~रेणु राई~
मृत्यु, यो शब्द किन लाग्छ मलाई अति घृणा
जीवनको प्यासी छु, मेटाउने कहिले तृ्ष्णा
घाईते बघिनी झैं म गर्लम्म ढलेकी छु
उठेर हिड्ने चेष्टा म गरिरहेकी छु
कहाली लाग्दो सपनीले मलाई एक्कासी बिउँझायो
डरले कापिरहेको शरिर पसिनाले चुर्लुम्म भिजायो
ए, यो त निदाउँदा देखिने सपना पो रहेछ
दिउँसै देख्छु सपना, यो के अचम्म भएछ
समय बिते तर बिर्सन अझै सकेकी छैन त्यो दिन
हिंजै जस्तो लाग्छ मलाई नै दशा हर वक्त किन?
यहाँ हर दिन किन सन्ताप भई सताउँछ
इच्छा आकांक्षा सबै बाफ भई
किन बिलाउँछ
असल मानव नै हुँदो रहेछ दैवको प्यारो
भगवान् को काखनै लाग्दो रहेछ आमाको भन्दा न्यानो
टुक्रेको मुटु अब जोडिने के सम्भव?
हर वक्त आँखा रसाउँछ सम्झदा बितेका
तिता अनुभव ।
(स्रोत : Shrijana Dot Com)