~दामोदर पुडासैनी ‘किशोर’~
फरक हुनुपर्छ प्रत्येकको पहिचान। बेग्लै परिभाषामा बाँच्दै छन्, रङ्गीन पहाडहरू जिजीविषाका।
मैले सानैदेखि देखेँ- पहाडहरू भनेपछि रूखबिरुवाहरू हुन्छन् नै। हरियोपरियो र खेतीपाती हुन्छ नै। सके पोखरी र कुलाहरू होलान्, घाँस-स्याउला गर्नेहरू गीत गाइरहेका होलान्, बाली लगाउने, हुर्काउने र बाली काट्नेहरूको उछिनपाछिन भइरहेको होला। जति नजिक भयो, त्यति हरियो र जति टाढा भयो, त्यति नीलो होला पहाड। पहाड भएपछि बेँसी अवश्य हुन्छ नै। मान्छेहरू लेक-बेँसी गरिरहलान्- पहाडलाई आधार बनाएर। त्यो सबै सोचाइले पल्टा खाएको छ मुस्ताङमा।
जोमसोमबाट उत्तर र पूर्वतिर लागेपछि बेग्लै पहिचानमा बाँचेका छन्, पहाडहरू। माटो र ढुङ्गाबाहेक केही छैन पहाडमा। छुरो माटो र परिधानहीन ढुङ्गाहरूको उचाइ मात्र भएपछि पहाड निख्खर पहाडबाहेक अरू केही हुँदोरहेनछ।
अन्यत्रका पहाडहरूमा रूखबिरुवाले बनाइदिन्छन् अनेकौँ आकृति। मुस्ताङमा पहाडले नै बनाउँछ पहाडलाई चाहिने सबै कुरा। पहाड आफैँ बनेको छ- असीम कलाको अनुपम आकृति। कौरव र पाण्डवहरूको युद्धचित्र बोकिरहेछ पहाडले। राम र रावणको जत्था हुर्काइरहेछ पहाडले। कयौँ कुस्तीहरू चलिरहेछ पहाडमा। कयौँ खेलहरू चलिरहेछन् पहाडमा। जनावर, मान्छे, सागर, सगर, धर्ती र समयका सबै खेलहरू देखिन्छन्- कुमारी पहाडहरूमा। केही नभएर सबै देखिनु, सबै भएर केही नदेखिनु एउटा विचित्र शक्ति छ, मुस्ताङे पहाडहरूमा। कुमारी पहाडहरूमा हिउँको चुम्बन परेपछि बादल बुट्टामा परिणत भएका छन्, मुस्ताङे पहाडहरू।
गाउँहरू हेर्नु छ हामीलाई। गाउँमा मान्छेले गरेको उन्नति हेर्नु छ हामीलाई। गाउँमा समयले फेरेको रङ हेर्नु छ मलाई। हामी मुक्तिनाथ नजिकैको रानीपौवामा खाना खाएर झोङ गाउँतिर लागेका छौँ। मुक्तिनाथबाट उत्तर-पश्चिमतिरको अग्लो पहाडको काखमा छ, झोङ गाउँ। पारि खिङ्गा गाउँतिरबाट र झारकोट गाउँबाट हेर्दा झोङ गाउँ गाउँ जस्तो देखिँदैन। पहाडमै टाँसिएका उडिल्ला ढुङ्गाहरू जस्तो देखिन्छ अथवा खोँचमा उम्रिएको काठे च्याउको जत्था जस्तो देखिन्छ। माटाकै गारो, माटाकै जोडाइ, माटाकै छानो भएपछि पहाडकै प्रतिमूर्ति देखिने भै’गो घरहरूलाई।
मुक्तिनाथमा रूखहरू छन्, छिपछिपे जमिन छ र जमिनमा उभिएका छन्, किसिम किसिमका वनस्पतिहरू। झोङ त्यस्तो छैन। खल्वाट टाउको जस्तो नाङ्गो छ। बलिष्ठ मान्छेको नाङ्गो पिठ्युँ जस्तो छ। बच्चालाई जीवन दिन चौबन्दी खोलेकी सुत्केरी आमाको लैनो स्तन जस्तो छ। कतैकतै कोठीमा उम्रेका रौं जस्ता उभिएका छन् ससाना रूखहरू। कतै कतै चमकदार फुलीले जस्तो टाढैबाट मोहनी लगाउँदै छन्- ढुङ्गे पर्खालले घेरिएका रङ्गिला फापरबारीहरूले।
निख्खर नीलो आकाशलाई छेडुँला झैँ उभिएका छन् सुनौला र रक्तिम पहाडहरू। झारकोट भन्दा पूर्वतिरबाट संसार नै ढाकुँला जस्तो गरेर हुत्तिएथ्यो हामीतिर एक डङ्गुर बादल। कागखोला नतरेरै फर्कियो ऊ मुक्तिक्षेत्रतिरै। बादलको गतिमा लेखेको देख्दै छु म जीवनगीत। जन्म, मृत्यु, हाँसो, रुवाइ, उज्यालो, अँध्यारो, उकालो, ओरालो, भञ्ज्याङ, देउराली, लेक, बेँसी सबैका आकृति र सुस्केरा बोकेर हिँडेको देखिन्छ। वरिपरिका नग्न पहाडहरू ठ्याक्कै बादल जस्तै छन्- जस्तो बनाउन मिल्ने, जस्तो देख्न र भोग्न मिल्ने। बादलको गति र पहाडको आकृति दुवैले घचघच्याइरहन्छ कल्पनाशीलतालाई र बनाइरहन्छ भावुक। बादलको मझेरीबाट झिक्न खोज्छु म कविता र टाँस्न खोज्छु पहाडमाथि कोलाज बनाएर। रित्तो कागजमा बरर्र बर्सन्छन् अक्षरहरू।
पहेँलो हावा र नीलो हावाको दोहोरीमा कल्मषहरू निवृत्त बन्दै जान्छन् मनबाट। निष्सङ्ग बन्न खोज्छु म। एउटा गहिरो चकमन्नता तोड्न खोज्ने। कि निलो र पहेँलो हावाको दोहोरी आवाज छ, कि परपर झोङ गाउँ र छेङ्गुर गाउँतिरबाट भुकेका कुकुरहरूको जाँगर छ, कि ठाउँ सर्दै स्वर छोड्दै उड्ने चराहरूको चमक छ, कि हामी चढेकै गाडीले निकालिरहेछ कर्कश आवाज।
नीलिम र सुनौला हावाको लयमा गाडी चढेर भन्दा पैदल हिँड्नुको आनन्द निरविच्छन्न हुन्छ।
छेङ्गुर गाउँ छोडेर अलि पश्चिमतिर पुगेपछि भेटिएको छ- झोङ गाउँ। सडकमा होइन, गोरेटामा बलजफ्ती गुडिरहेछ गाडी। त्यो साँघुरो र कमलो कप्यानबाट जुनसुकै बेला घुसमुटिन सक्छ गाडी भन्ने आशङ्काले छोडेको छैन।
मान्छेले मान्छे भेटेपछि मात्र रमणीय बन्छ संसार।’झोङ गाउँ रमाएको छ तपाईंलाई भेटेर’- गाउँको अघिल्तिर गल्छेडोमा गर्दनभरि खादा ओडाइदिनुभयो झोङका ‘घेम्बा रिम्बोछे’ केभी गुरुङ र समाजसेवी झेवेङ सिङ्गी गुरुङ, छिरिञ्जिन गुरुङ र धोर्जे गुरुङहरूले।
उहाँहरू र हामीबीचमा ‘टासी ढेलै’ साटासाट भयो। माटा नै माटाका ढिस्का जस्ता छत्तीस घर छन् झोङ गाउँमा। ‘झोङ गाउँ पूरैमा गुरुङहरू बस्छौँ, खासमा गुरुङहरूचाहिँ होइनौँ हामी। तिब्बततिरबाट झरेका हामी लोवालाई गुरुङ बनाए यहाँका शासक र प्रशासकले। गुरुङ नलेखे नागरिकता नपाइने भनेपछि परिवर्तन गर्नै पर्यो थर। नाममा हिन्दूकरण गरियो। जस्तो कि मेरो खास नाम केमी हो। नागरिकतामा धनबहादुर गुरुङ लेखियो। उहाँको झेवेङ सिङ्गी हो। नागरिकतामा कमलबहादुर गुरुङ लेखियो। नाम-थर जस्तो व्यक्तिगत पहिचानसमेत लोप गराएपछि कहाँ बाँच्छ मान्छेको स्वतन्त्रता?’ घेम्बा रिम्बोछे केमीको घरमा पस्नेबित्तिकै गुनासो पोख्नुभयो सबै जनाले। हामी सरकारी कर्मचारी थाहा पाएर गुम्साहटलाई फुकाउनुभएको हुनुपर्छ उहाँहरूले। नाम मात्र रहनुपर्छ मान्छेको। थरले त विभाजन गरेको छ मान्छेलाई उँच, निचमा। राज्यले प्रायोजित थरमा मान्छेलाई समेट्न खोज्नु अपराध हो भन्यौँ हामीले।
‘एक पटक एउटा अञ्चलाधीशले भने- तपाईंहरूको गाउँको नाम झोङ होइन, ‘सुन्दर बस्ती’ राख्नुहोस्, हामीले मानेनौँ। पहिचान त परिस्थितिले जन्माउने हो। एउटा संस्कृति फैलाएर अर्को संस्कृति मार्नु पनि त अपराध हो नि, होइन?’ आक्रोश पोखियो झेवेङ सिङ्गीबाट।
पहिचानलाई प्रोत्साहित गर्नु स्वतन्त्रता हुर्काउनु हो। पहिचान मास्नु विस्तारवादी नीति हो। भाषा र संस्कृति निमिट्यान्न पारेपछि हलचल गर्न गाह्रो पर्छ मान्छेलाई।
केमीको घरको तल्लो तलामा चौँरी गाईका बाच्छाहरू बाँधिँदोरहेछ। माथिल्लो तलामा बसेका छौँ हामी। साँघुरा भए पनि सफा छन् कोठाहरू। कोठामा बुद्ध र दलाइ लामाका तस्बीरहरू राखिएका छन् र दुवैलाई खादा ओढाई धूप सल्काइएको छ। फूलको रूपमा चढाइएको छ- धुपीका मुहुनाहरू।
घेम्बा रिम्बोछे केमीले परिचय गराउनुभयो परिवारको। केमी एकाउन्न वर्षको, उहाँकी पत्नी छिमी भने बैसट्ठी वर्षकी हुनुहुँदोरहेछ।
‘ए तपाईं भन्दा एघार वर्ष जेठी हुनुहुँदोरहेछ तपाईंकी जहान?’ उत्सुकता थियो यादवजीको।
‘मेरो दाइ मेरी जहान भन्दा दुई वर्ष मात्र कान्छो हुनुहुन्थ्यो। उहाँ बित्नुभयो। म र दुई भाइ छौँ’, केमीको भनाइबाट थाहा भयो बहुपति प्रथा कायमै रहेछ त्यतातिर।
केमीको तुलनामा निकै बुढी देखिनुहुन्थ्यो छिमी। छिमीले हामीलाई चौँरी गाईको घिउको टीका लगाइदिनुभयो। हाम्रो आरोग्य र दीर्घजीवनका लागि मन्त्र जप्नुभयो र बस्नुभयो हाम्रै माझमा।
‘यो खायो भने लेक लाग्दैन, जिउ तात्छ, थपीथपी पिउनुहोस्’, केमीकी जेठी छोरी छिरिङ डोल्माले भरिएका ग्लासहरू र एक ठूलो थर्मसभरि भोटेचिया राखिदिनुभयो। हिमाली जडीबुटीबाट तयार गरिएको हुँदा मगमग वासना आइरह्यो, भोटेचियाको। चौँरीको घिउ र सिधेनुनले नुनिलो लाग्दैथ्यो चिया। रस भरिएपछिको मैमत्त जोमसोमे स्याउ जस्ता चमकदार थिए, डोल्माका गाला। मुक्तिनाथमाथितिरका भीरहरूमा चरिरहेका नाउरका जस्ता चञ्चल र निर्दोष थिए, डोल्माका आँखाहरू। नीलगिरितिरबाट उफ्रिँदै झरेको खरायो जसरी उफ्रँदै काममा जुटिरहिथिन् डोल्मा। मुस्ताङे माटो जस्तो खैरो केश भएकी सुन्दरी केशाका गीतहरू मात्र होइन, उनको कोमल अनुहार पनि कयौँ पटक हेरेको छु मैले। नायिका क्रिस्टिन स्टेवार्टको कालो कपाल तलतिरको अनुहारले पटक पटक अभिनयमा भुलाएको छ मलाई। काली सुन्दरी लेसली जोन्सको चुलबुले अनुहार र संसार भुलाउने आवाजले पटक पटक घचघच्याइरहन्छ मलाई। ती सबैको सुन्दरता र अभिनयलाई माथ गरेको छ, डोल्माको मृदुल मुस्कान र जुनेली उद्भाषले। उनका हरेक शब्दहरूमा निस्दूल प्रेमका उन्मेषहरू बगिरहेको आभास हुन्छ। उनी पनि हाम्रै अघिल्तिर बसिन्। छिरिङ डोल्मा होइन, ध्यानमग्न बुद्धको प्रतिरूप देख्दै छु म उनलाई।
अक्षरहरूको अझै राम्रो उपस्थिति रहेनछ झोङ गाउँमा। ‘अक्षर म पनि चिन्छु अलिअलि तर अरू गाउँका दुई जनाले धेरै नै पढेको छ’, केमीजीसँग गाउँ चिन्न खोज्दै छौँ हामी।
‘कति पढेका छन् तिनीहरूले?’
‘एक जनाले आठ, अर्कोले छ।’
त्यसैलाई धेरै पढेको भन्दा हामी हाँस्यौँ। ‘गाउँमा रोजगारी छैन। जौ, उवा, फापर फल्ने जग्गा धेरै छैन। हिँड्न सक्नेबित्तिकै कोही लद्दाख जान्छ, कोही दिल्ली, कोही काठमाडौँ जान्छ, कोही तिब्बत। काम नभएको ठाउँमा टिक्न सक्तोरहेनछ मान्छे। अलिअलि कमाएपछि गाउँ फर्कन्छ, कमाइ सक्छ, फेरि काममै जान्छ। बाँच्नका लागि जहाँसुकै भए पनि काम र खुसीका लागि आफ्नै ठाम चाहिने रहेछ। काम र आफ्नो ठामबाट विरक्तिएको मान्छेको मनलाई गाह्रो रहेछ सम्हाल्न’, केमीजीका कुरा चाख लागेको छ सबैलाई।
‘सबै जम्मा भए चार सय जनाजति हुन्छन् यो गाउँका। अहिले खोज्ने भए मुस्किलले चालीस जना पनि भेटिँदैन। बेसहारा बूढाबूढीको थलो भएको छ गाउँ’, होलो धोर्जेजीले खोल्नुभयो यथार्थ।
‘करुको रोटी खानुहुन्छ, पकाउन लगाऊँ?’ आतिथ्यता केमीजीको। दिन ढल्किसकेकाले रोटी नपकाउन भन्यौँ हामीले।
‘सरकारले सडक ल्याइदिने हो भने हामीकहाँ पनि खैरे आउँथ्यो, विकास हुन्थ्यो, बरु हामी जनश्रमदान गर्थ्यौं, अलि छिटो गरिदिनुपर्यो हजुर!’ विदेशी पर्यटक भित्र्याउने गाउँलेको मनसायलाई हाम्रो सामु राख्नुभयो छिरिन्जिन दाइले। स्याउ र अङ्गुर खेतीका लागि नर्सरी सुरु गरिसकेको, तरकारी खेती सुरु गरिसकेको र गाउँका बच्चा विद्यालय पठाउन थालेको कुरा उठे सबैबाट।
‘माटो भएपछि केही न केही फल्छ, लगाउने अन्न र फल चिन्न सक्नुपर्छ, अब अरबको मरुभूमिले त फलाउन थालिसक्यो फल र अन्नका झुप्पाहरू। हामीले पनि फेर्नुपर्छ अब झोङको अनुहार। यी सेता डाँडामा फलफूलका लर्कन लाग्नेछन् कुनै दिन’, दाइहरूको उत्साह बाक्लिँदै थियो र फैलिँदै थियो।
हाम्रो कुराकानी रमाइलो मानेर सुन्दै हुनुहुन्थ्यो छिमी दिदी। हाम्रो गिलास रित्तिनेबित्तिकै थपिहाल्नुहुन्थ्यो भोटे चिया। बादलबाट निस्केको घाम झैँ खिसिक्क हाँस्नुहुन्थ्यो कहिलेकाहीँ।
जिल्ला विकास समितिले खनेको सडकले झोङ गाउँ पुग्न सजिलो भएको भने सबैले। हामी केमीजीको घरबाट बाहिरियौँ। घरहरूमा भर्याङ होइन, एककाठे लिस्नु मात्र राख्ने चलनले उक्लन-ओर्लन गाह्रो पर्ने हामी जस्ता बाहिरबाट जानेलाई।
तल्लापट्टि दुई घर र अलिपर आधा भत्केको एउटा ठूलो घर रहेछ। त्यही घरहरूको माझमा भुइँमै बसेका छन्- पन्ध्र/बीस जना। माझमा एउटा मान्छे लमतन्न सुतेको छ। एउटा मान्छे मातृभाषाको केके मन्त्र भट्याउँदै घरि त्यो मान्छे वरिपरि घुम्ने, घरि पानी छर्कने, घरि रक्सी छर्कने र घरि बुद्ध भगवानको मूर्ति ढोग्दै छ। उसको उफ्राइ धेरै माथिसम्मको देखिन्छ। बसेका दर्शकहरू ऊप्रति असाध्यै झुकिरहेछन्।
‘यो के गरेको? केमी र अरूलाई सोधेँ मैले।
‘यो सुतेको मान्छे बिरामी भएको धेरै भइसक्यो। उहाँ यो गाउँको ठूलो धामी हो। फुकेर र तन्त्र गरेर बिरामीको उपचार गर्दै हुनुहुन्छ’, झेवेङ सिङ्गीले सजिलो पार्नुभयो भाषान्तरलाई। हनहनी ज्वरो आइरहेको रहेछ, पेट कुटुकुटु खाइरहेको छ भनेर अजारीबजारी गर्नेरहेछन् कहिलेकहीँ। धामी भने देवता र उनको कुरा भइरहने र उनले आँटे देवतालाई भनेर सबै रोग निको पारिदिने फूर्ती लगाउँदा रहेछन्। जेजे दान, दक्षिणा र भेटी चढाउन परे पनि बिरामी निको पारिदिन प्रार्थना गर्दा रहेछन् उपस्थितहरू।
हामीलाई देखेपछि अलि सशङ्कित बने धामी। ‘लौ भोलि हेरुँला, आजलाई यति नै’ भनेर घन्टी बजेपछि गुरुले कक्षा छोडे झैँ गरे धामीले। मैले छेकारो काटेँ र च्याप्प समातेँ उनको हात।
‘केही क्षण तपाईंसँग एक्लै कुरा गरूँ न’, आग्रह मेरो।
‘मेरो फुर्सद छैन, म हिँडिहाल्छु’, तर्कन खोज्छन् उनी।
‘म पनि धामी हुँ क्या, त्यसैले कुरा गर्न आँटेको’, आफ्नो परिचय ढाँटेरै खोतल्न खोजेँ उनलाई। धामी भन्ने ठानेपछि बल्ल तयार भए उनी मसँग भेट्न। बडेमाको ढुङ्गाको पछिल्तिर उभियौँ। हाम्रो कुराकानी राम्रै जम्यो।
‘हेर्नुस् न, बाउबाजे तन्त्रमन्त्रमा लागेकाले आफू लागियो। बेकारमा लाग्या जस्तो भइरहेछ अचेल’, मनको कुरा खोले झैँ बोलेँ।
‘मलाई पनि त्यस्तो लाग्छ। अरू पेसा नभएकाले यस्तो धामी बनियो। कुनबेला साँचो कुरा थाहा पाएर गोद्छन् जस्तो लाग्छ। अस्ति पुटाक गाउँमा अस्पताल लान लागेका एक बिरामीलाई नलैजानू, म ठीक पारिदिन्छु भनेँ। झारफुक गरेँ, तन्त्रमन्त्र गरेँ, भूत मन्छेँ। भुतुक्कै भयो बिरामी। अस्पताल लान ठिक्क परेकालाई रोक्ने भनेर ठोक्नुसम्म ठोके मलाई। पहिला भए धामी झाँक्री भनेपछि टेढो आँखाले हेर्न डराउँथे। अब कसैले टेर्दैन। डर हराएपछि भर पनि गर्ने रहेनछन् कसैले। आश र डरको भरमा चलाएको धामी पेसाले पल्टा खाने भयो अब।’
देवता भेटेको, भूतप्रेत भेटेको, बोक्सीसँग लडेको, भिडेको, तातो पन्युँले डामेपछि डाकिनी भुतुक्कै मरेको कुरा बताएका थिए धामीले गाउँलेसँग। सुरुमा झाँक्री विद्या सिक्दा वनझाँक्री भेटेको, वनझाँक्रीको तालुमा दुई फिट लामो सिङ रहेको। दाराहरू एक फिट लामा रहेका, शरीर लामो रौँले ढाकिएको हुने चित्रण गरेथेँ गाउँलेहरूसँग। त्यही वनझाँक्रीले सातदिनसम्म घनघोर जङ्गलभित्र रूखको हाँगामा राखेर झाँक्री विद्या सिकाएर पठाएको भने उनले। जस्तो रोग पनि निको पार्न सक्ने, जस्तो शत्रुलाई पनि मार्न सक्ने, आफूले चाहे मन्त्रले नै कसैको पनि आँखा फुटाइदिन सक्ने, हातखुट्टा र शरीर नचल्ने बनाइदिन सक्ने, मन्त्रले मान्छेलाई चरा, बाँदर, भेडा बनाइदिन सक्ने गुड्डी हाँकेका थिए।
धामी झाँक्रीले नै सबै कुरा गर्न सक्ने भए शत्रुमाथि विजय हासिल गर्न यति धेरै खर्च गरेर सेना किन चाहियो देशमा? मन्त्रले नै आगो उत्पन्न गर्न सक्ने, पानी पार्न सक्ने हो भने विज्ञानका यति धेरै स्रोत साधन जुटाउन किन पर्थ्यो? संसारमा आजसम्म कसले मन्त्रद्वारा पानी पारेको छ, आगो निकालेको छ? तन्त्रमन्त्र, जादूटुना छ भनेर हातको सफाइ र ट्रिक गर्नेहरूको भने कमी छैन कहीँ पनि। प्रकृतिको विरुद्ध कसले के गर्न सक्तछ? गर्छु भन्छ भने त्यो ट्रिकको जादूगरी मात्र हो।
‘मैले त तन्त्रमन्त्र कहीँबाट सिकेको छैन। सिकेको भनेर झुक्याउने गरेको मात्र हुँ। तपाईंले अघि वनझाँक्रीबाट सिकेको भन्नुभयो, साँच्चै हो?’
‘कहाँ सिक्नु नि! हाम्रा बाजेले त्यसै गरी झुक्याए, बाले त्यसै गरी, म त्यही सिको गरेर यहाँसम्म आइपुगेँ। मन्त्रले जे पनि गर्न सकिन्छ भन्नुपर्छ। कसैले गर भनिहाल्यो भने टार्नुपर्छ, कुनै न कुनै बहानामा।’
अन्धाको देशमा आँखा नभए झैँ गरेपछि, लङ्गडाको देशमा खुट्टा खोच्याए झैँ गरेपछि, चोर, डाँकुको अघिल्तिर पुरानो चोरको व्यवहार दर्शाएपछि माया पाइन्छ, मर्का प्रस्टिन्छ। चोरको अघिल्तिर प्रहरी होइन, चोरको अभिनय गर्न सकियो भने पत्ता लगाउन सकिन्छ वास्तविकता।
भूतप्रेत देखेँ भन्नेहरू मानसिक रोगी हुन्। मानसिक रोगीले नै विश्वास गर्दछन्, भूतप्रेत, जादुटुना, पिशाच, डंकिनीका चरित्रहरू। झोङ जस्ता पवित्र र चोखा ठाउँहरूमा कसले मिसाइदिन्छ अन्धविश्वासको मन्द विष?
‘मलाई त धामीझाँक्री पेसा गर्न पटक्कै मन छैन। कति झुक्याउनु अरूलाई? थाहा पाए भने छाला काढेर नुनचुक लगाउँछन्’, डराए झैँ बोलेँ म।
‘तपाईं त जागिरे हुनुहुँदोरहेछ, झाँक्री नबने पनि चल्छ। मैले के गरी खानु, के गरी परिवार पाल्नु?’, उनलाई पनि ग्लानि रहेछ।
‘अरू नै काम गर्नुस् तपाईं। खेतीपाती गरे भो, ज्याला मजदुरी गरे भो, भारी बोके भो, ठेक्कापट्टा गरे भो। गर्ने काम त धेरै पाइन्छन्। परिश्रम गर्यो भने फल पनि राम्रै, मन पनि राम्रै। अब झुक्याउने पेसा छोडौँ बुझनुभो? मचाहिँ आजैबाट छोड्छु’, प्रतिज्ञा दर्शाएँ मैले।
‘म पनि छोड्छु त्यसो भए’, ठीक ठाउँमा आए उनी। बिरामी भेटे अस्पताल लैजाने सल्लाह दिने निधो भयो। शरीर सफा राख्ने, सन्तुलित खाना र सन्तुलित निद्रा, व्यायाममा लाग्न प्रोत्साहन दिने सहमति भयो। हामी छुट्टियौँ। देवता, पितृ, भूतप्रेत, धामीझाँक्री, झारफुक, पूजापाठ यस्तैयस्तैमा सारा जीवन सखाप पारेको देख्छु म त्यतातिर।
ओरालो लागेको घामको पहेँलो किरणले पहेँलो लेदोले छोपे झैँ देखिएका छन्- खिङ्गा, झारकोट र मुक्तिनाथ माथितिरका पहाडहरू। हिउँ नै पनि सुनको लेदो झैँ जमेको देखियो, पूर्वतिर थोराङ पासको चेप भन्दा माथितिर।
घुर्मैलो पिठ्युँमा उदास बालक बोके झैँ छ, झोङ गाउँ। भर्खर भस्मे खनेर सम्याउन बाँकी उडिल्लो ड्याङ जस्तो देखियो, झोङ गाउँ। गाभिनु हावाले उन्नत्तोदर बनाउन खोजेजस्तो गहिराइ र शान्तिको मौन सङ्गीतमा सल्बलाइरहेछ, झोङ गाउँ।पहेँलो संसारमा कलेजी वस्त्रहरू पहिरेर जीवनको अर्थ खोज्दै छन्, झोङवासीहरू।
‘हामीकहाँ माओवादीहरू पनि आएनन्, सरकारी सेनाहरू पनि आएनन्, द्वन्द्वकालमा। केही नभेट्ने भएपछि आउँदोरहेनछ कोही पनि। स्वार्थविना कहाँ चल्छ संसार!’ फर्कने बेलामा पसलमा बसिरहेका बूढा बाले बताउनुभएको कुरा। द्वन्द्वको असर सबैभन्दा कम परेको जिल्ला हो, मुस्ताङ। हामीलाई प्लस पनि चाहिएन; माइनस पनि चाहिएन; हाम्रो उज्यालो हामी नै ल्याउँछौँ भनेर एकजुट भए मुस्ताङे।
‘कागबेनी र मुक्तिनाथमा मात्र बसाउनुभएन घुमन्तेहरूलाई। सडकलाई अलिकति सोझ्याइदिनुपर्यो सरकारले। हामी फापर र उवाको ढिँडो पकाउँछौँ, एप्पल जुस र तोरा जुस पियाउँछौँ। जिम्बु र ओखर चखाउँछौँ। टिमुरको छोप, एप्पल सुकुटी, जाम र ब्राण्डी कोसेली पठाउँछौँ’, मिङ्मा र पासाङ दाइहरूको सोच रहेछ- झोङलाई झरिलो बनाउने।
‘कागबेनी, मुक्तिनाथ, झोङ र झारकोटमा केवलकार चलाउनुपर्छ, हिउँदभरि। यी हिमालहरूमा स्की खेलाउनुपर्छ, अझै ठूला होटलहरू निर्माण गर्नुपर्छ। त्यसपछि झोङले पनि निकाल्नेछ, झरिझुट्ट झरक’, काम गर्नका लागि सोच पहिलो कुरा हो, त्यही पलायो सबैको मन्थनमा। कुमारी धर्तीमा हिम्मतले सपना फुलाउने कुरा चल्यो केहीबेर। मान्छे जुर्मुराएपछि धमाधम दिन्छिन् प्रकृतिले। हामीले जाँगर चलायौँ र विचार निकाल्यौँ भने सजाउन सकिनेछ जीवनलाई, उज्यालोले।
‘हामीसँग मेसिन छैन, राम्रो बाटो छैन, उद्योग र कलकारखाना छैन, कसरी पाउन सकौँला हामीले काम, दाम र माम?’ ह्लामु दिदीको प्रश्न असाध्यै चोटिलो लाग्यो। गाउँहरूमा श्रमको क्षमता छ तर सोचको बाटो नभएकोले अलमल छ।
मैले ‘द ग्रेट डिक्टेटर’ चलचित्रका दृश्यहरू सम्झिएँ। त्यहाँ हास्य अभिनेता चार्ली च्याप्लिनले मेसिन भन्दा बढी हामीलाई मानवताको र चलाखी भन्दा धेरै सज्जनपनको आवश्यकता छ भनेका थिए। यन्त्रले उत्पादन त धेरै गर्दछ तर थोरै मालिकलाई अधिक फाइदा र धेरै श्रमिकलाई कम फाइदा पुर्याउँछ। हामीलाई सबैलाई फाइदा पुग्ने कामको खाँचो छ। यन्त्र र कारखानाबाट वाक्क भएका मान्छेहरू झोङ जस्तो गाउँमा आएर पवित्र प्रकृतिको रसास्वादन गर्न लालायित हुन्छन्। धर्तीलाई पवित्र राखेर धेरै गरौँ भन्ने सल्लाह गरेँ मैले झोङवासीसँग।
हामी झोङको मध्यभागमै बाटाको छेउमा उभिइरहेछौँ। अब आकाशको रूप फेरियो। मेघाच्छन्न भयो आकाश। पहेँलो बतासको रङ र गुण दुवै फेरियो। क्षणभरमै बतास यति क्रूर बन्यो कि चिसाले टोक्न थाल्यो हाम्रो शिरदेखि पाउसम्म। हल्लन थाल्यो हाम्रो मुटु।
हाम्रो दाहिनेतिरबाट दुई महिला हावासँग धावा बोल्दै हल्लँदै आए र देब्रेतिर मोडिए। पुरुषहरू मातेको धेरै ठाउँमा देखिएको हो तर महिलाहरू त्यति सारो मातेको त्यहीँ देखियो। तिनीहरू लठारिँदै आए, हल्लिँदै आए। हामीलाई उनीहरूकै भाषामा धेरै कुराले जिस्क्याए। हाउभाउले यौन अङ्ग देखाउँदै यौनका कुरा र यौन आमन्त्रणका कुरा पनि गरे। त्यहाँ भएका स्थानीय तीन पुरुषले केही भन्ने आँट गरेनन्। मुन्टो निहुर्याएर नुन खाएको कुखुरो झैँ बसिरहे।
‘ती महिलालाई सम्झाउनुपर्दैन?’ उनीहरू पर गएपछि पुरुषहरूलाई घचघच्यायौँ।
‘केही बोले त पिटिहाल्छन् नि! गाउँलेहरू धेरैले कुटाइ खाएका छन् यी दुईओटीको’, एक पुरुष डराउँदै बोले।
नसामा मात्तिएर निस्फिक्री प्रकृतिसँग लुकामारी खेल्न पाउनु ठूलो कुरा हो। ‘टाढा पुग्नु छ, दिन ढल्किसक्यो, हिँड्यौँ है हामी’, बिदा माग्यौँ झोङका दाज्युभाइ, दिदीबहिनीसँग।
‘विकास लिएर आउनु होला, हाम्रो सत्कार स्वीकार्न आउनु होला’, घेम्बा रिम्बोछे र होलोले बिदाई गर्नुभयो। हाम्रो गाडी घस्रँदै झर्यो ओरालो।
‘ऊ: यो घरमा छोरी जन्मिछे’, उमेशजीले देखाउनुभयो दायाँपट्टिको घर। खित्का छोडेर हाँसिरहेथे छ महिला। एक पुरुष घरअघिल्तिर चिन्दै थिए, ढुङ्गाहरू। छोरी जन्मे रातो रङ र छोरा जन्मे सेतो रङ दलेर तीन ढुङ्गाको चाङ लगाउने चलन रहेछ त्यतातिर। ढुङ्गाको रङअनुसार छोरा या छोरी जन्मेको भेउ पाउन सजिलो रहेछ।
अब छुक्साङ गाउँसम्म पुग्नु छ हामीलाई। पुटाक गाउँलाई दायाँ पारेर लागिँदै छ उत्तरतिर। राता ढुङ्गाहरू र पहेँलो माटाको संसारमा चिप्लेकीरा जसरी बढ्दै छ गाडी। थाकलका काँडाहरू चपाउँदै छन् कतैकतै, सेता र काला भेडाहरू। गति र खुवाइमा जीवनरस खोज्दै छन् तिनीहरू। बायाँतिर कालीगण्डकी शान्तसँग ओरालो लाग्दै छ। कालीगण्डकीलाई नै माथितिर फर्काइदेलान् झैँ सुसाउँदै भीरहरू कोपर्दै छन्, हावाका क्रूर काँडाहरूले। हाम्रो गाडी घचेटाइमा पर्छ कि हावाको भन्ने आशङ्का छ हामीमा।
उकाला मोडहरू छन्। रक्त-चन्दनका ठेउकाहरू लडे झैँ देखिँदै छ संसार। रक्तिम, उबडखाबड र लजालु मोडहरू। सुख्खा र नाङ्गो स्यानो समस्थलीलाई विशाल पर्खालले घेरिएको रहेछ। ढोकामा लेखिएको रहेछ- ग्रिन ताङ्वे। स्याउ फार्म रहेछ त्यो। फार्मका कर्मचारीहरूले स्वागत गर्नुभयो ढोकामै। जमिन पूरै सुख्खा, फुस्रो र बलौटे छ। निश्चित दूरीमा स्याउका मसिना बिरुवाहरू हुर्कँदै छन्। त्यही फार्मसम्म पानी पुर्याउनका लागि सहयोग गरेको रहेछ, जिल्ला विकास समितिले। ‘राज्यले अलिकति होस्टेमा हैँसे गरिदिने हो भने यी देखिएका सबै डाँडालाई हरियालीले छाउन सकिनेछ, स्याउ, अङ्गुर र अरू फलफूल उत्पादनले देशको मजबुती बढाउन सकिनेछ’, फार्मका कर्मचारीहरूमा उत्साह थियो, अदम्य।
हिउँ पर्नका लागि मात्र होइनन्, यी पहाडहरू। मान्छेले टाढैबाट हेर्नका लागि मात्र उभिएका होइनन्, यी हिमालहरू। माटोमा जाँगर र बिउ दिन सक्ने हो भने फलाउन सकिन्छ- सुन-चाँदी भन्दा धेरै महत्त्वका अन्नहरू। अप्ठेरो ठानेर सधैँ अलग राख्यौँ हामीले हिमाललाई। दूध दिन ठिक्क परेको गाईलाई नदुहेपछिको गतमा राख्यौँ सधैँ हामीले हिमाललाई। ग्रिन ताङ्वे देखेपछि- ‘आऊ हामीलाई सुमसुम्याऊ तिम्रा हातहरूले र खोतल सम्भावनाका असङ्ख्य केस्राहरूलाई’ भनेर चिच्याइरहे झैँ लाग्यो वरिपरिका सम्पूर्ण हिमाल र पहाडले। नबुझेपछि हीरा पनि कीरा बनेर मिल्कन्छ।
ग्रिन ताङ्वेबाट उत्तर लागेपछि स्यानो खोला तरेर ओरालो झर्छ सडक। लुरुलुरु सडकको पिछा गर्छौँ हामी।
नाङ्गा पहाडहरूको साम्राज्य अझ गाढा बन्दै छ। पहाडभरि ओडार र गुफाहरू देखिन्छन्। मान्छेले कोरेका जस्ता, कुँदेका जस्ता र खोपेका जस्ता कलाहरू छरिवरि छन् पहाडमा। प्रकृतिजत्तिको सबल र सक्षम कलाकार अरू कोही पनि छैन संसारमा। पहाडभरि ढुङ्गा-माटाका छोर्तेनको आकार देखिँदै छ, चैत्य र मन्दिरको रूप देखिँदै छ, युद्धको छनक देखिँदै छ, आमसभाको स्वरूप भेटिँदै छ। कल्पना गरेका जेजे देखिँदै छ। पहाडका अमूर्त कलाहरूले कल्पनाशीलता थप्दै छ, मान्छेलाई।
टाढैबाट कालीगण्डकी भन्दा अलिक माथितिर देखियो, छुक्साङ गाउँ। हरियो भरिलो देखिन्छ छुक्साङ। स्याउ फार्महरू छन्। गहुँ, जौ र मकै उमार्ने पाटा र गराहरू छन्। बैँसका हरिया वृक्षहरू हल्लिइरहेछन्। खच्चरको चहलपहल देखिन्छ, भेडाका बथानहरू चल्मलाइरहेछन्। उत्तरतिरको सतीभित्ताबाट चर्दै ओरालोतिर झर्दै छन्, सत्रओटा खिरिता नाउरहरू। कलाकारले चित्रलाई अझ सुन्दर बनाउन भर्खरै टाँसेको सुन्दर कोलाज जस्तो लाग्छ त्यो दृश्य। नाउरका उच्छट्ट आवाज र ढुङ्गामा हाँगा कोरल्न सक्ने दमदार हावाको उज्जण्ड स्वरको अन्वितिमा उज्जीवन फैलिँदै छ, ढुङ्ग्याने उचाइहरूमा। मान्छेको स्पर्श पाएपछि सलबलाउँछन्, वनस्पति र पशुहरू। पशु र वनस्पति हुर्कने ठाउँमा मात्र फुर्केर बाँच्छ मान्छे भन्ने प्रमाणित गर्दै छ, छुक्साङले।
छुक्साङ नपुग्दै उत्तरबाट दक्षिणतिर फालहालेको छ, दूधधारा जस्तो कञ्चन नर्सिङ खोला। हुत्तिँदै गएको छ, कालीगण्डकीसम्म। एउटा झोलुङ्गे पुल हल्लिरहेछ नर्सिङ खोलाको विघ्ननाशक बनेर। त्यसले थेग्न सक्तैन अब उपल्लो मुस्ताङसम्म आवतजावत गर्ने चापलाई। सयौँ वर्षपछिको परिस्थिति विचारेर बनाइनुपर्छ अब ठूला पुलहरू। पुल निर्माणको प्रगति बढाउनुपर्ने सुझाव दिएँ, इन्जिनियर र निर्माण व्यवसायीलाई।
पारि छुक्साङपट्टि बाक्लो छ बस्ती। वारिपट्टि तीन घर र एउटा प्रहरी चौकी छ। एउटा रेस्टुरेन्टमा नशा लाग्ने र नलाग्ने सबै कुरा पिउनेहरू छन्, दस बार जना। डोनट टोक्ने, पाउरोटी लुछ्ने र चाउचाउ हुल्नेहरू पनि कम छैनन्। हामीले पनि चिया पियौँ र केही दाइहरूसँग मन खोलेर कुरा गर्यौँ।
‘हिउँ जस्तै सफा हुन्छ हिमालतिर बस्नेको मन। जति तल झर्यो, त्यति फोहोर र दुर्गन्धित हुन्छ मान्छेको मन। फोहोर टुप्पामा अड्दैन नि, झरिहाल्छ खोल्सीतिर! त्यस्तै हो’, पहाड र तराईमा बस्नेहरू बढी धूर्त हुन्छन् भन्ने लागेको रहेछ नोरग्यान लामा दाइलाई।
‘मन त मान्छेअनुसार हुन्छ नि, ठाउँअनुसार हुन्छ र दाइ? त्यस्तो के भयो र दाइ?’ दाइको मनको खिल कोट्याउन खोजेँ मैले।
‘अहिले पो मुस्ताङ र माथिल्लो मुस्ताङतिर विदेशी आउन थाले। पहिला बेनीबाट उकालो लागेपछि होटल थिएन। मुक्तिनाथ दर्शन गर्न आउनेहरू घरघरमा बास माग्थे र रात बिताउँथे। बास माग्न आउनेलाई पाहुना मानेर स्वागत सत्कार गर्थ्यौँ हामी। बीस/बाइस सालतिरको कुरा हो। तनहुँको एक डफ्फा र काठमाडौँको एक डफ्फा हाम्रो घरमा बस्यो। हामीले दाउरा, तरकारी दियौँ। सुत्ने ओछ्यान दियौँ। घरमा आरामसँग बस्न दियौँ। उता आउँदा भेट्नू भनेर ठेगाना दिए। हामी इष्ट हो नि भनेर सम्झाए। त्यही वर्ष छोरी बेस्सरी बिरामी पर्यो। काठमाडौँको अस्पतालमा जचाउन लैजानुपर्ने भयो। सडक थिएन। हिँडेरै काठमाडौँतिर लागेँ। तनहुँमा पुगेँ। ठेगाना पत्ता लगाएँ, इष्ट भन्नेले चिन्दिनँ पो भने! यस्ता थाक्से कति आउँछन् कति भने! काठमाडौँमा पनि पत्ता लगाएर भेटेँ। उनीहरूले नचिनेको बहाना गरे। गएको भदौमा मेरो घर छुक्साङमा तपाईंहरू बसेको होइन भनेँ। उल्टो उनीहरूले गन्हाउने भोटे नकरा, गइहाल यहाँबाट भनेर लेखेटे। इन्तु न चिन्तु बिरामी छोरी लिएर पाटीमा बास बसेँ। छोरी कहिल्यै नआउने गरी त्यहीँबाट बिदा भई। मेरी छोरी मरी, लास उठाउन त केही मद्दत गर्नुहोस् भनेर फेरि उनीहरू सामु गएँ। उनीहरूले यो छुन नहुने थाक्सेलाई धपाइहाल यहाँबाट भनेर हप्काइदप्काइ गरे। रुँदै फर्किएँ म। यता आउँदा हाम्रै ओछ्यानमा सुत्ने, हाम्रै चुह्लोमा खाने, इष्ट भन्ने, उता नचिने झैँ गर्ने, गाली बेइज्जती गर्ने मान्छेहरू देखेर घृणा लाग्छ मलाई’, तीतो अनुभव रहेछ नोरग्यान दाइसँग। सम्पन्नतासँगै स्वार्थ बढेको र मानवता हराउँदै गएको अनुभव साटासाट भयो त्यहाँ।
ठाउँले होइन, स्वभाव र संस्कारले स्वार्थी बन्छ मान्छे, भनिदिएँ मैले।
सूर्य थकित देखियो। आकाशको नीलिमालाई क्वाप्लाक्क निल्न खोज्यो उत्तरतिरबाट फैलिएको बादलले। डाँडाकाँडा सबै छोप्न खोज्यो कुहिराको जमातले। क्षणभरमै रिसाएकी प्रेयसीको अनुहार झैँ देखियो- नर्सिङ खोलादेखि कालीगण्डकीसम्मका बस्ती, खेत र बारीका आकृतिहरूमा।
हामी फर्कियौँ जोमसोमतिर।
ध्वाँसो घोलेजस्तो निष्पट्ट अन्धकारमा भेटिएको तिरी गाउँलाई बोलाएनौँ हामीले। कालीगण्डकीमाथिको कल्लोल आवाजसँगै मान्छेको जीवन सुमसुम्याइरहेको एक्लेभट्टीसँग भलाकुसारी भएन हाम्रो।
जोमसोममा होटल माउन्ट ब्रिजभित्र छिर्दा नब्बे वर्षकी आमा बैंसमा बेनीमा होटल चलाउँदा व्यहोरेको दुःख बताउँदै हुनुहुँदो रहेछ बुहारी सुनकुमारीलाई। ‘म थकाली केटी, त्यतिखेर सबैले असाध्यै राम्री भन्थे। छब्बीस वर्ष बेनीमा होटल चलाएँ। पचास पैसामा एक छाक मासुभात ख्वाउँदा पनि राम्रै फाइदा हुन्थ्यो। अझ बढी लिएको भए हुन्थ्यो। त्यतिखेर कसैलाई ठग्नुहुँदैन भन्ने विश्वास थियो। मान्छे सोझा थिए। सामान सस्ता थिए। अहिले सपना जस्तो लाग्छ। कसैको सामान वा पैसा भेटे गाउँको मुखियालाई बुझाइन्थ्यो। मुखियाले सम्बन्धितलाई बुझाइदिन्थे। कसैले ठगेर खाँदैनथ्यो। अहिले सहर डर नै डरको जङ्गल बनेको छ।’
भित्रपट्टि खाने पिउनेको जमघट रहेछ। अँगेनामा आगो ताप्दै टुकुचे ब्रान्डी र एप्रिकेट ब्रान्डीले थिचेको एक्सिलेटरको तालमा सात भाइ र दुई बहिनीले निकै बेर गाइरहे-
‘जोमसोमे बजारमा, बार बजे हावा सरर
ए हजुर.., घर हाम्रो पोखरा’
जूनको उज्यालो बोकेर नीलगिरि उभियो मेरै निधारको माथिल्तिर। हिमरङले उद्दाम बन्छ मन। सुन्दर संसारमा उभिएको एउटा आलिङ्गित आनन्दको गहन हावाको चक्रवात भित्र्याउँछु म कोठाको झयालबाट।पर कताकता हिमवृक्षभरि प्रतिबिम्बित भइरहेछन् स्मृतिका अनुपम रश्मिहरू।
‘मामा खाना खान तल आउनूस्’- ढोकामा उभिएकी छिन् भाञ्जी श्वस्ती। उनको अनुहारभरि हल्लिरहेछन् जूनका उष्म उच्छवास र हिउँको उन्मत्त व्याकुलता।
जोमसोम पूरै ढाकियो हल्का कुहिराले। कुहिरोसँगैको अन्वितिमा मनको चेतनालाई फेरि कोट्यायो हिमज्योतिबाट निस्केको चन्द्रमाले। समय सुतेको छैन, कहिल्यै सुत्ने छैन, अदृश्य तरङ्गमा ब्युँझिइरहनेछ निरन्तर।