कविता : तिमीले सिकाएको क्रान्ति

~खगेन्द्र विष्ट~

बन्दुकका नाल तेर्साएर आफ्ना
अभिष्टताहरु खोज्दै
पहाडका कुनाकाप्चा र तराइका गाउँमा
अधिकारका नाममा निर्दोषका
सम्पतीमाथिको पहिलो हमला
तिमीले सिकाएको क्रान्ति।

कलमहरु च्याप्ने हातमा
केही राता झण्डाहरु
शान्तिका उद्घोष गर्ने मुखहरुमा
जिन्दावाद र मुर्दावादका नाराहरु
ममतामयी मुटुमा कठोरताका आभासहरु
तिमीले सिकाएको क्रान्ति।

नाङ्गाहरुलाई नङ्ग्याएर वर्वर यातनाहरु
सामन्तवादको विरोधमा उनकै जुठोहरु
बाँडेर अधिकार र क्रान्तिको नाराका उत्थानहरु
दशक विताएपछिका केही अभिष्टताको प्राप्ति
अनि, फेरी सामन्तले निर्माण गरेका तीनै आलिसान महलहरु
तिमीले सिकाएको क्रान्ति।

बलिरहेका सडकहरु, भताभुङ्ग भएका विकासहरु
फेरी अधिकारका नाममा उठिरहेका अर्का प्रतिक्रान्तिहरु
अनुहारका नाममा, जातका नाममा, रङ्गका नाममा
ड्याम्मडुम्म चलिरहेका गोलीहरु, लडिरहेका लासहरु
अनि, अमूल्य जिन्दगीको तोकिएका सहिदे रकमहरु पनि
तिमीले सिकाएको क्रान्ति।

– कालिकोट

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.