~गोपालप्रसाद रिमाल~
मेरो हरघडीमा जपना,
तिमी आज सपनामा आए !
यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा
म आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, म अललिउँला,
केही छैन,
तिमी मेरो पुग्ने ठाउँझैँ एक्कासि देखा मात्र परे,
तिमी आज मेरो सपनामा आए !
सपनामा तिमी सुरुसुरु आउन सक्छौ,
न पर्खान, न पहरा-
बिपनाको पखेटा सपना न हो !
चाहन्छौ भने उडेर आऊ न, को रोक्छ?
मन लागे तिमी दुष्यन्त भएर आऊ,
म शकुन्तलाझैँ फूलको सुसारमा हुन्छु।
अथवा कथाका राजकुमारझैँ देशभूमण गर्दागर्दै
राक्षसले लुटिएको सुनसान शहरमा आयपुग,
एकलासको बगैँचामा सुतिरहेकी मलाई एक्कासि फेला पार,
मलाई बाबु-आमा भन्न कर परिरहेका राक्षसहरुबाट
छुटकारा दिन कम्मर मस,
म राक्षसहरुलाई आँसुले छकाएर
तिनीहरुको काल पत्ता लगाइदिन्छु,
तिमी उनीहरुलाई मार, मलाई हर !
अथवा मलाई झुक्यानमा पारेर यस्तो बेलामा आइपुग
जब म मेरो लाज र सङ्कोचको
पातलो घुम्टो र सप्को हाल्ने बहनासम्म गरुँ,
बल गनै नसकूँ !
तिमी आऊ-
बिपनाको हराएको मणि नै सपना न हो !
पृथ्वी पनि त निद्राजस्ता गहिरा समुद्रको पानीमा
स्वगैको दौलत चन्द्रमा र तारा पाउँछिन्।
मेरा राजा !
मेरा परेला निद्राले भारी हुँनै लाए,
तिमी आज सपनामा आए।