~इशहाक हुसेन~
सुनचाँदीका आवरणले खूनीदारा छोप्नेहरू
मौका परे आत्मघाती धारे छुरा रोप्नेहरू
राष्ट्र प्रेमी न्यायप्रेमी भनाउँछन् आफूलाई
देशको इज्जत सुन-चाँदी डलरमा जोख्नेहरू
दिउसो भन्छन् बन्दगर धूम्रपान मद्यपान
साँझ परेपछि सँधै खोया बिर्के धोक्नेहरू
एक रथका दुइ पाङ्ग्रा नारी पुरुष समान भन्ने
नारी माथि अत्याचारका तीखा किल्ला ठोक्नेहरू
कोखामा दाँत उद्ध्याएर चिल्ला चाप्ला कुरा गर्ने
इमान्दार देखिंदैछन् सयौं झूठ खोक्नेहरू
इश्वरको सृष्टि भन्छन् घृणा गर्छन् मान्छेलाई
इशहाक तिम्ले बनाएको ढुङ्गे देव ढोग्नेहरू
Ishak Husen
Sahitiya Batika, Dumarbana-8, Bara
(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 46 | पुर्णाङ्क 89 | Baisakh-Jestha,2063)