कविता : भक्षक रक्षक

~सुमिना अभिलाषी~

दाजु ,
मलाइ याद छ बालापनको त्यो दिन !
दशैको बेला
टीका र जमरा थालभरी राखेर
हजुरलाइ पनि मेरो आडमै राखि
आमाले आशिर्वाद दिदै गर्दा
अक्सर यहि भन्नुहुन्थ्यो ,
भोलि म रहुँला नरहुँला
बाबु बहिनिको सधै रक्षा गर्नु है !

अनि दाजु ,
मलाइ त यो पनि याद छ
त्यो बेला निशब्द भएर हजुर
निकै स्नेह पुर्बक
मलाइ आफ्नो काखमा लिनुहुन्थ्यो
त्यतिबेला मेरो बाल मस्तिष्कले
निश्चिन्त भएर
एउटा अत्यन्तै मीठो गर्बको अनुभूति गर्थ्यो ।

थाह छ दाजु ?
अस्ति भर्खर
आफ्नै साथिकै दाजु द्वारा
एउटा बहिनि बलात्कृत भइन्

भन्नुहोस् न दाजु
म कसरि स्विकार गरू ?
दाजुहरूको यो बीभत्स रुप !

तर मलाइ भन्नै मन छैन
दाजुहरू , बाबाहरू , हजुरबुबाहरू , गुरुहरू
बलात्कारी हुन भनेर
मलाइ बहुत दुख लाग्छ यो बिचलित हुदै गरेको
सम्बन्धको पवित्रता देखेर
अझ क्रोध उत्पन्न हुन्छ
सम्बन्धको अस्तित्व धमिल्याउने
र धरापमा पार्ने त्यस्ता कैयौं जन्तु हरू संग !

शिक्षक ,
मेरो आदर्श हजुर !
मेरो ज्ञानको श्रोत !
आमाको काखबाट ताते – ताते गरेर
दुई पाइला चालेपछी
सबै भन्दा पहिले म आइपुगेकी हुँ
हजुरकै सरणमा !

मैले भुलेकी छैन
क बाट- कलम भन्ने पहिलो वर्ड
हजुरकै देन हो !

मेरो घर पछिको दोश्रो घर
जहाँ म निडर भएर
ज्ञानको भण्डार भर्न सकुँ !
स बाट – सदाचार भन्दै सत्मार्गमा लामबद्ध हुन सिकुँ !

हेर्नोस न सर !
अस्ति भर्खरै
शिक्षक द्वारा बिद्यार्थी माथी दुव्र्यवहार भयो रे
शिक्षालयमै !
जहाँ सदाचार पढाइन्छ त्यही दुराचार
यो कस्तो बिडम्बना हो सर ?

अब आफै भन्नुहोस्
म हजुरलाइ कसरी बिश्वास गरुँ ?
र कुन आधारमा पठाउँ ?
भोलि मेरा सन्तानहरूलाइ
हजुरको सरणमा र त्यस्ता शिक्षालयहरूमा !

काका हजुरले दिएको मिठाई खान
डर लाग्ने भएको छ आजकल !
बेहोसिको दबाइ खुवाएर आफ्नैबाट
बिचबाटोमै लुटि
अलपत्र पारिएका छ्न् रे कति चेलिहरू !

आगनमा ठुलो सर्प देख्दा ,
हक्कानिएर त्रासले निसास्सिएर
म भाग्दै- भाग्दै हजुरको आँचल सम्म आइ पुग्थें !

सर्पले भ्यागुता निलेको मलाइ मन पर्दैन थियो !
म निडर भएर हजुरको काखबाट
सर्प धपाउन आदेश दिन्थें !

हेर्नोस न हजुरबुबा !
अस्ति भर्खर
वृद्ध हजुरबुबा बाट नाबालिका नातिनी
बलात्कृत भएको
अत्यन्तै नमिठो समाचार पढें !

त्यही दिन देखि मेरो मस्तिष्क थिरमा छैन
हृदय ठेगानमा छैन
म फेरि हक्कानिएर त्रासले निसास्सिएकी छु !

बाबा ,
हजुर त मेरो सबै भन्दा प्यारो मान्छे
मलाइ सबै भन्दा अधिक माया गर्ने !
हर समस्याबाट छुटकारा दिलाउने !

हरेक समस्या म सम्म आउनु पुर्व
हजुरबाट गुजृन्छ !
किनकि
म हिड्ने बाटोमा अघि हजुर हुनुहुन्छ !
म अप्ठ्यारोमा हुँदा
आफ्नो प्राण दाउमा राखेर
मलाइ बचाउन आइ पुग्नु हुन्छ !

तर आजकल अनायासै
मेरो मुटु थर्थराउन लागेको छ बाबा !

म स्विकार्नै सकेकी छैन
रक्षकहरू भक्षक बन्दै गरेको यो क्रूर सत्यता !
मालि आफै फूलको बिनासक बनेको
तिक्त यथार्थता !
म स्विकार्न सकेकी छैन बाबा !
दानवताले मानवता चिथोरेको भयावह चेहेरा !
म हेर्नै सकेकि छैन बाबा !
स्नेहहरू यतिबिधी हिंश्रक बन्दै गरेको
घिनलाग्दो रुपान्तरण !

म यो पल निकै भयभित छु !
त्राशमा थर – थर काँपेकी छु !
अभाव खड्किएको छ
एउटा सुरक्षीत आँचलको !
जहाँ म निस्फिक्री त्रासमुक्त भएर
सुरक्षाबोधले
केही क्षण मीठो संग सुस्ताउन सकुँ !

बाबा !
म कहाँ जाँउ ?
म आँउ कि न आउँ हजुरको काख सम्म !
हेर्नोस न यो अहिलेको समयले त
हजुरको आँचल पनि
सशंकित र दुशित पो बनाएको छ !!

2018- september – 6
“सुमिना अभिलाषी”
बुटवल – रुपन्देही

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.