~रुपा जोशी~
संसारको शायद सबैभन्दा अग्लो ठाउँमा रहेको ल्हासाको पोटाला दरबारको साँघुरो कोठामा एक–एक गरी पंक्तिबद्ध भएर हामी अगाडि बढ्दैथियौं । तस्वीर खिच्न नपाइने त्यहाँ अघि बढ्दै जाँदा गुफा जस्तो ठाउँको कलेजी रंगको भित्तामा लहरै चार–पाँच वटा मूर्ति देखिए । नजिकै पुगेपछि चिनियो, तिब्बती सम्राट स्रङ सङ गम्पो, दायाँतिर उनकी नेपाली पत्नी भृकुटी र बायाँतिर चिनियाँ वेङचुङ कोङजोका मूर्ति रहेछन् ती । घुम्टो ओढेकी, टीका लगाएकी, हात जोडेको पोजमा उभिएकी ‘नेपाली’ अनुहारकी भृकुटी (हे. तस्वीर) लाई देखेर मेरो मन मायाले भरिएर आयो । आफूलाई चेली भेट्न त्यहाँ पुगेको माइती महसूस गर्दै भृकुटीलाई गमलङ्ग अँगालो हाल्न मन लाग्यो ।
पोटाला घुम्न जानुभन्दा एक दिनअघि मात्र हामीहरू काठमाडौंबाट प्लेन चढेर सगरमाथालाई बायाँ पार्दै ल्हासा पुगेका थियौं । हरिया पहाडलाई काट्दै झरेका सेता नागवेली नदीहरू र हिउँले ढाकिएका हिमश्रृंखला बाटोका लोभ लाग्दा दृश्य थिए । ल्हासा पुग्दा निकै फरक अनुभव भएको थियो, जमीनमा टेक्दा पनि निकै माथि टेके जस्तो । त्यहाँको रुक्खासुक्खा वातावरण अर्को फरक जनाउने पक्ष थियो । सीमित खोला र ब्रह्मपुत्र नदीको आसपास बाहेक कतै हरियाली नदेखिने । करीब १४०० वर्षअघि नेपाली हराभरा भूमि र बाबुआमाको काख छाडेर १६ वर्षको कलिलो उमेरमा यस्तो उजाड ठाउँमा घरजम गर्न आएकी थिइन्, हाम्री भृकुटी । हुन त चिनियाँहरूले अहिले ल्हासा र वरपर रूखहरू निकै रोपेकाले डाँडा, शहर र गाउँ हरियाली देखिन थालेका छन् । तर, पोटाला दरबारबाट नियाल्दा, अहिले पनि डाँडाहरू खैरा र नाङ्गा देखिन्छन् । जाडोमा रूखका पात झरेर नाङ्गिदा झन् कस्तो देखिन्छ होला ? अझ त्यो वेला यस्तो नरमाइलो ठाउँमा आउँदा हावापानी र सांस्कृतिक भिन्नताले हाम्री भृकुटीलाई कति ‘शक’ भयो होला ! भाषा र भेषभूषाले पनि त्यस्तै अप्ठ्यारो पारेको हुनुपर्छ ।
ल्हासा घुमुञ्जेल नेपाली चेली भृकुटीको सम्झना र मायाले पछ्याउन छाडेन । पोटाला बसेको रातो डाँडामाथिको पहिलो दरबार र नजिकैको जोखाङ मन्दिर भृकुटीले बनाउन लगाएकी रहिछन् । जोखाङमा उनले नेपालबाट दाइजो लगेको बुद्धको मूर्ति स्थापना गरेकी रहिछन् (जो पछि कल्चरल रेभोल्युशनमा नास भएछ) । त्यहाँ पनि भृकुटीको मूर्ति देखिन्छ, आफ्ना पति र अरू रानीका साथ । तर मलाई भावुक बनाउने कारण त्यो मात्रै थिएन । गौरको माइतीघर छाडेर काठमाडौं खाल्टोमा घरजम गर्न आउनुभएकी मेरी आमाको कथा पनि झण्डै भृकुटीको जस्तै हुनु म भावुक हुनुको अर्को कारण थियो ।
अहिले एल्जहाइमरले थलिनुभएकी मेरी आमा, (अञ्जु दीक्षित, जसलाई हामी देवीजी भनेर बोलाउँछौं) करीब ६५ वर्षअघि १० वर्षको उमेरमा बेहुली भएर आउनुभएको थियो । भृकुटीको भोट यात्रा हात्ती र सेतो घोडामा सवार भएर केरुङ र कुतीको बाटोहुँदै करीब चार हप्ता लगाउँदै ल्हासा पुगेको थियो होला । त्यो वेलासम्म हवाईजहाज र मोटर बाटोले नछोएको नेपाल खाल्डोसम्मको देवीजीको यात्रा पनि कम रोमाञ्चकारी थिएन । गौरबाट दक्षिण भारतको सिसौटसम्म हात्तीमा सवार भएर पुगेपछि ढेङ्ग स्टेशनबाट रेलमा पश्चिम रक्सौल हुँदै रेलमै नेपालको अमलेखगंज । त्यसपछि भीमफेदीसम्म लरी (गाडी) मा र त्यहाँबाट उलिनकाठमा चढेर चित्लाङ हुँदै चौथो दिन काठमाडौं पुग्नु निश्चय नै रोमाञ्चक यात्रा थियो ।
समतल जमीनमा हुर्किनुभएकी मेरी आमालाई महाभारत लेकमा उकाली–ओराली गर्दा कति डर लागेको थियो होला । दुलही भएकाले मुन्टो निहुराएर, चूपचाप बस्नुपर्ने बाध्यता छँदैथियो । बुहारी भएर नौलो घर भित्रिनुभएकी देवीजीले श्रीमान् र परिवारजनको माया त अवश्य नै पाउनुभयो, तर तराईमै छाडिएका आमा, बाबा, बड्का बाबा, बहिनीहरूको सम्झनाले मन कति भक्कानियो होला ? माइती र घर दुवै ठाउँमा नेपाली नै बोलिने भए पनि ऊवेला भाषाले घरमा पारेको केही समस्याबारे देवीजीले हामीलाई बताउनुभएको थियो ।
भात खाने वेलामा ‘ल अब अञ्जुलाई पनि भुजा खान बोलाऊ’ भन्ने सासूको भनाइ सुनेपछि सानी देवीजी कुनातिर लागेर सुँक्क सुँक्क गर्दै रुन थाल्नुभएछ । ससुरा (मेरो बाजे) ले “किन रोएको ?” भनेर सोध्दा, देवीजीले, “म भुजा नखाने !” भन्दै विलौना गर्नुभएछ । अनि सासुराले “के खान्छ्यौ त ?” भनेपछि देवीजीले “म भात खाने !” भन्नुभएछ । त्यसपछि बाजेले मुसुमुसु हाँस्दै बजैलाई “ल है, अञ्जुलाई भुजा नदिनू, भात मात्र दिनू !” भन्नुभएको थियो रे ! तराईतिर भुजा भनेपछि मुरै बुझिने हुँदा विचरा देवीजीलाई त्यसैले छाक टार्नुपर्ला भनेर पीर परेको रहेछ ! देवीजीले पछि रमाइलो पाराले यो घटना हामीलाई बताए पनि त्यो वेला उहाँलाई परेको पीडा अहिले पनि हामी अनुमान गर्न सक्छौं । त्यस्ता ‘कल्चरल शक’ अरू कति भोग्नुपर्यो होला देवीजीले ।
हुन त भृकुटी देवीजी जस्तो ब्राह्मण घरकी बुहारी नभएर, स्रङ सङ गम्पोले धेरै रुचाएर जेठी साम्राज्ञी बनाइएकी थिइन् । तैपनि नौलो चालचलनमा घुलमिल हुन, नयाँ भाषा सिक्न उनलाई पक्कै गाह्रो परेको हुनुपर्छ । सबै हिसाबमा नौलो घरमा गाह्रो साँघुरो पर्दा डाँडापारिको माइत सम्झिएर कति आँसु झार्नुपर्यो होला, उनले ?
जन्मथलो छाडेर उत्तरतर्फ श्रीमान्को घरमा बसाइँ सरेका भृकुटी र देवीजी जस्ता अरू पनि धेरै छन्, यहाँ । जन्मेको घर छोडेर ‘पराइ’ घर जानुपर्ने बाध्यतामा महिला अझै रहे पनि कलिलो उमेरमा माइत छाडेर धेरै टाढा जानुपर्ने, सितिमिति फर्कन नमिल्ने र अहिले जस्तो सञ्चारमाध्यमबाट सम्पर्क गर्न नसकिने ऊवेला र अहिले धेरै फरक छ । भृकुटीको सो मूर्तिले मलाई चेलीहरूले ऊवेला र अहिले भोगेका न्यास्रोपनलाई महसूस गराएको थियो ।
(स्रोत : हिमाल खबरपत्रिका १६ भदौ २०७०)