~जय क्याक्टस~
च्वाट्टै पारेर छिनाउँछे
मानेको गुबाजस्तो
परस्त्रीगामी पतिको छुल्बुले पुरुषत्वलाई
एउटी स्वाभिमानी स्वास्नीले।
आरोपित हुन्छ अनेकौँ कथा
अनि थुप्रै उपकथा
पाठकीय अभिप्राप्तिको सिद्धान्तले।
एउटा रोमाञ्चक खबर बन्छ
संसारभरिका दैनिक पत्रलाई,
एउटा चहकिलो हेडलाइन पस्कन्छ
ताजा खबर खोजिरहने उत्सुक आँखाहरूलाई।
सन्त्रासको सानो झट्का भेट्छ
उस्तै छुल्बुले पतिहरूका चिसा मस्तिष्कले,
एक मुख थुक उगेल्छ
नैतिकताका पाखण्डी पुजारी बन्ने परम्परावादीहरूले।
थपडी मार्दै खादा–माला लिएर पुग्छन्
केही अतिवादी नारीहरू,
आफूले लाउन नसकेको नारीवादको ताज पहिर्याई फर्कन्छन्
आफ्ना हँसियाजस्तै सोझा पतिहरूलाई लाखेस् गर्दै।
लाज, घृणा, तिरस्कार,
अट्टाहास र आनन्दको सित्कारले
अदालतको परिसर भीडभाड हुन्छ,
तर्क र आरोप–प्रत्यारोपले न्यायकक्ष भरिन्छ
तर सधैँ झैँ न्यायदेवीका आँखा
र न्यायाधीशको चौकी मौन बन्छ।
केही हुँदैन उसित –
फ्रायड, युङ्ग, वाल्मीकि, वात्सायन…
एक्लै पर्छे ऊ
सयौँ कथा बुन्नसक्ने ऊ
कथाहीन भएर बाँच्छे।
यीः यसरी कवितामा
एक्लै बाँच्छे
विचरी!
-कालेबुङ