~कृष्ण प्रसाई~
अभ्यस्त भैसकेका छन् अखबारका पानाहरू-
सहज बनाउन दिनहुँ रगतका खबरहरूलाई,
कति सस्तो भएको छ मृत्यु !
कति बोधो भएको छ समवेदना ! !
आफू हराउँदा आफै खोज्न सक्दैन ।
आफ्नो अन्तेष्टिमा आफैं रुन पाउँदैन ।
हँसिया चलाउने हातहरूले-
बन्दुकको माला भिरेदेखि नै
आजभोलि प्रत्येक एउटा बिहान-
सहस्र शहीदहरू जन्माएर उदाउँछ –
र बिधवा आमाहरूमा मध्याहृन हुँदै ,
सिंदुर पुछिएको गोधूलि भएर अस्ताउँछ ।
कति सहज हुनसक्दो रहेछ अन्त्येष्ठि,
कति पर्राई हुनसकेको सद्गति ,
आफ्नै नाल गाडिएको ठाउँमा-
अकाल मृत्युभोग भोगिरहेछ ।
मेरी प्यारी छोरी याकिसा ,
मैले अबुझ ठाने पनि-
तिमीसँग अझै समवेदनाहरू बाँकी नै रहेछन् ,
रगताम्मे भएका धर्तीहरू देखेर-
लासहरूको पहाडमा,
रगतहरूको आहालभित्र-
मान्छेका विवेकहरू त्यति रुझेका छैनन्-
जति तिमी आफ्नो खेलाउना फाट्दा रुझेकी हुन्छेऊ ।
एउटा चकलेट्ले किन्नसक्ने त्रि्रो खुसी,
बारुदका बादलहरूमा रुमलिएर
गोलीहरूले परेड खेलेको यो बेला-
कहिले अनाथ हुन्छ थाहा छैन ।
चिताउनै नसकिने –
सोच्नै नमिल्ने-
कस्तो मृत्युले डसेर,
को कतिखेर-
बेवारिसे शहीद हुन्छ थाहा छैन ।
चारैतिर सुनसान र चकमन्न,
विचार शून्य, ज्ञान शून्य-
मृतःप्राय बस्तीहरूमा,
रगतको मात लागेर-
बुद्ध रोएको बेला छ यो ,
चाहेर पनि अर्थीहरुलाई-
काँध हाल्ने कोही छैन,
कठै भन्ने कोही छैन ।
विवेकले आत्महत्या गरेको यस बेला,
ए मेरा आफन्तहरू हो !
ए मेरा अग्रजहरू हो ! !
ए मेरा सगोत्रीहरू हो ! ! !
मेरो घरको बाटो भएर हिंडदै नहिंड,
समवेदना मरेको छ अहिले –
म कसैलाई चिन्नै सक्दिनँ , ।
(स्रोत : नेपालीकविता डट कम)