~लामा दोर्जे पासाङ~
म कति लेखूँ
विक्षिप्त मनहरूका वेदनाको कथा
चुहिएका छानाहरूको, बगाइएका बस्तीहरूको
बर्दिया र जाजरकोटको निको नहुने घाउहरूको
अनगिन्ती कथा
कथाहरू पढ्नु पनि त पर्छ
म कति पढूँ
भोकाएका पेटहरूको रोटीको कथा
बाँझिएका खेतहरूको, नखोजिएका बुटीहरूको
अपहेलित अनाजहरूको, आयातीत उपजहरूको
विवादास्पद कथा
पढ्दै जाँदा आत्मबोध हुन्छ
म कति सहूँ
नदी छेवैको उजाड जमिनको कथा
विदेसिएका युवाहरूको, एक्लिएका गाउँहरूको
भुलिएका संस्कारहरूको, बिगारिएका सम्बन्धहरूको
असह्य कथा
यहाँ कथाहरूकै चिया गफ चल्छ
कति गफिऊँ
मिचिएको सिमानाको देशभक्ति कथा
सहनशील मेचीकालीको मेटिँदै गएका विरासतहरूको
इमान जमान बेच्नेहरू,तथाकथित अगुवाहरूको
लाजलाग्दो कथा
यस्तै यस्तै कथाहरू
कति भनिए, कति सुनिए
उस्तै उस्तै कथाहरू
कति लेखिए कति पढिए
अनि अनगिन्ती यस्ता कथाहरू
गुपचुप रहिरहे
यसैगरी चलिरहेछ यहाँको नियति कथा
वर्षौंदेखि उसैगरी
खोइ कहिले फेरिएलान् यहाँका कथाहरू
म व्यग्र छु सुन्नलाई
अलिक भिन्न कथाहरू
लेख्नलाई
सुख शान्तिका कथाहरू
पढ्नलाई
दिगो विकासका कथाहरू
अनि महसुस गर्नलाई
उच्च गरेर यो शिर फुलाएर यो छाती
हाम्रो अटल आस्थाको ‘चन्द्र सूर्य’को
स्वाभिमानका कथाहरू ।
–बनेपा, काभ्रे
(स्रोत :सौर्य अनलाइन)