~टिका कुमार पुन~
मान्छेको रगत पिउन विवश धर्ती
पानीको मुल फुट्ने आशामा प्रतिक्षारत थियो
लाशको डङ्गुर बोकेर बग्न विवश नदी
हिउँचुलि पग्लिने आशामा सङ्लिदै थियो
तर अफ्सोच,
खुलेन पानीको मुहान यो वर्षा याममा पनि
पग्लिएन हिउँचुलि झलमल्ल घाममा पनि
दब्यो पानी भित्र भित्रै फाँटहरुमा,
ज्वालामुखी बन्ने तयारीमा तातो लाभा पो बन्यो क्यार
उभिएको छ हिमाल सिमानामा,
सायद त्यतै कतै गम्भीर षडयन्त्रको जालो पो बन्यो क्यार
र त आज,
हठात फेरी निराशा र स्तब्धताको कालो बादल छायो
टाढा क्षितिजमा बलेको आशाको दियो झयाप्पै निभ्यो
निसंकोच उड्नै लागेका परेवाका पखेटा च्वाट्टै काटियो
र यसरी शान्तिको विश्वाश टुक्रा टुक्रा भएर भाँचियो
हो यस पालि पनि,
शान्तिको विश्वाश टुक्रा टुक्रा भएर भाँचियो……………………।
चिमखोला, म्याग्दी
हालः भर्जिनिया
अगस्ट ३१, २००३