~देवी खरेल~
कलम बन्द गर, कापी बन्द गर
यो निरन्तर रटाइ शान्तिको
अब बन्द गर
यो अक्षरको खेति पनि बन्द गर
प्रजातन्त्र सँगै स्वतन्त्र भएर
कति खेति गरिसक्यौ अक्षरको
न कही केही उम्रियो, न कहिं केही सुध्र्रियो
तसर्थ यो बाँझो देशमा
पसिनाको नहर बन्द गर
मान्छौ भने कृपया,
तिमी यो अक्षरको खेति बन्द गर
र यो निरन्तर रटाइ शान्तिको
अब बन्द गर
किनकी,
अब यी हाम्रा आखाँहरु यति अभ्यस्त भइसके
कि, हत्या, हिंसा र विभत्सका दृश्य बाहेक
अरु केही हेर्न चाहन्नन्
हाम्रा यी औलाहरु यति कठोर भइसके
कि केवल हिँसाका शब्द बाहेक
केही लेख्नै चाहान्नन्
समग्रमा भनौ,
हामी अब यति अस्वस्थ भइसक्यौं कि,,
हाम्रो समिप शान्ति, सम्वृद्धिको
स्वस्थ्यता रमाउन चाहन्नन् ।।
अगस्ट ३१, २००३
(स्रोत : नेपालीपोष्ट डट कम)