कविता : मलाई उत्पन्न गराउने संयोगहरूप्रति

~डा. कविताराम श्रेष्ठ~

योजनाहीन मान्छेको जुनी पाएको छु ।
न मेरो पूर्वयोजना थियो यसमा ।
न मातापिताकै माया ।
न कसैको चाह
न भगवनकै वरदान ।
काकतालीले म यहाँ उत्पन्न भएँ ।
तथापि म भन्दिनँ कि
म कसैप्रति पनि अनगृहित छैन ।
मनोरञ्जनवै क्रममा किन नहोस्,
नजानेरै वा थाहाबेगर नै किन नहोस्,
मलाई उत्पन्न गराए
एउटा संयोगले ।
संयोगवश मेरा मातापिताले ।
मैले आखिर यो जीवन पाएको छु ।
एउटा अनमोल जीवन ।
त्यसैले
म अनुगृहित छु,
पिताका हजारौँ-लाखौँ शुक्रकीटमध्ये
काकतालीको एक शुक्रकीटप्रति ।
म अनुगृहित छु
माताका सैयुँ सैयुँ डिम्बहरुमध्ये
काकतालीको एक डिम्बप्रति ।
अनि म अनुगृहित छु
ती शुक्रकीट र डिम्बको संयोगको निशेचनप्रति ।
अझ, म अनुगृहित छु
मातापिताका शरीरप्रति ।
उहाँहरूलाई उत्पन्न गराउने सम्पूर्ण वंशप्रति ।
अझ थपेरै भन्नुपर्छ,
म अनुगृहित छु
मानववंश र पृथ्वीप्रति,
पृथ्वी उत्पन्न गर्ने ब्रहृमाण्डप्रति ।
अनि सारांशमा
मलाई उत्पन्न गराउने सबैसबै संयोगहरुप्रति ।

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.