कथा : कोसँग च्याट गरेको ?

~सोम डेमनडौरा~

“कुन केटीसँग च्याट गरेको ?”

उसको श्रीमतीले सोध्यो । उ एकछिन् घोरियो । बुढीले उसलाई शंका गर्छ कि जस्तो लाग्यो । केहि बेरपछि उसले अलिक संकोचपूर्ण जवाफ दियो ।

“होलीको शुभकामना पठाएको थियो । रिप्लाई गरेको । उनी के, हाम्रो पसलमा आउने गर्थिन् नी । कस्तो नामै भुलेको । उसको बहिनी के । श्यामसरको बहिनी । त्यै मधुरानी ।”

साँच्चै नै हरिलाललाई यो प्रश्नले उसलाई कहाँ देखि कहाँ पुर्यायो । उसले आज यो प्रश्नको सामना गर्न धेरै ठुलो प्रयास गरेको थियो । उसलाई यो प्रश्नको जवाफ दिइ रहँदा युद्ध जस्तै लाग्दै थियो । उसले दिएको जवाफमा ऊ आफै पनि सन्तुष्ट छैन । उसले गएका केहि दिनको घटना सम्झिन थाल्यो । खास गरेर, साँझको समयको ।

श्रीमती घरको कामले गर्दा थकित हुन्थिन् । बिहान देखि राति सम्म चुलो चौका, केटाकेटीलाई स्कुल पठाउने, घरको सफाई, लुगा, भाँडाकुँडा र यावत कामले गर्दा लखतरान् हुन्थिन् । स्वभाविकरुपमा राति छिट्टै नै निन्द्रा लाग्थ्यो । निदाउँथिन् पनि । हरिलाल एउटा गैर सरकारी संस्थामा काम गथ्र्यो । उसको श्रीमति जस्तै उसलाई थकान हुन्थेन । अलि फुर्सदिलो पनि हुन्थ्यो । अझ अफिस बाट फर्किदा उसको श्रीमतिले श्रीमान अफिसको कामले थाक्नु भएको छ होला भनेर कहिले कफि त कहिले चिया बनाएर दिन्थिन् । हरिलाल बडो आरामसँग चुस्कि लगाउँथ्यो । र उसले कामको अप्डेट लिन्थ्यो ।

“केटाकेटीलाई होमवर्क गरायो ? आज कतिको व्यापार भयो ?”

श्रीमतीले सबैकुराको जानकारी गराउँथिन् ।

“होमवर्क त गराउनै गार्हो । बल्ल बल्ल एउटा होमवर्क सक्काएको छ । खेल्न हिँडिहाल्यो । आज त्यत्ति ब्यापार भएको छैन । आज मान्छेको घुमफिर पनि कम थियो । यता हेरौं कि उता हेरौं भइहाल्छ । किस्ता बुझाउनलाई समेत पैसा हुँदैन । अस्ति देखि फर्काइ दिएको छुँ, मैले फोन गरें भने आउनु होला भनेर ।”

हरिलाल माथि शाँस लिन्छ । अलि सार्होसँग बोल्छ ।

“किन हो के तिमी बच्चालाई कन्ट्रोल गर्नै सक्दैनौ । कमसे कम होमवर्क त गराउन सक्नुपर्छ । सबै मैले नै गर्दिनु पर्छ के हो । ग्राहकसँग कसरी बोल्ने, कसरी डिल गर्ने यस्तो कुरा सिक्नु पर्छ । सबै ग्राहक एउटै हुँदैनन् । हामीले सामानको बारेमा उनीहरुलाई भन्न सक्नु पर्छ, मोटिभेट गर्न सक्नुपर्छ । यसो गर्दा पो ग्राहक फेरि फेरि आउँछ ।”

उसले आफुले नै घरको सबै जिम्मेवारी सम्हाले झैं आफ्नो श्रीमतीलाई पाठ पढाउँछ । श्रीमतीलाई पनि लाग्छ, साँच्चै म नै यस बिषयमा कमजोर छु कि जस्तो लाग्छ । उसको श्रीमतीले सानो जवाफ दिन्छिन् ।

“कोशिस त गरेकै छुँ ।”

अफिसमा पनि हरिलालको फेसबुक चौबिसै घन्टा अन हुन्छ । बिच बिचमा साथीहरुसँग हेलो हाई गरि राख्छ । काम गर्दा गर्दै एक्लै मुस्कुराउँछ । उसले आज भ्याउनु पर्ने काम भोली सम्म पनि भ्याउँदैन । र आफै प्रश्न गर्छ, समय पनि कति छिटो जान्छ यार । फेसबुकमा सकभर उसले महिला अनुहार मात्र खोज्ने गर्छ । खास गरेर अविवाहित केटीको । कसैगरि उसको हेलोको जवाफ आएन भने उ मुरमुरिन्थ्यो । र भन्थ्यो, बहुट भाउ खान्छि यार । जाबो बोल्न पनि केहि जाला जस्तो गर्छी ।

जब उसको श्रीमति निदाउँछ, उसले च्याट शुरु गर्छ । श्रीमतीले थाहा पाउँछ कि भनेर मोबाइल साइलेन्ट मोडमा राख्छ ताकि कुनै किसिमको आवाज नआओस् । श्रीमतिले कोल्टे फेर्दा मोबाइल् झ्याप्प बन्द गरेर निदाए जस्तो गर्छ ।

केटीहरुसँग उसले कहाँसम्मको च्याट गर्न पुग्थ्यो भने सुत्दा के लगाएर सुत्छौ भन्ने सम्मको प्रश्न गर्न भ्याउँथ्यो । केटीहरुले छि लाज लाग्दैन यस्तो कुरा गर्न भन्दा सोध्दैमा के हुन्छ र भनेर उल्टै जित्ने गथ्र्यो । केटीहरुको च्याट बन्द भयो भने एसएमएस प्याक लिएर म्यासेज पठाउन थाल्छ । कहिलेकाहिँ त ब्यालन्स ट्रान्सफर गरेर समेत च्याट गर्छ ।

अब त झन ऊ अर्कै जिल्लामा सरुवा भएको छ । उसलाई साँझ विहानको समय कसरी बिताउने भन्ने भएको छ । साँझ ७ बजेसम्म अफिसको इन्टरनेटमा झुन्डिएको हुन्छ । त्यसपछि, एनसेल डाटा प्याक त छँदैछ । आउने बित्तिकै बिस्तरामा सुतेर च्याट शुरु । रातिको खाना पछि त फोन नै शुरु हुन्छ । अश्लिल गफ ।

“तिमी कहिल्यै अनुभव गरेकी छौ ?”

“छ्या, तपाई त खत्तम मान्छे हुनु हुन्छ ।”

“के को खत्तम नि, दुई दिनको जिन्दगी माटो मै मिल्ने हो । यति बेला जिन्दगीको मजा नलिए कतिबेला…….। मनको चाहना जति कुण्ठित गर्यो त्यत्ति नै घातक…….” आदिआदि ।

ऊ परिवारसँग हुँदा पनि उसको हातमा मोबाइल हुन्थ्यो । के के हो के के प्याटपुटुर गरि राख्थ्यो मोबाइलमा । एकदिन त उसको श्रीमतीले पनि गुनासो गरेकी थिइन् ।

“कति मोबाइल खेलाको के । कमसे कम परिवारसँग बस्दा त समय दिनु पर्छ ।”

उसले जवाफ फर्कायो,

“समाचार हेर्दै छु के । के भइ राखेको छ, थाहा पाउनु परेन ।”

उसको श्रीमतीले जवाफ दिएनिन् । आफ्नो काममा लागिन् ।

आज हरिलालको आँखामा निन्द्रा छैन । घरिघरि उसको श्रीमतीले गरेको प्रश्न डिमाग वरिपरी फेरो लगाउँदै छ ।

“कुन केटीसँग च्याट गरेको ?”

ऊ सम्झिन्छ, श्रीमतीले उसलाई गरेको अत्यन्त गहिरो प्रेम । उसलाई दिएको स्वतन्त्रता र सेवा । अनि सम्झिन्छ, रातदिन कहिल्यै पनि झर्को नमानेर, थकाई नमानेर गरेको काम माथिको मुस्कुराएर बिजय । उसले आफुले गरेको कर्तुत र श्रीमतीले गरेको कष्ट तुलना गर्छ । उसको तराजुको पलरा माथि हलुङ्खो हुन्छ । उसको श्रीमतिको पलराको तौल भारी हुन्छ । उसले नाप्छ आफ्नो र श्रीमतिको निन्द्राको गहिँराई, अनि आफुलाई बेचैन पाउँछ ।

श्रीमती मस्त गहिँरो निन्द्रामा हुन्छ । ऊ आफ्नो श्रीमतीको अनुहारमा हेर्छ, भित्रै देखि माया जागेर आउँछ । आफ्नो श्रीमतीको निधारमा ओठले स्पर्श गर्छ । र कसम खान्छ, अब कहिल्यै पनि आफ्नो श्रीमतीलाई ढाँट्ने छैन ।
यस्तै, बिगतलाई भुल्दै, आगतको सुन्दर सपना बनाउँदै हरिलाल कतिखेर निदाउँछ थाहै हुँदैन ।

-जोगेठ्वा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.