संस्मरण : लघु संस्मरणमा शंकर दाइ

~नगेन्द्र शर्मा~

अभूतपूर्व लेखनकला, वैचारिक प्रखरता र विभिन्नताका धनी, कथावस्तु विनाका कथाका पनि जन्मदाता । नेपालीमा हाइकुका प्रथम प्रयोक्तासमेत रहेका शंकरदाइ ‘इम्प्रेसनिज्म’ जस्ता नौला साहित्यिक धाराहरूको स्वाद हामीलाई चखाउने प्रथम व्यक्ति पनि थिए । कुरैकुरामा एकदिन मैले उनलाई सोधेको थिएँ, ‘दाइका प्रेरक साहित्यिक गुरुहरू लरेन्स डुरेल र सारोयानमध्ये कुन चाहिँ हुन् ?’

‘मलाई त्यस्तो दम्भ गर्न मन त लाग्दैन । तर, कहिलेकाहीँ म स्वयम् शंकर सारोयान र लरेन्स लामिछानेमध्ये कुन चाहिँ बढी हुँ, ठम्याउनै सक्दिनँ !’

यो उत्तर पनि मलाई अति ‘एब्सट्राक्ट’ (Abstract) जस्तो नै लाग्यो । अर्थात्, मैले केही बुझेँ पनि, बुझिनँ पनि । उनका निबन्धहरूले अत्यन्त प्रभावित भएर मैले उनलाई ‘निबन्ध शिरोमणि’ मानेको पनि धेरै भयो ।

तर अचम्म, ‘दि काठमान्डु पोष्ट’ अङ्ग्रेजी दैनिकमा सन् १९९७ देखि पछिका दुई वर्षमा हरेक साता छापिने मेरा करिब तीन सय जति स्मृतिप्रधान रचनाहरूमध्ये एउटैमा पनि शंकर कसरी परेनन् होला ? के भएर छुटे होला ? म स्वयम् पनि भन्न सक्दिनँ । जबकि तिनमा कुनै बेला यस्ता व्यक्ति पनि परे, जसलाई आजीवन समेत भेटेको थिइनँ, जस्तै: निरादसिंह चौधरी ।

शंकर लामिछानेसँग मेरो पहिलो भेट करफोकको एक साहित्यिक जमघटमा भएको थियो, सन् १९५२ सालतिर । त्यस जमघटमा सबैभन्दा केटौले, ‘स्मार्ट’ र जाँगरिला देखिने काठमाडौंका प्रतिनिधि उनै थिए ।

म जब कलकत्ता छोडेर काठमाडौँ आएँ, शङ्कर दाइको विवाह रत्ना राईसँग भइसकेको रहेछ । काठमाडौंको एक बाहुन युवकले राई युवतीसँग बिहे गर्नु भनेको तिनताकको नेपाली समाजमा एउटा ठूलो विद्रोह, एउटा सामाजिक क्रान्ति गर्नु सरह नै थियो । फेरि रत्ना, जसलाई म दार्जिलिङदेखि नै चिन्थेँ र जो काठमाडौंमा आयोजित नेपाल-भारत छात्र सम्मेलनमा हामीसँगै प्रतिनिधि भएर आएकी थिइन्, उनैसँग शंकर दाइको विवाह भएको सुन्दा विद्रोहीको रूपमा उनीप्रति जागेको आदर भावमा आत्मीय नाता-कुटुम्बपना पनि थपिएको थियो ।

काठमाडौंमा मेरा दिदी-बहिनी कुनै नभएकाले मैले रत्ना दिदी र यांगजी (शेर्पा) बहिनीको हातबाट भाइटीका थाप्ने प्रक्रिया पनि सुरू गरेँ । यांगजी र रत्नाले एकै ठाउँ, शङ्कर दाइकै डेरामा हामीलाई भाइटीका लगाइदिने गर्थे । हुँदाहुँदा यस शहरमा मेरो दोस्रो घर (सेकेण्ड होम) पनि त्यही हुन गयो । यसरी जीवनका १५-२० हिउँद-वर्षा सँगसँगै रुझेर, भिजेर, रमेर र गमेर शंकर दाइसँग बिताएँ । व्यावहारिक जीवन लगायत साहित्यिक र वैचारिक यात्रामा समेत अनेक सहयोग र अगुवाइ मैले उनैबाट पाएँ । भनूँ नै भने कथा, कविता, नाटक आदि विधाबाट निबन्धतिरै कलम चलाउन पनि मलाई सबैभन्दा धेरै प्रेरित उनैले गरे ।

यांगजी बहिनी र म दुवैको जागिर खुस्केपछि हामीले साझेदारीमा एउटा ‘स्ट्रक्चरल’ कम्पनी स्थापना गर्यौं । त्यसको ‘न्वारान’ शंकर दाइले नै गरिदिएका थिए । त्यो अत्यन्त नौलो नाउँ थियो ‘स्ट्रक्टो नेपाल’ ।

अझ एकपल्ट मैले प्रेस राख्न लाग्दा पनि दाइसँगै सल्लाह मागेँ ।

‘कतै प्रेस हेर्नुभएको छ ?’ – उनको प्रश्न थियो ।

‘छैन ।’

‘त्यसो भए एकछिन पर्खौं । वीरगञ्जमा एउटा प्रेस बिकाउ छ रे । त्यो मेरै साथीको हो । ऊ अहिले आउँदै पनि छ । राम्रो रहेछ र दाम-काम मिल्यो भने त्यही लिउँला, हुन्न ?’

‘हुन्छ, तर वीरगञ्जबाट यहाँ ल्याउन पो गाह्रो पर्ला ।’

म अनकनाए जस्तो लागेर होला, दाइले भने, ‘अरे के ठूलो कुरा छ ? हामी दुवै सँगै जाउँला, रमाइलो पनि गरौंला, प्रेस पनि ल्याउँला । पशुपतिको जात्रा सिद्राको व्यापार ।’ गट्टट् हाँसोको फोहोरा छुट्यो ।

र म पनि हाँसेँ ।

त्यसै गर्यौं पनि । उनी मसँग वीरगञ्जसम्म गए मात्र होइन, ३-४ दिन सँगै बसे, प्रेसबारे जानकारी भएका व्यक्तिहरूबाट मेसिन जाँच्न लगाए, चित्त बुझेपछि खरिद गराए । आफैंले ट्रक पनि बन्दोबस्त गरे, प्रेस लाद्‌न लगाए र मसँग त्यसै ट्रकमा काठमाडौं आए । फेरि मेरो पुतलीसडकस्थित ‘रामझुपडी’को भुइँतलामा त्यो प्रेस जडान गर्न सबै व्यवस्था समेत मिलाइदिए ।

तर, जीवनको उत्तरार्द्ध कालमा उनी दोस्रो घरजम गरी पाटनतिर बस्न गएछन् । त्यसपछि हामी एक-अर्काबाट टाढिँदै जानु स्वाभाविक थियो । यही क्रम केही वर्ष जारी नै रहेको थियो । मैले उनको दर्शन धेरैपछि एकैचोटि वीर अस्पतालको आईसीयूमा मात्र पाएँ र त्यही अन्तिम भेट पनि हुन गयो… ।

<(स्रोत : अनलाईनखबर डट कम)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.