~कमला सरुप~
तिमी म र हाम्रा हातहरुसँग
यो वस्ति गाउँ र शहरहरुसँग
म त आमालाई विदाइ गर्न सक्दिन
ववाको विदाईमा
तिमीलाई पत्र कोर्न पनि सक्दिन
भैगो, धेरै आँशु बगि सकेका छन्
आऊ रेखै रेखा कोरेर यो मेरो देशको सीमाना भरि
अनवरत यात्राकोलागि
एउटा कविता लेखौं ।
हर्के दाईको मृत्युमा
साहिंली आमाको मृत्युमा
सानाघरे ठुल्दाईको मृत्युमा
मेरो र तिम्रो संभावित मृत्यु भन्दा पनि पर उभिएर
अन्तहिन र कहिल्यै नमर्ने कविता लेख्न
मन र स्पन्दन लेख्नका खातिर
आऊ एउटा कविता लेखौं ।
अन्तहिन र अस्थिरता छिचोल्दै
यो वस्ति भरि, तिमी र तिम्रा हातहरुसँग
फेरि स्वभाविकताको लडाईं लड्न
फेरि अस्तित्वको लडाईं लड्न
सुनसान सडक विरुद्ध
धुम्म वादल लागेको आकाश विरुद्ध
फेरि दुवैका हातहरु नछुट्टिनकालागि
आऊ एउटा कविता लेखौं ।
यति टाढा आएर माया गर्नेहरुबाट
पीडा फेरि बल्झिनु हुदैन
यो त समानान्तर हुनु पर्छ
स्पन्दन भित्र बाँचेको मेरो माटोको कुरा हुनु पर्छ
आऊ मन मुटु र मस्तिष्क एक पार्दै
युद्धहरु विरुद्ध र मृत्युहरु विरुद्ध
सडकै सडक नाचेर
एउटा साझा कविता लेखौं
एउटा शान्ति अमर कविता लेखौंं ।।
मे ४, २००३