~दीपा राई पुन~
आँतभेऊ कै नग्नता
भरि बजारमा लिलाम सुन्दा
म तिमीप्रति
एउटा फूल सम्झेर
मुस्कुराएकै छु ।
अजम्मरी हृदयवत प्रेम
पत्रै-पत्र खोलेर
मन्दिरमा होस्
या, अन्तस्करणको बागमा
नाङ्गिएर
शतरुपाको सृष्टि तिमी
रूप दृष्टि खोज्दै ।
मेरो नग्न महसुसको बतास
सर्वाङ्ग पखेटा खोलेर उडिरहन्छ
नछोई पछ्याई रहन्छ तिमीलाई
भेट्न सकेको छैन
‘जिउँदो अन्तश्चेतना भेटेँ ।‘-
मात्र भन्छ ।
यो मन वट-वृक्ष
पाखामा नेवारा झ्याङ्ग झैँ बाँच्छ
डाँडामा गुराँसघारी हाँस्छ
बगेकै छ जीवन तीरैt-तीर
मायाले भिजेको छ बलेँसीको दर्केझरी
उम्रिरहन्छ- सम्झनाको चरीअमली
बाँझो र आली डिलमा
फुली रहन्छ उन्यौँ भएर कतै !
अविचारको नग्नता बिस्कुन सर्वत्र
मनको स्वच्छ स्वीकारोक्तिमा ।
– हाल, बोस्टन, अमेरिका