~हरिप्रसाद भण्डारी~
तारा चन्द्र यिनै थिए नि नभमा बग्थे नदी कल्कल
यस्तै शैल तलाउ वृक्ष झरना यस्तै थिए जङ्गल
चम्कन्थे रवि व्योममा तर यहाँ सारा अध्यारो थियो
कालो शासनको समस्त जगमा छायाँ परेको थियो ।
– ० –
केही कर्मठ सन्तती र बलिया यो देशका रक्षक
आफ्नो देश बचाउने प्रण गरी पारेर ठाडो शिर
गर्जे हाँक दिदै डटे समरमा उत्साहको भेलमा
‘मर्छु किन्तु म मर्न दिन्न जननी नेपाल’ भन्दै यहाँ ।
– ० –
‘बैरीलाई भगाउँदै जतनले रक्षा गरी देशको
आफ्नो स्वत्त बचाइ गौरव अनि झण्डा र यो देशको’
भन्थे रे- ‘तरवार बज्री शिर यो टुक्रा परे तापनि
हाँसी हाँसी म जाउला जननी यी नेपाल बाचून्’ भनी ।
– ० –
रातो रक्त छचल्कियो शरीरमा अल्छीपना दौडियो
यस्तो शाहस सामुमा दनुजता कापेर थर्थर् भयो
पक्री ब्यर्थ रिसाइ सत्य नचिनी अन्धाहरू वैरिए
चोखो राष्ट्रिय भावलाई सहजै फाँसी चर्डाई दिए ।
– ० –
आलै छन् पदचिन्ह ती सहिदका टाटा अझै रक्तका
आलै छन् अझसम्म नै उनीहरू लड्दा बनेका कथा
त्यस्ता वीर सुपुत्र जो मुलुकमा बाँचिरहेछन् मरी
वीरैको गति पाउने सहिदमा मेरो छ श्रद्धान्जली ।
(गुल्मी, हाल: काठमाण्डौ)
(स्रोत : नेपालीकविता डट कम)