~शोभा गुरुङ्ग~
त्यो प्रशव बेदनाको, त्यो जीवन मरणको
संघर्ष गर्दै गर्दा, म जन्मेको दिन ।
हारेर पनि हांसेकी मेरि आमा
म जन्मेको दिन ।
पढ्न स्कुल हिडेकी मेरि आमा
भद्र भलादमिबाटै बालात्कृत भएपछि
नाबालक आमाको कोखबाट
म जन्मेको दिन ।
अल्पत्र परेकी नाबालक मेरि आमा
यो समाजबाट तिरष्कृत बहिष्कृत
हुदै गर्दा पनि मलाई मेरि आमाले
जन्म दिएको दिन ।
दिनभरी अर्काको घरमा दुखजेलो गरि
साझ चपक्क आफ्नो छातिमा च्यापी
दशधारा दूध चुसाएर पालेकी
मलाई मेरि आमाले
सम्झन्छु त्यो दिन ।
टुकुटुकु हाथ समाई, यो धर्तिमा हिडन सिकाउने
हाथमा पेन्सिल समाई कपुरी क
लेख्न सिकाउने सम्झन्छु त्यो दिन ।
मलाई हुर्काउदै गर्दा समाजका कति धेरै
चोटहरु सहनु पर्यो होला
जिवनका कति धेरै दुखका आंसुहरु
भित्र भित्रै निल्नु पर्यो होला
मेरि आमाले सम्झन्छु त्यो दिन ।
खुसी हुँदै स्कुलमा नाम दाखिला गर्न जादा
बाबुको नाम सोध्दा शिर निहुरयानु परेको
मेरि आमाले सम्झन्छु त्यो दिन ।
म ठूलि भई सके ! हो,अब म ठुली भै सके
अझै आमाकै नामबाट चिनिन्छु ।
कहिले काहीँ मन गरुङो हुन्छ
रुन , कराउन मन लाग्छ
किन कि
तिमी , म र मेरि आमाको अगाडि
शिर ठाडो पारेर हिडेका हुन्छौ
तर तर . . .
शिर निहुर्याई हिड्छौ हामी आमा छोरि
के दोष थियो , मेरि आमाको ?
कहिले सोच्यौ ?
कहिले कतै मुटुको कुनै कुनामा
घोच्यो तिमिलाई ?
अह: घोचेन
किनकि तिमी कायर पुरुष हौ ।
हो तिमी लाक्षी पुरुष हौ ।
म जस्ता कैयौ छोरीहरु
मेरि आमा जस्ता कैयौ
नाबालक आमाहरुको
तनमा छणिक प्यासका लागि
खेल्ने कायर पुरुष ।
महान त मेरि आमा पो हुन
संघर्ष पछि सफलता
फलस्वरुप म जन्मेको दिन ।
सन्दर्भ : नारी दिवश
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )