पुस्तक समीक्षा : किरा नलागेको बन्दाकोभी पल्पसा क्याफे

~आहुति~

१. डा. ऋषिराज बराल झोँकमा भन्थे, नेपालमा राम्रा पाठक नै छैनन् । त्यतिबेला असहमति राख्न सकिएन, अहिले पाइएन किनभने उनी भूखण्डमा कतै गुप्त छन् । धेरैजना राम्रा पाठक मध्येका एक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्ने इच्छाले मनपरी राइँदाइँ गर्छ । पुस्तकको मूल्य धरापजस्तो लाग्छ, तर “माघ १९’ पछि आर्चरीको अन्तर्राष्ट्रियकरण” शीर्षकको सम्पादकीय लेख्ने उपन्यासकारको पुस्तक छाड्न पनि सक्तिनँ । राम्रा पाठक एक फड्कोमै राम्रो लेखक बन्न सक्छ भन्ने आफ्नो भूमिगत मान्यताबाट हौसिएर ‘नेपालय’ले थापेको एम्बुसतिर अघि बढ्छु ।

नयाँ पुस्तक बोकेर वासस्थान छिरेको दिन सायद म खसीको मासु बोकेर घर आएको नेपाली पहाडको बाहुन जस्तै हुन्छु – ओठमा मुस्कान र गम्दारी । मदन पुरस्कारको बोझबाट थिचिँदै ‘पल्पसा क्याफे’ का अक्षरहरू उचाल्छु, भारी के छ भन्ने थाहा नपाई बोक्ने भरियाजस्तो । खप्पिस पियानोवादकले झैँ दसै औँला चलाएर बज्ने गरी हल्लाइएका अक्षरहरूको धुनमा बग्दै म ‘पल्पसा क्याफे’बाट निस्कन्छु । मलाई लाग्छ, मैले बन्दाकोभीभित्र बन्दाकोभीको बिउ खोजेर सग्ला पातहरू भएको बन्दाकोभी खोसलेँ ।

२. धानचुली हिमालमुनिको गाउँबाट काठमाडौँ आई मनमौजी जीवन बिताइरहेको सहरिया मध्यमवर्गीय बाहुन जातको निरपेक्ष शान्तिवादी दृश्यको मनमा आजको ‘बिथोलिएको’ परिस्थितिले उब्जाएको मनस्थितिको परिदृश्य नै ‘पल्पसा क्याफे’को दृश्य हो । ऊ कार चढ्छ, क्याफेमा वाइन तान्छ, कम्प्युटरमा आएकी च्याट तरुनीसँग भद्दा ठट्टा गर्छ, प्रेमीहरूका एकान्त क्रीडा लुकेर हेर्छ र चित्र बनाउँछ । अमेरिकामा उच्च शिक्षा पढेर नेपालमै केही गर्न फर्केकी मध्यमवर्गीय व्यक्तिगत स्वतन्त्रताप्रेमी पल्पसा नामकी युवतीलाई ऊ आकर्षणले भुतुक्कै पार्छ र ऊ पनि भुतुकिन्छ । राजदरबार हत्याकाण्डपछि टुप्लुक्क सेल्टर लिन आइपुग्छ दृश्यको क्याम्पस पढ्दाको कनिष्ठ साथी सिद्धार्थ, जो एक माओवादी कमान्डर हो । दृश्य गान्धीको प्रथम दर्जाको शिष्य झैँ हतियार उठाएर ‘बिथोलेको’मा सिद्धार्थको एकोहोरो विरोध गर्छ । सिद्धार्थ भने आफैले गएर पहाड हेर्न चुनौती दिन्छ । राजनीतिप्रति खासै चासो नभएको दृश्य खतरा मोलेर सिद्धार्थले लगेको गाउँ हुँदै आफ्नो पुरानो गाउँसम्म पुग्दछ । त्यहाँ उसले गाउँ ‘बिथोलिएको’ देख्दछ । उसकै आँखा अगाडि सिद्धार्थ शाही फौजबाट मारिन्छ । दृश्य गान्धीले भगत सिंहका बारेमा टिप्पणी गरेझैँ ‘सिद्धार्थले मर्ने बाटो आफै रोजेको थियो’ भन्ने सोच्दै काठमाडौँतिर लाग्दछ । माओवादी क्षेत्रको दृश्य खिच्न गएकी पल्पसा माओवादीबाट निषेधित भएर फर्किन्छे र उनीहरू एउटै बसमा भेटिन्छन् । तर त्यही बस एम्बुसमा पर्छ, पल्पसा मारिन्छे । एम्बुसबाट बचेर काठमाडौँ आइपुगेको दृश्य पनि सेनाबाट बेपत्ता पारिन्छ । उपन्यासको कथा यत्ति हो ।

उपन्यास सकिँदासम्म उत्तर आधुनिक शैलीको ‘जताबाट पढे पनि हुने’ जस्ता हल्ला भुपीको ‘हल्लै हल्लाको देश’ कवितासँग डराएर मनबाट भागिसक्छन् । संरचनागत हिसाबले पनि आजको नेपाली सिर्जना क्षेत्रमा नयाँ बिल्ला भिराइदिनुपर्ने पुस्तक होइन ‘पल्पसा क्याफे’ ।

३. उपन्यास महाकथाको विधा हो । यस विधामा मुख्य कथासँग अन्तरसम्बन्धित भएर तर मुख्य कथालाई पूर्ण बनाउन उपकथाहरूका समेत ताँती लाग्छन् र ती कथाको एउटै अन्तरकथ्यतिर हानिन्छन् । औपन्यासिक कथानकको हिसाबले ‘पल्पसा क्याफे’ अत्यन्तै कमजोर र उदासीन छ । जब कलाकार दृश्यको मन पल्पसातिर तानिएर, उसको काठमाडौँमा रहेको अलौकिक खालको वातावरण भएको घरसम्म पुग्छ, तब उपन्यास पढिरहे जस्तो लाग्छ । तर दृश्य गाउँ गएपछि कथाक्रम टुट्दछ । पल्पसा मर्ने क्षणतिर भेटिन्छे । तर कथा अकालमै टुङ्गिन्छ । मूल कथा दृश्य र पल्पसाबिचबाट उठ्छ तर उपन्यासको लामो खण्डमा त्यो कथा बग्न पाउँदैन, त्यससँग घुल्दै अन्य उपकथा आउँदैनन् । बरु त्यसको सट्टा ‘बिथोलिएको’ गाउँ यात्राको कलात्मक तर सपाट यात्रा स्मरणले घर्लप्पै थिच्दछ, पत्रकार उपन्यासकारले कलात्मक समाचार लेख्ने धोको पुरा गरेजस्तो । उपन्यासको मूल कथा बस स्टपमा टहल्ने व्यक्ति जस्तो लाग्छ । थुप्रै बटुवाहरू आउँछन्–जान्छन् तर उनीहरू टहलुवासँग कुरा गर्दैनन् । यसरी कथा स्वयं उपकथा बन्दै टुट्दछ अनि बाँकी रहन्छन् केवल दृश्य नामको सहरिया मध्यमवर्गीय बाहुन युवाका टुटेफुटेका विलापहरू र निष्कर्षहरू । विडम्बनावश दृश्यको सम्पूर्ण कथासमेत पाठकले थाहा पाउँदैन । कथाले लय नपक्रिनुमा र त्यस कथाको लयमा उपकथामय परिस्थितिको सङ्घटन र विघटनको द्वन्द्व नउनिनुमा नै ‘पल्पसा क्याफे’को औपन्यासिक खड्को उपस्थित छ । यही उत्तर आधुनिकता हो भनेर विनिर्माणमय झापड हान्यो भने दृश्यले प्रस्ट आकाङ्क्षासहित निर्माण गर्न चाहेको ‘पल्पसा क्याफे’मा बसेर घोत्लिनुबाहेक अर्को आधुनिकता म देख्दिनँ ।

४. कथा पृष्ठभूमि र कारणहरूको जगमा बन्दछ तर उपन्यासमा पृष्ठभूमि र कारण गायब भएका पात्रहरूमात्रै अधिकांश छन् । अधिकांश नेपाली सिनेमाका पात्रजस्ता जात, समुदाय र थरविहीन पात्रहरूमात्रै छन् । वास्तवमा नेपालमा खास जाति र जातहरूले खसोखास कुराको धेरै हदसम्म प्रतिनिधित्व गर्छन् । पल्पसा कुन जातिकी हो ? यो प्रश्न के यसकारणले उठ्छ भने नाम अनुसार ऊ नेवार हो भने उसकी हजुरआमा एकै भेटमा बाहुन युवाको ठट्टामा कदापि नाच्ने छैन । फेरि त्यो स्वैरकल्पना पनि होइन ।
माओवादी सिद्धार्थ, पप गायक, दृश्यको मित कुन जाति वा जातका हुन् ? उनीहरूको वर्गीय र सामाजिक पृष्ठभूमि के हो ? के उनीहरूको प्रवृत्तिगत अन्तर्वस्तु तत्काल उनीहरूले बोल्ने आकाङ्क्षाबाट मात्रै प्रकट हुन सक्तछ ? उनीहरू भावनात्मक वा बाध्यात्मक उडानबाट बत्तिँदैछन् भने पनि त्यसपछाडि ठोस वस्तुगत कारणहरूको शृङ्खला हुँदैन र ? जहाँ महŒव राख्दछ, त्यहाँ त्यस वर्ग र जाति खुल्दैन, जहाँ महŒव राख्दैन वा गलत अर्थ राख्दछ, त्यहाँ खुल्दछ । खास वर्ग, समुदाय र परिघटना प्रतिनिधि पात्रमार्फत् बोल्नुपर्छ भन्ने इन्कार गर्न नसकिने एउटा मान्यता संसारभरि छ । तर उपन्यासमा आउँछ छिरिङ शेर्पा ? के कार चढेर च्याट गर्न भ्याउने छिरिङ नेपाली शेर्पाहरूको प्रतिनिधि हो ? अनि छिरिङ ‘पल्पसा क्याफे’मा किन आवश्यक पात्र हो ? यमकुमारी मगर, सुन्तला टिप्ने सानुको बाबु, सिद्धार्थको वर्ग कुन हो ? यमकुमारी किन दृढतापूर्वक लागेकी छ युद्धमा ? सानुको बाबु ‘बाध्यात्मकै’ भए पनि किन पठाउँछ छोरीलाई युद्धमा ? नेपाली समाजको गर्भमा बगिरहेको तातो लाभामय यथार्थको उच्चारणसम्म छैन, किन ? पप गायकले पनि विदेशमा रोजगारी खोज्न बिदेसिने नेपाली युवाहरूको मूल चरित्रलाई प्रतिनिधित्व गर्दैन । किनभने पप गायक ‘स्टेज सो’ गर्नसक्ने व्यक्ति हो तर बिदेसिने युवाहरू ‘पप गायक’का साथी होइनन् । स्वयं उपन्यासको सूत्रधार पात्र दृश्य पनि चित्र कलाकारहरूको ‘पल्पसा क्याफे’ सन्दर्भको प्रतिनिधि पात्र होइन । पल्पसाकी हजुरआमा वास्तवमा काल्पनिक पात्र हुन् ।

छिरिङ र पसल खोल्ने दमाईजस्ता केही पात्रको जात खोलेर उनीहरूको वर्तमानमा वर्गीय र सामाजिक हैसियतमा परिवर्तन आएको देखाउन खोजिएको हो भने त्यो त डरलाग्दो कुरा हो । अप्रतिनिधि पात्रहरूको खातबाट समयको प्रतिनिधि निष्कर्ष कसरी निक्लन सक्छ ? कसैले भन्न सक्छ, पात्रहरू कम्तीमा आफ्नै प्रतिनिधि हुन् तर त्यो ‘आफ्नै’ पनि खास सामाजिक परिघटनाका उपज हुन्छन् । वास्तवमा ‘पल्पसा क्याफे’ सामाजिक पृष्ठभूमि र त्यसभित्र विकसित अन्तद्र्वन्द्व गायब रहेको पुस्तक बन्न पुगेको छ, जसका कारणले पात्रहरू, उनीहरूका स्वभाव र उनीहरूका निष्कर्षहरू अत्यन्त बिराना लाग्छन् ।

५. आकस्मिकतासँग खेल्ने गर्नाले कथा अविश्वसनीय र कृत्रिम बन्न पुग्दछ । त्यस्ता आकस्मिकताको सानो जङ्गल नै छ यसमा । माओवादी सिद्धार्थ दृश्यले कोरेको चित्रको भाव संयोजनबाट उद्वेलित भएको छ । सिद्धार्थ मारिएको घटनामा शाही फौजले दृश्य र एक छापामार केटीलाई चाहिँ त्यत्तिकै छाडिगएको प्रसङ्ग त उदेकलाग्दो संयोग हो । ‘माओवादी युद्ध’ प्रति ‘आकाशगङ्गाको तिरैतिर’ नामक उपन्यासभन्दा सुकिलो र इमानदार देखिएको ‘पल्पसा क्याफे’ सिद्धार्थ मारिएको नाटकीयतामा नराम्ररी रोगी बन्छ । आफ्नो एक कमान्डर मारिएको घटनापछि पनि प्रत्यक्षदर्शी वा कारकका रूपमा आरोपित गर्न मिल्ने दृश्यको त्यस क्षेत्रबाट समस्याहीन बहिर्गमन त हास्यास्पद बनेको छ । कि त त्यो आधार क्षेत्र होइन, उपन्यासले भनेको मान्ने हो भने माओवादी आधार क्षेत्र त्यस्तो छैन । उपन्यासकारले कलाकार दृश्यले जस्तै वादविहीन वाद नै अँगालेको मान्दा पनि यथार्थको प्रतिबिम्बनको साक्षी यथार्थ नै होइन र ? गाउँबाट आंशिक विक्षिप्त समेत भएर फर्किंदा एउटै सिटमा पल्पसा भेटिन्छे, अनि केही समयपछि नै मर्छे । अचम्म लाग्छ, त्यही कुरा बताउन यस्तो नाटकीय तथा फितलो संयोग जबरजस्ती निर्माण नगरे हुँदैनथ्यो ? अनि संयोगकै बुनोटबारे गम्दा कति जना नेपाली चित्रकार बेपत्ता पारिएका छन् हँ ? घरिघरि मनमा प्रश्न उठ्छ ।

६. यसका पात्रहरूले सोच्ने वा बोल्ने निष्कर्षहरू गजबका छन् । राजदरबार हत्याकाण्डपछि दृश्यले नयाँ नेपाल जन्मिँदै गरेको देख्छ । कस्तो नयाँ नेपाल हो ? ‘माघ १९’ पछिको वा अर्कै ? उपन्यास बोल्दैन । दृश्य पात्र यति अतार्किक र सिर्जनात्मक सोचहीन छ कि राजदरबार हत्याकाण्डलाई समग्रतामा हेर्नुपर्छ भन्ने सिद्धार्थको सामान्य सही कुरालाई पनि बेवास्ता गर्छ र राज्यले सिफारिस गरेको हत्याकाण्ड सम्बन्धी बकबासकै पक्षमा बोल्छ बा !

दृश्य ठान्छ, “दुबैतिरबाट असुरक्षित छु ।” हो, तर दुबैतिरबाट बराबर ? त्यस्तो हुन्छ र ? गाउँमा दृश्यले ‘नेपाली समाजको नयाँ रचनाको सम्भावना’ देख्छ । त्यो के सम्भावना हो ? अनि किन र कसरी ? पहाड पूरै बिथोलिएकाले कि अर्कै कारणले ? ढिपीका साथ मौन बस्नु यस उपन्यासको विशेषता र सैद्धान्तिक दरिद्रता दुबै बन्न पुगेको छ ।

सायद सन्तुलित हुने चाहनाले माओवादी ज्यादती र अराजकताबारे उपन्यास धेरै नै कम बोल्दछ । हारजाङदेखि चितवन माडीसम्मका दर्दनाक प्रसङ्ग उपन्यासमा ज्वलन्त छैनन् । यसमा गाउँमा राज्य आतङ्कको बीभत्सता त छँदै नै छैन । फिल्मका प्रहरी जस्ता कानुनसम्मत वा शिष्ट भाषा बोल्ने सुरक्षाकर्मी मात्रै छन् । यथार्थ त्यति शिष्ट छ र ? ‘कान्तिपुर’ पनि छक्क पर्छ, यति शालीन राज्य आतङ्क पढेर ।

मुख्य कुरा सिद्धार्थ र यमकुमारीहरू किन जन्मिए भन्ने कुरा गायब छ । बाहुन दृश्य काठमाडौँमा मध्यमवर्गीय जीवन भोग्छ, उसको मित उसिना चामल खान पुलिसमा छ । पल्पसा अमेरिकाबाट वाक्किन सक्ने, यमकुमारी मीनबहादुर विष्टको ‘गाउँको स्कुल’ पनि पढ्न पाउँदिन, किन ? उपन्यासमा कागजी पर्दाले ढाकिएका लाखौँ उत्पीडितहरू किन कुनै न कुनै ढङ्गले चिच्याउन बाध्य भए ? २३७ वर्ष लगाएर बुनिएको पर्दा उपन्यासले किन खोल्दैन ? केवल पहाड ‘बिथोलिएको’मा भुटभुटिन्छ मात्रै !? ‘पल्पसा क्याफे’का फुरुङ्ग पार्ने शब्दविन्यासमा बग्दाबग्दै दिक्क लाग्छ ।

क्रिस्टिना गजबकी पात्र छ । ऊ भन्छे, ‘हाम्रो भूगोलमा यस्तो समय गुज्रिसक्यो । त्यही कारण हामी अगाडि छौँ, पश्चिम अगाडि छ ।’ कस्तो समय हो क्रिस्टिना ? क्रिस्टिना सायद राजा लुई सोह्रौँ काटिएको समयको कुरा गर्दै थिई, तर उपन्यासकारले उसको थप निष्कर्ष सुन्न दिँदैनन् । ‘उनीहरूले निक्कै अघि गुजारेको समय हामीकहाँ भर्खर आएको छ ।’ क्रिस्टिनाको बोलीको निष्कर्ष सुनाउँछ दृश्य । त्यसो भए आजको सङ्कट परिवर्तनको सम्भावना सहितको सङ्कट हो ? तर दृश्य बोल्दैन । नेपाली समाजको गर्भमा विकास हुँदै आएका अन्तरविरोधहरूको विस्फोटनको समय हो यो ? वास्तवमा त्यही नै हो तर उपन्यास मुखमा ताल्चा लगाएर बस्छ । म सोच्दछु, सग्ला पातहरू भएको बन्दाकोभीभित्र बन्दाकोभीको बिउ खोज्नु नै मेरो मूर्खता हो ।

७. प्रत्युष वन्तले कतै भनेजस्तो, ‘पल्पसा क्याफे’ हाम्रो यस समयको साक्षी हो । म पनि सहमत छु तर समय त विभक्त छ । म यसलाई नेपाली समाजको दायाँ काखीमा जीवित मध्यमवर्ग, बुढी महाश्वेता देवीले भने झैँ खन्चुवा मध्यमवर्गको खन्चुवा यथास्थितिवादी शान्तिभङ्गताद्वारा सिर्जित मनोविज्ञानबाट आजको नेपाललाई हेर्ने सानो प्रयत्न भएको पुस्तक ठान्छु । यो मध्यमवर्गको कोलाहलको मनोविज्ञान पढ्नुपर्छ ।

(स्रोत : मूल्याङ्कन मासिकबाट)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.