कथा : अस्थायी सम्झौता

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

दिनभरिको व्यस्ततापछि प्रकृतिले दिएको फुर्सदिलो समयको भरमग्दुर सदुपयोग गर्दैछन् सिर्जन र सिर्जना बिछ्यौनामा । साँच्चिकै भगवानले जुराइदिएका छन् उनीहरू लोग्नेस्वास्नीको एउटै नाम । सिर्जन मायालु भावले बोलाउँछ पत्नी सिर्जनालाई – यता आऊ न !

“हजुरलाई खालि यस्तै कुरामा मात्र जोश आउँछ हैन … विजयी हुन लागेको सिपाही झैँ । अरु घरको कुरामा गम्भीर बन्न पर्दैन हगि <” थर्मामिटरको पारो अलिक बढेको अनुभव गर्छ सिर्जन ।

“दिनभरिको थकाइपछि केही रिल्याक्स गर्ने समय र साधन यही त हो नि …. । अनि त्यत्रो गम्भीर हुने समस्या के आइपर्‍यो तिमीलाई <” – स्पष्टीकरणका साथ प्रश्न तेर्स्याउँछ ऊ ।

“हजुरलाई थाहा भएर पनि थाहा नपाए झैँ गरिसिन्छ हैन ! देखिसिन्न हिजो आज हाम्रो घर पाटी, धर्मशाला जस्तो भएको । दिनभरि हजारथरिका मान्छे आउँछन् । कोही चुरोट खाने, कोही मोजा गन्हाउने, हरदम कार्यकर्ता र नेताको जमघट बैठक कोठामा । यसो बाहिर निस्कु भनुँ क्वारक्वारती हेर्छन् । कोठाभित्र कति बसिरहनु < छोराछोरी पनि दिक्क मान्न थालिसके । बुवा त तराई घरमा बसिस्या भएपनि हुने नि ।” उसले मनको तितो ओकेली ।

“तिमी, हामीले भनेर हुँदैन गाउँमा अहिले बसिनसक्नु छ बुवालाई । बुवाको बाध्यता पनि बुझनु पर्छ नि हामीले । फेरि बुवाले आफैँले दुःख गरेर बनाइस्या यो घर । त्यही राजनीतिबाट हामीलाई धन-मान कमाइदिस्या छ । फलानोको छोरा बुहारी भन्दा हामी कति गर्व मान्छौं । केही पाउन केही गुमाउनु पर्‍यो नि … मैयाँ ! हामीले बुवाको लागि के गर्न सकेका छौं तिमी नै भन त ….. ।” उसले केही नम्र भएर भन्यो ।

“हजूरलाई कहिल्यै हजूरको बुवाको केही कुरा भन्न हुन्न । मेरो पनि विवशता बुझनु पर्छ नि …. ।”

“नबुझेको कहाँ हो र मैयाँ …. । ल भन …. तिमी मेरो ठाउँमा भए के गर्थ्यौ” < अँगालोमा कस्दै उसले भन्यो ।

“छोडिस्यो, म त माइत गएर बसिदिन्छु ।”

“स्वास्नीमान्छेको यो नै एउटा बलियो शत्रु रहेछ कि क्या हो माइत जान्छु भनिदियो सकियो । सधैँलाई जान्छयौ भने जाऊ …. ।” ऊ ठसक्क परी ।

उसले अनुहार मुसार्दै भन्यो -“तिमी म जस्तो लोग्ने पाएकोमा गर्व गर न । लोग्नेमान्छेहरू कस्ता खतम हुन्छन् घरमा स्वास्नी हुँदाहुँदै बाहिर साइड खेलेर उधुम गर्छन् ।” उसले चारित्रिक प्रमाणपत्र पेश गर्‍यो ।

“के ठेगान हजूरको पनि … । गाइवस्तुलाई जस्तो गोठालो लाग्न सकिन्न क्यार …. । यहाँ मुखले ठिक्क पार्‍यो भरे तरुनी भनेपछि हुरुक्क हुने होला !” उसले आशंकाको झटारो हानी ।

“ल भन, म त्यस्तो भएको भए अहिलेसम्म केही सुन्नु पर्ने तिमीले । हाम्रो विवाह भएको नै नौ-दश वर्षभइसक्यो ।” पुनः अँगालोमा कस्दै भन्यो – “मेरो विषयमा कुनै नाजायज कुरा केही देखेकी छौ < बत्ती बालेर खोज्यौ भने पनि भेट्ने छैनौ मैयाँ !”

“हो … बत्ती त हजूरले पो बालिस्या छ ।”

“मैले बत्ती नबाले तिमी अन्धी हुन्छौ नि त मैयाँ … ।” हाँस्दै भन्छ । माछो जालमा पर्न लागेकोमा खुशी हुन्छ ।

“हजूर पनि कति बाठो होइसिन्छ । कहाँ बुवाको कुरामा मलाई अलमल्याएर कहाँ पुर्‍याइसिन्छ हैन < हामी आइमाइमान्छेलाई बुद्धु ठानिसिन्छ अनि फोहोर फ्याँक्ने कन्टेनर सम्झिसिन्छ हैन < अब हामी पनि बाठा भइसक्यौँ बुझिस्यो …. ।”

“तिमीलाई लाटी कसले भनेको छ नि मैयाँ । तिमी बाठी छौ र त मेरो घरको सारा परिपञ्च मिलाएकी छौ । तिमी नभए त म यो घरमा बस्ने कल्पना नै गर्न सक्दिन ।” प्रसंशाको चुली भर्दै भन्छ । अझै थप्छ – “मुवाँ जहिले पनि तम्रो कुरा गरिसिन्छ । सिर्जनाले दुःख पाई । बुवा काठमाडौं गएर बसिस्या छ । त्यसलाई हैरान भयो भनिसिन्छ, बुझयौ Û”

“हो त लोग्नेमान्छेको जात पो त्यस्तो त ! आइमाइले आइमाइको कुरा बुझछन् भनेको यही हो ।” माछो जालमा राम्ररी फसिसकेको थियो । ऊ पनि खुशी भई । अनि सम्पूर्ण स्वीकृति साथ सुम्पिदिई आफूलाई ।

अँध्यारोले घप्लक्कै कोठालाई निल्यो । तातो निस्वासले कोठा तात्यो । केही छिनपछिको परम्परागत जैविक प्रक्रिया पछि कोठामा सदाको झैं निस्तब्धता छायो । भोलि बेलुकासम्मको लागि अस्थायी सम्झौताले स्वीकृति पायो ।

Sarmila Khadka (Dahal)
Address : Sangit Chowk, Ithari, Sunsari

(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.