~बिभोर बराल~
कुहिरोमा रुमल्लिएको
त्यो चीसो पलको
मीठो सम्झना
अझै ताजा छ मनमा
आकासबाट चमचम गर्दै
वर्षिरहेका थिए हिउँका डल्लाहरू
कति सौम्य
कति शालिन
देखिएका थिए सेताम्मे बृक्षहरू
अनि त्यो गीत
जुन मौषमलाई हाँकदिँदै
तिमीले गुनगुनाएका थियौ
अझै ज्यूँदोछ मानसमा
मेरो आँखामा ज्योति बनेर
चम्किरहेकाछन् ती दृष्ययहरू
मनमा प्रेम बनेर
गम्केकाछन् ती यादहरू
तर अहिले
मौषम बदलिएको छ
सारा बृक्षहरू
लादिएकाछन् हरिया भद्दा पोशाकहरूमा
कुहिरो हटेपनि
कृत्रिम तुवाँलोमा जेलिएकैछ परिवेश
सुन्दैछु तिमी पनि ब्यस्त छौ रे
आगो सल्काउन
काकाकुल छातीमा डढेलो लगाउन
हो म मान्छु
म पनि क्रुद्ध थिएँ
त्यो मुटु कमाउने जाडोसँग
तर म मुटु जलाउने
आगोको हितैसी कहिल्यै थिइन
मैले त केवल
अलिकति न्यानोपनाको आशागरेको थिएँ
पिरतीको न्यानोपना
एकताको न्यानोपना
लास डढाई पाइने गर्मी कदापि होइन
तिमी आजकल भन्ने गर्छौ रे
‘आगो जीतको प्रतीक हो’
तर म त टाढा टाढासम्म
वर्तमानदेखि भविष्यसम्म
हार बाहेक केही भेटिरहेको छैन
विनाश बाहेक केही देखिरहेको छैन।
Bibhor Baral ,
Tangal, Kathmandu, Nepal
(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)