~सदानन्द अभागी~
राष्ट्रियताको कुरा गर्दा टोपी लगाउन पर्दैन प्रिया
दिलमा हुन्छ राष्ट्रियता पोशाकमा यो सर्दैन प्रिया
आडम्बरी राष्ट्रियता यो देशकै लागि घातक हुन्छ
कृतिम रुख रोप्यो भने सच्चा फल झर्दैन प्रिया
दिलको धडकन रहुन्जेल राष्ट्रियता रहन्छ नै
भावी लेखन टार्न खोज्छ्यौं, टारेर त्यो टर्दैन प्रिया
सत्य बोली बोल्नु पर्दा राष्ट्रियताको बहस गर्दा
मातृत्वले छताछुल्ल भावना कोही हर्दैन प्रिया
हत्या होलान् हिंसा बढ्ला आतङ्कको भुमरी पर्ला
बज्र पर्ला यो छातीमा मातृत्व प्रेम मर्दैन प्रिया
सन्धीखर्क २०६७÷८÷४ #राष्ट्रियता
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )