कविता : भो मलाई चाहिंदैन घुम्ने कुर्सी

~शोभित नेपाल~

कसैले दान दिएको
बाहिरकाहरूले मान दिएको
‘असल छिमेकी’ ले पिठ्युँमा
धाप मारेर सम्मान दिएको
दुई ठाउँमा हारेकाले
लाजमर्दो उठान पाएको
दुई ठाउँमा जितेकाले
दुःखलाग्दो बैठान खाएको
भो चाहिंदैन मलाई घुम्ने कुर्सी !!

हारेकाहरूको जय गाउने
जितेकाहरूलाई धारेहात लाउने
आफ्नै वाहन ढुङ्गाले फुटाउने
कर्मचारीलाई शत्रु भकुरे जसरी
गाला चट्काउने
बलात्कृत सुन्तलीहरूलाई
न्याय नदिएर अर्को बलत्कार गर्ने
‘उल्फाको धन फुपुको श्राद्ध’
राष्ट्रको पैसाले गोजी भर्ने
राज्यको धन आफ्नो खातामा सार्ने
चोरलाई चौतारोमा बसाउने
साधुलाई शुलीमा चढाउने
भो मलाई चाहिंदैन घुम्ने कुर्सी !!

ठूलाका अपराधलाई संरक्षण गर्न
तलका हाँसो हरण गर्न
मूल्य र मान्यताको अवमूल्यन गर्न
नीति र नियमको अपहरण गर्न
अमेरिकामा गाई खाएर
वाग्मतीमा चोखिए जस्तै
काला करतुत टुकुचामा पखाल्न
सर्वहाराको ब्याज लगाएर
सुकुम्बासीका बस्तीमा गोली चलाउन
आफ्नै कार्यकर्तालाई प्रताडना दिलाउन
विवश बनाएर पासोमा चढाउन
कुर्सी जोगाउन छिमेकीका रछान चहार्न
यसको रक्षा गर्न हात मल्दै
एकाबिहानै विदेशी महलका छिंडी धाउन
मलाई त फुर्सदै छैन
त्यसैले भो मलाई कुर्सी नै चाहिंदैन !!

दुनियाँको सराप खाएर बस्नुभन्दा
कालो चरित्रमा मुनिको खरानी घस्नुभन्दा
कोखामा दाँत भएको ज्यानमाथि
बुद्धजस्तो पहेलो चिवर धर्नुभन्दा
चिल्लो कारमा कतै सवार हुँदा
कालो झण्डा र जुत्ताको सेवन गर्नुभन्दा
राज्यको धनमा भतेर लाएर
आसेपासेको प्रिय बन्नुभन्दा
मलाई त गाउँनै प्यारो छ साथी
म त विद्रोही मान्छे
खाली खुट्टा जुलुशमा दौडिनमै
मलाई आनन्द छ साथी
त्यसैले पनि हो
भो मलाई चाहिंदैन घुम्ने कुर्सी !!

– काठमाडौँ

(स्रोत : सोलुअन्लाइन डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.