~भोला धरातल~
जहाँ टेकूँ यी पाइलाले, नेपालकै माटो बनोस्
कोदालीको पातो पनि समृद्धिको बाटो बनोस्
जब जब देशमाथि, अशान्तिको बज्र पर्छ
त्यहीबेला मेरो लास, बचाउको साटो बनोस्
नानाभाँति कुराहरू फेरिने यस मनमा
मेचीकाली सीमानाको नमेटिने टाटो बनोस्
अर्थहीन रगतको बगिजाने खोला अब
इतिहासको पानामा सम्झनाको खाटो बनोस्
संसारको छत मेरो चाँदी फुल्ने शिखरमा
नेपालकै सान राखी युगौंसम्म ठाँटो बनोस्
– BhaktaPur
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)