~पदम विश्वकर्मा “प्रतिक”~
आजभोली
मन दुखेको छ देशको
किन कि देश युद्ध मैदानमा तैनाथ भएको छ ।
त्यसैले दुखेको देश,
स्वतन्त्र बाँच्न चाहन्छ ।
सगरमाथा हरेक दिन रोइरहेछ,
भो अब यसलाई पापिष्ट पाउहरुले कुल्चने घृष्टता नगर
यसको शीर झुकाउने असफल प्रयास पनि नगर
स्वतन्त्र अस्तित्व बलत्कार हुन सक्छ ।
पशुपति, स्वयम्भु र लुम्बिनीहरु,
शान्तिको सन्देश सुशेली रहेछन्,
तर विवश, देश
केबल स्वार्र्थी र पापिष्टहरुको नाटकमा रुमल्लिइरहेको छ ।
कन्चन पानी बग्ने गण्डकी र कोशीमा रगतका फाल्सा,
रंगीन फुल फुल्ने बँगैंचामा,
शबहरु यत्रतत्र लम्पसार लडिरहेछन्
हराभरा जंगल लाशहरुले छोपिएको छ,
र बस्ती, गल्ली र सडकहरु उजाड उजाड बनिरहेछ ।
भयो अब देशको माटोलाई कुल्चने असफल प्रयास बन्द गर
देश थाकिसकेको छ, सगरमाथा थाकेको छ,
शहीदहरु व्यर्थ बलिदान भए, अब अझै शहीद बन्नै छ,
किन कि, शहीदै शहीदको अर्को सगरमाथा बन्न सक्छ ।
हिमाल पहाड र तराईका पिंढीहरु शोकाकुल छन्
गल्ली, बस्ती र चिसा छिंडीहरु भयवित छन्,
मृत्यु निश्चय छ, भरे झुल्कने घामसंगै
आफ्नो प्रियेको देहान्तको सन्देश सुन्न तत्पर बन्नु परेको छ ।
भोको पेट, बन्दुक र मेशिनगनको थकाइ
अझै मेटिएको छैन पल्लो घरे साइलाको
लडिरहेछ निरन्तर, गोली र बारुदको छर्राहरु संगै
जीवन जिउने हैन मृत्युको प्रहरहरु गन्दै ।
महोदयहरु हो, नखोक स्वार्थजनित स्वर
भन्ज्याङ, चौतारी, उकाली र ओरालीहरु अवाक बनिसकेका छन्
त्यसैले यसको शीर फेरी झुकाउने कोशिस नगर
अर्को महाप्रलयको पीडा सहनु पर्ने हुन सक्छ ।
कोलोराडो, सेप्टेम्बर ११, २००३