~विभोर बराल~
कतै शुभकामना कतै समवेदना छर्दैछु
जिउने नाममा औपचारिकता पूरा गर्दैछु
‘नमस्ते’, ‘धन्यवाद’ र ‘माफगर्नुस् है !’ को सहरमा
आत्मीयताविहीन सम्बन्धको जालोमा पर्दैछु
मनको आँगनीमा सपना-फूल फुल्न छाडेन
ओइलाएका फूलसँगै, म पनि थोरै मर्दैछु
प्रत्येक मनमा दन्कँदो छ शिखर चढ्ने आगो
पानी बनेर म हिजोआज, फेदी तिर झर्दैछु
आँसुको मूल फुटाउने जस उनीलाई जान्छ
भएर ‘विभोर’ फेरि आज त्यतै तिर सर्दैछु
– Tangal
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)