्याभूति दिई लैङ्गिक समता चाहने शिक्षित र चेतनशील वर्गको द्वन्द्व भएको छ । यस उपन्यासमा प्रस्तुत यी द्वन्द्वले उपन्यासको कथानकलाई प्रभावकारी, कुतूहलयुक्त, विश्वसनीय र प्रगतिशील समेत बनाएको छ ।

प्रस्तुत उपन्यास सघन तुवाँलोमा घटित घटनालाई उपन्यासकारले आमा, पूर्णिमा, गीता, विजय, दिनेश जस्ता तृतीय पुरुषवाची पात्रका माध्यमबाट प्रस्तुत गरिएको छ । यसरी प्रस्तुत गर्दा उपन्यासकारले उपन्यासका पात्र र घटनालाई सर्वज्ञ बनेर प्रस्तुत गरेका छन् त्यसैले यस उपन्यासमा तृतीय पुरुष सर्वज्ञ दृष्टिविन्दुको प्रयोग भएको छ ।

चरित्रचित्रण

वान्तवाद्वारा लिखित सघन तुवाँलो उपन्यास नारी प्रधान उपन्यास हो । यस उपन्यासको प्रमुख पात्र आमा हो भने सहायक पात्रका रूपमा पूर्णिमा, विजय, मालती, दिनेश, गीता, डिएसपी राज, इन्सपेक्टर जगत, बाघवीर छन् । त्यस्तै गौण पात्रका रूपमा दिलबहादुर, फूलमती, नवीन, सविन, विजय, प्राध्यापक चन्द्र, अनुपमा, सीता, पार्वती, कर्णेल, कणर्, सज्जु, चमेली, कसुन्डा केटो, न्यायधीश भूपाल, रिक्सा चालक अशोक, कुसुन्डो केटो ज्योती, मुना आदि पात्र रहेका छन् । यस उपन्यासमा व्यक्तिगत पात्रका तुलनामा वर्गीय पात्रको अधिक प्रयोग रहेको देखिन्छ । यस उपन्यासमा रहेका पमुख तथा सहायक पात्रलाई पात्रगत अभिलक्षणका आधारमा चरित्रगत तालिकामा यस प्रकार देखाउन सकिन्छ ः

पात्र
अभिलक्षणा ►

लिङ्ग
कार्य
प्रवृत्ति
स्वभाव

जीवनचेतना
आसन्नता
आवद्घता

पुरुष नारी प्रमुख सहायक गौण सत् असत् गतिशील स्थिर वर्गीय व्यक्तिगत मञ्चीय नेपथ्य बद्घ मुक्त
ऋामा
– + + – + – – + + – + +

पूर्णिमा – + – + + – – + + – + +
बिजय + – – + + – – + – + + +
मालती – + – + + – – + + + +
दिनेश
+ – – + + – – + – + + +
गीता – + – + + – – + – + + +
डिएसपी राज + – – + – + – + – + + +
इन्स्पेक्टर जगत + – – + – + – + – + + +
बाघवीर + – – + – + – + + – + +
द्रष्टव्यः–+ ले उपस्थिति जनाउँछ भने –अनुपस्थितिलाई जनाउँछ ।

माथिको तालिकामा पुरुष पात्रको उपस्थिति बढी देखिए पनि गौण पात्रलाई हेर्ने हो भने नारी पात्रका सङ्ख्या अधिक छ । साथै यस उपन्यासमा नारी पात्र आमा, पूर्णिमा, गीता र मालतीकै केन्द्रीयतामा घटनाहरू घटित भएका छन् र उपन्यासको कथानकले गतिशीलता प्राप्त गरेको छ । यस उपन्यासमा प्रवृत्तिको आधारमा सकारात्मक चरित्र भएका पात्र बढी छन् भने स्वभावको आधारमा स्थिर स्वभावका पात्र धेरै छन् । अनि वर्गीय र व्यक्तिगत पात्रको प्रयोग कथावस्तु सापेक्ष समानुपातिक ढङ्गले गरिएको छ । यस उपन्यासमा आमा पुरुष प्रधान समाजबाट शोषित र पीडित पात्र साथै शिक्षित पात्रका रूपमा रहेका छन् । यसैको कारण समाजमा नारी अधिकारको प्राप्तिका लागि सङ्घर्ष गर्ने वर्ग चेतनाले भरिएको पात्रका रूपमा रहेका छन् । त्यस्तै पूर्णिमा पात्र शिक्षित आमाको पालन पोषणबाट हुर्किएकी नारी समानता र वर्गीय हितका लागि विद्रोह गर्ने विद्रोही चेतनाले भरिएको पात्रका रूपमा रहेका छन् । गीता यस उपन्यासमा बिना दाइजो विवाह गर्दा पतिको अत्याय र अत्याचारबाट ग्रसित तथा माइतीबाट उपेक्षित भएकी अवला पात्रको रूपमा रहेकी छिन् । उनले आफूले प्राप्त गरेको ज्ञानबाट समाजमा नारीलाई आत्मसम्मानका साथ बाँच्न सिकाएकी छिन् । जीवन जिउनका लागि आरक्षण केन्द्रको सहारा लिन परे पनि उनी स्वाबलम्बी चरित्र बहन गर्ने पात्र हुन् । उनी समाज परिवर्तनका लागि साहित्यिक तथा भौतिक दुवै रूपमा उपस्थित भई बलिदान गर्ने पात्रका रूपमा रहेका छन् । त्यसैले उनी विकृतिजन्य समाजबाट मुक्ति प्राप्त गर्न क्रान्तिको संवाहन गर्ने पात्र हुन् । यसको अतिरिक्त यस उपन्यासमा बाघवीर यथास्थितिवादी पात्र हो । ऊ समाज परिवर्तन गर्न रुचाउँदैन । परिवर्तनका लागि भएको क्रान्तिमा वागी बनी प्रदर्शन भाँड्न ऊ उद्यत देखिएको छ । डिएसपी राज र इन्स्पेक्टर जगत यथास्थितिवादी समाज जोगाउन चाहने पात्र हो । क्रान्तिलाई सफल हुन नदिन यी पात्र दण्डलाई सहाराको रूपमा लिन्छन् । कर्णेल, विजय र दिनेश धनी र शिक्षित भए तापनि समयको आह्वान बुझेर समाज परिवर्तनका लागि क्रान्ति गर्ने चेतनशील र प्रगतिशील चाहना भएका पात्र हुन् । नवीन र सविन गीता र मालतीका दाजु पात्र हुन् । समाजमा व्याप्त कुरीति , कसंस्कार र बद्नियत परम्पराबाट भुक्तशेष भएका यी पात्र सामाजिक परिवर्तनका लागि वर्गीय सङ्घर्ष अपरिहार्य ठान्दछन् ।

परिवेश

प्रस्तुत उपन्यास सघन तुवाँलोमा देश वा स्थानको रूपमा काठमाडौं र रातो छाँगाको नामोल्लेख भए पनि घटना घटेको स्थलको व्यक्तिवाचक नाम उल्लेख छैन । यस कथामा गाउँ, सदरमुकाम र सहर भनी स्थानको उल्लेख छ र एक स्थानमा काठमाडौं भन्ने उल्लेख छ । त्यसैले यस उपन्यासमा घटित घटनाले जुनसुकै गाउँ वा सहरको स्थानलाई देखाएको छ । मूलतः यसले नेपालको ग्रामीण तथा सहरी समाजको स्थान प्रस्तुत गरेको छ । यस उपन्यासमा आरक्षण केन्द्र, प्रहरी चौकी, जेल, आमाको कोठा, रातो झरना भएको गाउँलाई घटना घटेको स्थानको रूपमा देखाइएको छ । काल वा समयको रूपमा यस उपन्यासमा सन् १९९१, विसं २०४७ जस्ता समय सूचक मिति प्रयोग गरिएकोले यस उपन्यासले नेपालको सन् १९९१ वा २०४७ सालको सेरोफेरोमा घटित घटना प्रतिबिम्बित गरेको छ । खास गरी यस उपन्यासमा पूर्णिमाको आमाको जन्मदेखि लिएर पूर्णिमा वैवाहिक सूत्रमा गाँसिएको अवस्था अर्थात् तिन पुस्तामा नेपालमा विद्यमान सामाजिक, राजनैतिक, आर्थिक, शैक्षिक अवस्था र चेतनासम्म विस्तार गरी लेखिएको छ ।

प्रस्तुत उपन्यासमा नारीवर्गमाथि समाजले लाद्ने वेस्याको संज्ञा, नारीको किनवेच, दाइजोको नाममा नारीमाथि गरिने पाशविक व्यवहार, नारी, वालवालिका, श्रमिक मजदूरमाथि हुने दमन, अन्याय, अत्याचार शोषण र त्यसबाट मुक्ति प्राप्त गर्न गरिएको वर्ग सङ्घर्ष परिस्थितिका रूपमा आएका छन् । यसका साथै वर्गीय हक, अधिकार जनताले प्राप्त गर्न गरिएको सङ्घर्ष, प्रदर्शन वा आन्दोलन विथोल्न शोषक वर्गको घुसपैठ, सरकारी र प्रहरी प्रशासनको क्रुरतापूर्ण दमन आदिलाई पनि यस उपन्यासमा प्रस्तुत गरिएको छ । यसका अतिरिक्त न्यायिक समानता प्राप्त गर्न भएको सङ्गठन निर्माण र सङ्घर्षलाई पनि यस उपन्यासमा चित्रण गरिएको छ ।

उद्देश्य

प्रस्तुत सघन तुवाँलो उपन्यास निम्न वर्गीय नारीवर्गमाथि पुरुषवर्गबाट हुने अन्याय अत्याचारको पराकाष्ठा चित्रण गरिएको सामाजिक यथार्थपरक घटना प्रस्तुत भएको यथार्थवादी उपन्यास हो । यस उपन्यासमा कमजोर, निरीह, अवला नारीवर्गमाथि जवर्जस्ती पुरुषले गर्ने करणी र बोक्सीको आरोप तथा पुरुष प्रधान समाजबाट हुने बहिष्कार चित्रण गरी त्यसको विरुद्घमा गोल तथा एकबद्घ भई मुक्तिका लागि सङ्घर्षमा लाग्नु पर्ने चेतना प्रवाहित भएको उपन्यास हो । यस उपन्यासमा नारीमाथि हुने शोषणको कारक तत्वको रूपमा नारीमा हुने फुट, चेतनाको कमी तथा अशिक्षालाई लिइएको छ । यस उपन्यासमा अन्याय अत्याचारको मारमा निरीह जीवन बिताउन विवश नारी, निम्न वर्गीय व्यक्ति तथा केटाकेटी क्रान्तिमा सामेल भई इतिहास परिवर्तन गर्न मुक्तिकामी जनताको रूपमा रहनुपर्ने भाव पनि व्यक्त छ । यसको साथै यस उपन्यासमा अधिकारका लागि मुक्तिकामी जनता सचेत भई प्रदर्शनमा लाग्दा पनि यथास्थिति रुचाउने व्यक्ति, प्रहरी तथा सरकारले गर्ने दमन र हस्तक्षेपलाई पनि प्रस्तुत गरिएको छ । यस उपन्यासमा परिवर्तन चाहने जनताले निम्नवर्गीय जीवनको प्रगति र उत्थानका लागि सहयोग गरी सामाजिक र राजनीतिक परिवर्तका लागि लाग्नु पर्ने सन्देश पनि प्रवाहित गरेको छ । प्रस्तुत उपन्यासले प्रगतिवादी सोच र मान्यता प्रक्षेपण समतामूलक समाज निर्माणमा जोड दिएको छ । यसको साथै यस उपन्यासले नेपालको सामाजिक, आर्थिक, राजनीतिक सन्दर्भमा देखिएको विकृति विसङ्गतिलाई आलोचनात्मक रूपमा प्रस्तुत गरेको छ । नेपालमा जतिसुकै सङ्घर्ष र वलिदान भए पनि शोषक प्रवृत्तिले टाउको उठाई रहेको यथार्थलाई पनि उपन्यासको अन्तिम वर्णनमा प्रस्तुत गरिएको छ ।

भाषाशैली

बान्तवा लिखित प्रस्तुत सघन तुवाँलो उपन्यास ७१ परिच्छेदमा विभाजित छ । यसमा परिच्छेदलाई विभिन्न नामाकरण गरी लेखिएको उपन्यास हो । यस उपन्यासमा विभाजित परिच्छेद छोटा तथा घटना दर्शन गराउने छन् । घटनालाई आदि, मध्य र अन्त्यको क्रममा सुव्यवस्थित विन्यास गरी प्रस्तुत उपन्यास लेखिएको छ । यस उपन्यासमा नेपालको पहाड तथा ग्रामीण जनजीवनमा बोलिने भाषा प्रयोग गरिएको छ । उखान र टुक्काको समुचित प्रयोग गरी लेखिएको यस उपन्यासमा काव्यात्मक भाषाको प्रयोग छ । समष्टिमा यस उपन्यासको भाषा तथा प्रस्तुति शैली सरल, सहज र सम्प्रेषणीय छ ।

शीर्षक

प्रस्तुत उपन्यास सघन तुवाँलो सघन संस्कृत विशेषणवाची शब्द तथा तुवाँलो नामवाची शब्द प्रयोग गरी शीर्षक नामाकृत गरिएको उपन्यास हो । सघनको अर्थ बाक्लो, घना, खँदिलो वा ठोस भन्ने हुन्छ । त्यस्तै तुवाँलोको अर्थ गर्मीयाममा धर्तीमाथि तिरमिर भएर उडेको देखिने धुलोमण्डल वा पातलो कुहिरो हो । यस उपन्यासमा शीर्षक केन्द्रित वर्णन दुई स्थानमा आएका छन्ः बिस्तारै बिस्तारै उपत्यकाको कुनाकाप्चा हुँदै बाक्लो तुवाँलोले साम्राज्य जमाउँदै लगिरहेको थियो, अमिलो धूवाँको जालोले गाउँ छोपेजस्तै गरेर । त्यस तुवाँलोभित्र उदासिनता, भय र संत्रासको गन्ध मिसिएको थियो । उपन्यासको पहिलो परिच्छेद संरक्षण केन्द्र नामाकृत परिच्छेदमा आएको यो शीर्षक केन्द्रित वर्णनले उपन्यासको अन्तसम्मको घटनाको पूर्व सङ्केत दिएको छ । त्यस्तै, तुवाँलोभित्र हराउँदा भोग्नु परेको संकटको घडीलाई अपवादको रूपमा लिने हो भने त्यस प्रकारका केही घटनाहरूले मात्र उनलाई नौलो अनुभूति दिलाएको थियो ।किनभने उनले सानै उमेरदेखि पढ्न सिकेकी थिइन्…। शीर्षक केन्द्रित प्रस्तुत वर्णन उपन्यासको नैराश्यता शीर्षक अन्तर्गत आएको छ । यस वर्णनले जनता अशिक्षा, कुरीति, कुसंस्कृति र अचेतनाको अन्धकाररूपी तुवाँलोभित्र रहेर चेतनशील बन्न नसकेको, अन्याय अत्याचाररूपी तुवाँलोको घेरा भित्र रहेको वर्णन छ । यस उपन्यासको शीर्षक आदिदेखि अन्तसम्मका घटनावलीलाई आधार मानी प्रतीकात्मक रूपमा चयन गरिएको छ । यस उपन्यासमा सूर्यबाट आउने उज्यालो वा प्रगति, उन्नतिको घामलाई तुवाँलोले डम्म ढाकेर उज्यालोबाट बञ्चित गराएजस्तै प्रगति र उन्नतिलाई सापेक्ष चेतना र शिक्षाको कमीले नेपाली समाज तुवाँलो भित्र रुमलिएको कुरा उल्लेख छ । नेपाली समाजमा नारी, बालबालिका पुरुष प्रधान समाजको कुसंस्कारको मारमा परेको छ । श्रीमान् मरेको नारीलाई बोक्सीको आरोप लगाई सजाय दिने, निरीह, अवला कमजोर नारीलाई वेस्याको आरोप लगाउने तथा दाइजोको नाममा नारीमाथि हुने हिँसा, आतङ्कको चित्रण उपन्यासमा गरिएको छ । यस उपन्यासमा लैङ्गिक असमानता, वर्गीय विभेद, सरकारी प्रहरी प्रशासनको दमनीय व्यवहारलाई सघन तुवाँलोभित्रको घटनाका रूपमा लिइएको छ । यो तुवाँलो नेपाली समाजमा परम्परादेखि रुढ हुँदै आएको र चेतना, अशिक्षाको कारणले ज्युँकात्युँ रहेको उल्लेख छ । बेलाबेलामा हुने मुक्तिकामी आन्दोलनले पनि यसलाई परिवर्तन गर्न नसकेको स्थिति वर्णन छ । अतः यस उपन्यासमा वर्णित घटना, पात्रहरूको कार्यव्यापार र भोगाइ तुवाँलोको संसारभित्र रहेको कुरा उल्लेख छ । त्यसैले यस उपन्यासको शीर्षक सार्थक छ ।

निष्कर्ष

रामकृष्ण बान्तवाद्वारा लेखिएको प्रस्तुत सघन तुवाँलो उपन्यास प्रगतिशील उपन्यास हो । यस उपन्यासमा नेपाली पुरुष प्रधान समाजमा रहेको नारीमाथि गरिने शोषण अन्याय अत्याचार उल्लेख गरी लैङ्गिक समानताका लागि जोड दिइएको छ । यस उपन्यासमा यथास्थितिवादी समाजमा रहेको विकृति विसङ्गति प्रस्तुत गरी सामाजिक परिवर्तनका लागि शैक्षिक र सामाजिक चेतना जगाउने प्रयास गरिएको छ । यसले यस उपन्यासलार्ई आलोचनात्मक यथार्थवादी बनाएको छ । प्रस्तुत उपन्यासमा अधिक पात्रका प्रयोग गरेका छन् । यस उपन्यासमा सूच्य पात्रको रूपमा प्रयोग गर्दा पनि सार्थक हुने अनु, मनु र सानु जस्ता पात्रलाई लिई घटनालाई अनावश्यक लम्बाइएको छ । यसले पाठकलाई उपन्यास पठनमा अल्मलाएको छ । मुख्य कथानक भन्दा बाहिर गएर प्रयोग भएका यी पात्र र सम्बद्घ घटनाले उपन्यासको आयाम विस्तार गरे पनि उपन्यासको गुण भने तल खसालेको छ । यस उपन्यासमा यात्रा शीर्षकको परिच्छेदले उपन्यासलाई अतियथार्थवादी बनाए पनि समष्टिमा कथानकको क्रमिक विकासमा बाधा पु¥याएको देखिन्छ र कथानक बोधबाट पाठकलाई अल्मलाएको महसुस हुन्छ । समष्टिमा यही कमजोरी उपन्यास लेखनमा भए पनि नारी चेतना जागृत गराई सामाजिक परिवर्तनको विकास गर्न उल्लेख मद्दत गर्ने प्रस्तुत उपन्यास अन्य पक्षबाट राम्रो छ र यो नेपाली उपन्यास लेखनको महत्वपूर्ण प्राप्ति सावित भएको देखिन्छ ।

सन्दर्भ सामग्री सूची

बान्तवा, रामकृष्ण, सघन तुवाँलो(दो.सं), काठमाडौंः साथी प्रकाशन प्रा.लि., २०६५ । बराल कृष्णहरि र नेत्र एटम, उपन्यास सिद्घान्त र नेपाली उपन्यास(दो.सं), ललितपुरः साझा प्रकाशन, २०५८ ।
थापा, हिमांशु, साहित्य परिचय,(ते.सं), काठमाडौंः साझा प्रकाशन, २०४७ ।
उपाध्याय, केशवप्रसाद, साहित्य प्रकाश, काठमाडौंः साझा प्रकाशन, २०३० ।

-फर्पिङ, दक्षिणकाली 

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.