~साम्ब ढकाल~
पृष्ठभूमिमा अहम्को छाती बोकेका धवल हिमाल लहरै छन्
छेउछाउमै जीवनलाई गति बुझाउने झरना छङ्छङ खसिरहेछ
केही तल घमण्ड तेजोबध भएका अग्ला/होचा शृङ्खलाबद्ध/ शृङ्खलाहीन पहाडहरू छन्
तलतल फराकिला मन जत्तिकै समथर भूमि लम्पसार छन्,
त्यसमै लहलह अन्नका बालामाथि हावा बयली खेलिरहेछ
कतै पुग्न हतार, निकै हतारजस्ता लाग्ने नदीहरू वेग हानिरहेछन् युगीन पीडा बोकेर
चराहरू कावा खाइरहेको आकास कहिले धुम्मिएको कहिले खुलेको देखिन्छ
म एउटा वृहत् क्यानभास छेउ ठिङ्ग उभिएको छु ।
कोलाहल र हतासले मान्छे क्लान्त / भ्रान्त दुवै छन्
गुराँस आफ्नो रङ् उडेकोमा खिन्न छ,
रुखहरू पात झरेर खङ्ग्रङ्ग र निराश छन्
उन्मुक्त पन्छीहरू फडफडाएर फ्यात्त भुँइमा झरेका छन्,
र मुस्किलले जिजीविषाका चिंचिंचूंचूं चुच्चोबाट फुस्काउँछन्
आइमाईहरू गोरु जोतिरहेछन्/रुख र छाना चढिरहेछन्
लोग्नेमान्छेहरू हुँदा र नहुँदाको फरक छुट्याउन सकिरहेका छैनन्
पिँढीमा समरभूमिको ‘नोष्टाल्जिया’ बोकेर निस्लोट ज्वरोबाट उत्तानो छ –
एउटा भिक्टोरियाक्रस विजेता
म वृहत् क्यानभास छेउ उभिएको उभियै छु ।
मान्छेहरू साहस र आँटका धरहरा ठड्याइरहेछन्
मान्छेहरूको विजयको सूर्य डुबेको छैन,
मान्छेहरूलाई समयले ढाडस/प्रेरणाको धाप मारिरहेकै छ
क्षितिज क्रमशः खुल्दैछ
क्यानभासबाट मेरो नजर छुटेको छैन ।
अब म विमूढ/आश्चर्य / आश्चर्य सबै एकैचोटि भएको छु,
क्यानभासमा प्रयुक्त रङहरू रगतको पो छ,
क्यानभास रगतमा चोबलेर झिकेको भान हुनेगरि रक्ताम्मे पो छ,
धत्, सबै रङ रगतको रङसङ्ग पनि मिल्छ –
दिङमिङ के मान्नु के नमान्नू,
हिमाल/पहाड/जङ्गल/खेतखलिहान सबै रगत
माटो/ढुङ्गा/गोरेटो/चौतारोको के कुरा
जम्मै रगत, रगतै रगत !
को होला यो क्यानभासको रचनाकार !
को होला यो सिद्धहस्त चित्रकार !!
मेरो मथिङ्गलमा हलचल मच्चाइरहेको यो क्यानभासले
मनधरि बिथोलेको छ,
अझ यता आएर मलाई अस्थिर झन् अस्थिर बँचाइरहेछ ।
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)