कविता : आईमाई फूल हो ?

~यकिना अगाध~

जसरी लोग्नेमान्छेलाई दाजिन्न केहीसित
आईमाई किन आईमाई भएर बाँच्न पाउँदैन
आईमाई किन मान्छे बनेर बाँच्न पाउँदैन ?

जसरी लोग्नेमान्छेलाई बनाईन्छ बहादुर
आईमाईलाई किन फूल बनाईन्छ
किन सिंगारको सौन्दर्य पहिर्याउँछ
किन कोकाकोला फिगर खोज्छ
किन क्याटवाक हिंडाई हिंडाउँछ ?

संसारमा के आईमाई मान्छे होईन
कि मान्छे हुनै सक्दैन ?

जसरी फूललाई चढाईन्छ
कसैले शक्तिप्राप्तिको निम्ति मन्दिरमा
जसरी फूललाई अर्पण गरिन्छ
कसैको शुभकार्यको खुशीको आरम्भमा
जसरी फूललाई चुडाईन्छ
कसैको शोकको विश्रामको लागि चिहानमा
चाडपर्व, हार, जीत सबै सबैमा
पर्दछ सधैं फूल नै प्राण हरणमा ।
फूलसित दाजेर लोग्नेमान्छेहरु
आईमाईलाई किन यसरी आफ्नो स्वार्थमा लुटिरहन्छ ?

आईमाई आईमाईबीच चाहिदैन कहिल्यै सौन्दर्य
आईमाई आईमाईबीच खोजिदैन कहिल्यै कोकाकोला फिगर
आईमाई आईमाईबीच हुँदैन कहिल्यै क्याटवाक लचकता
आईमाईलाई आवश्यकहीन
यी सब कुरासित दाजेर लोग्नेमान्छेहरु
आईमाईलाई किन यसरी भोग्यबस्तु बनाईन्छ ?
आईमाई !
जो सृष्टिको महान स्रोत हो
जो विना संभव छैन जीवविज्ञानको परिचालन ।

किन यिनै सृष्टिदाता
फूल बन्न ईच्छुक छ
किन यिनै जीवविज्ञानको परिचालक
कोकाकोला फिगर देखाउन
र क्याटवाक हिंड्न स्वीकार गर्छ ?
यो पृथ्वीमा
पुरुषको सम्पूर्ण अमानवीय बन्धन भत्काएर
आफू आईमाई हुँ
र विवेकशील मान्छे हुँ भनेर थाहा पाउन
अब कतिसय वर्ष कुर्नु पर्छ ?

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.