कविता : सन्देह

~रामगोपाल आशुतोष~

सफलताको पहाड झरेर
पीडाको नदी तर्नु
आकाश बिछ्याएर छातीमा पाताल ओढ्नु
विश्वासको छाताबाट
छलको छुरी मुटुमाथि तपतप खस्दा
रगत जमेको घाउ सिएर बाँच्नु
कठिन हुँदो रहेछ
अचानो जिन्दगी र चूपीको कथा बुन्नु

यतिबेला
म किंकर्तब्यविमूढ उभिरहेको छु
त्यही गणतन्त्रको पूर्वसन्ध्यामा
जहाँ मेरो नाम गएको छ
मलाई टेकेर तिनै ठालुहरू
जसले उनेको अक्षरका जञ्जिरहरूमा बाँधिएर
अढाई शताब्दीसम्म चिच्याइरहेँ
मेरो देश खोई ??? खोई मेरो देश ???

मेरो भाषाको व्याकरण फेरेर
मेरो जिब्रोमा जञ्जिर कसेर
पुस्तकमा मेरै तस्बिर राखेर
परिभाषामा रूपको नेल र अनुहारको बनोटमा
अट्टहास हाँस्ने आगन्तुक शब्दहरू
मेरा तत्सम शब्दहरूमा तत्पुरुष समास खडा गरेर
आयातित तद्भव शब्दहरू
प्रत्यय लगाएर मेरो नामसँग
उभिएको पाउँछु उपर्सग भएर सदनमा

मलाई थाहा छैन उनीहरूले
दुःखका अजस्र असिना छिचोल्दै
हिमालजडित
धुजाधुजा ढाकाटोपीले पसिना पुछिरहेको
मेरो कविताको विम्ब बुझला नबुझला !!!

समयको बहाव, दुःखको पहाड
र पीडाको नदीलाई गोडमेल गर्दै फलेको
खलामा सुकेको अन्नपात खुवाउँदै हर्काएको
मेरो परिभाषा बोकेर जाने आगन्तुक शब्दहरूले
मेरो कवितालाई न्याय गर्ला नगर्ला !!!
उत्साहको खलामा छरपष्ट अन्नपात बटुल्दै
खट्टे भुटेर बाटोको सामल बनाई पठाएका
निरासाको शहर
आलिशान महलमा हुर्केका प्रत्ययहरू
सुकिलो लुगामा, आफूझैँ आयातित अत्तर भिरेका
बर्तमान सत्तासाझेदारहरूलाई थाहा होला नहोला
मूल्यबृद्धि, अभाव र अतिवृष्टिले सुकाएको मेरो खलामा
कसरी अन्नको भकारी घट्दै गयो
मेरो तत्सम शब्दमा
कसरी प्रत्यय लाग्दैछ, उपर्सग लाग्दैछ
कसरी तद्भव अक्षरहरूले च्यापिएर
मेरो खलाको अन्न
मेरो नाउँको परिभाषाजस्तै भूगोल
रोइरहेको होला कुन्ठित भएर सभ्यता

युगको अन्तरपछि म सोचिरहेछु
जुगको यो एकदिनमा
छैटौँ यो किताबलेखनमा पनि
के पहिलेजस्तै तत्सम शब्दहरू
खलामा सुक्दै घटेको अन्नजस्तै हराएको परिभाषा
तद्भव, उपर्सग र प्रत्ययको अतिक्रमणबाट बच्न
हातमा भिजा र मनमा कम्ब्याटको सपना बोकेर
पिठ्यूँमा बालुवा र पत्थरको भार सहँदै
दौडिरहेका होलान् उकाली ओराली ???

या भुकिरहेका होलान्
कोठाभित्र बसेर शहरी कुकुरझैँ !!!
(गाउँका कुकुरहरू बाहिर आएर भुक्छन्)

या चलाइरहेका होलान्
घ्याम्पोभित्र लुकेर तरबार !? !?

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.