~कौशिला रिसाल~
माया किन्ने यहाँ बजार हुँदा रैछन्
झुठो आश्वासन दिने हजार हुँदा रैछन्
मुटु दुख्दा झरेका नुनिला आँशुका
आफैँ तर्न नसक्ने जँघार हुँदा रैछन् ।
जनताको हितमा ऊ सरकार भएछ
हेर उसको रातारात दरबार भएछ
भ्रष्टाचारको सम्पत्तिले मालिक बनेको
ऊ भर्खरै राष्ट्रसेवकमा करार भएछ ।
मैले हेर्ने हर नजरमा तिम्लाई छानेकी छु
जिन्दगीको एउटै खुसी तिम्लाई ठानेकी छ ।
समयले भेट गरायो मीठो साथ मिल्यो
ढुङ्गा होइन र्हिदयलाई देउता मानेकी छु ।।
मैले प्रतिशोध र घमण्ड मनमा जगाइन कहिल्यै
यी पबित्र आँखा अरुको धनमा लगाइन कहिल्यै ।
मान्छे न हु, दुखाइरहे जहाँ गए पनि आफूलाई
रोए एकान्तमा, अरुको सामु आँसु बगाइन कहिल्यै ।।
जोगिएर हिड्न खुब सिकायो, मलाई गाउँले
सहरमा हैसियत राम्रै बिकायो , मलाई गाउले ।
कसरी सक्छु बिर्सन त्यो प्यारो गाउलाई
स्वार्थी दुनियाँमा सधैं टिकायो, मलाई गाउले ।।
आकाशजस्तै माथि उठ्नुपर्छ अब म
देशका खातिर समुद्रझैँ जुट्नुपर्छ अब म ।
घामजस्तै उज्यालो, विकास लिएर काखमा
गाउँको दुर् दुर् कुनामा पुग्नुपर्छ अब म ।।