~शाश्वत पराजुली~
रिदमले विमललाई बोलायो अनि भन्यो, “आज तकिया लडाईं खेल्ने है ?”
विमल पनि के कम, सिरानीको तकिया उठाएर रिदमको मुखमा फालिहाल्यो ।
रिदमले बायाँ हातले तकिया रोक्यो । उसले त्यही तकिया विमलको टाउकोतिर हुत्यायो । “ऐया ! कस्तो साह्रो हानेको, अलि विस्तार गर न ।”
रिदम अलि सतर्क हुँदै थियो । विमलले त्यही तकिया रिदमतिर हुत्याइदियो ।
रिदम झन् जोसियो । उसले आफूतिर आएको तकिया देब्रे हातले रोक्यो अनि दाहिने हातले समातेर विमलको घुँडामा मजाले फालिदियो ।
रिदम र विमल दाजुभाइ हुन् । रिदमको काकाको छोरा हो विमल । ऊ रिदमभन्दा दुई वर्ष कान्छो छ । ऊ रिदमको भन्दा पल्लो घरमा बस्छ ।
दुई जनालाई तकिया लडाई खेल्न बडो मज्जा भइरहेको थियो । कहिले तकिया एउटाको मुखमा बजारिन्थ्यो भने कहिले अर्काको टाउकोमा । कुनै बेला एउटाको ढाडमा बजारिन्यो भने कहिले अर्काको घुँडामा ।
बेसरी दुख्ने भए पो ? लडेजस्तो पनि अनि झगडा गरेजस्तो पनि । रिस पोखे जस्तो पनि, बदला लिए जस्तो पनि । खालि रमाइलो मात्र ।
दुई जनामा तकिया लडाइको घम्साघम्सी चलिरहेको थियो । त्यही बिचमा विमलले रिदमका मुखतिर ताकेर तकिया हुत्यायो । रिदमले टाउको यसो हल्लाएर छल्यो । लौ तकिया त गएर भित्ताको किलामा पो जाकियो । रिदमले हत्त न पत्त तकिया निकालेर विमलतिर फाल्यो ।
अब भने हुनुसम्म भयो नि, तकिया प्वाल परेछ । तकियाबाट निस्केर सिमलका भुवा कोठाभरि बुरुरु छरिन थाले । अब त झन् रमाइलो रिदम र विमललाई । पानीको बबल्स जताततै उडेजस्तै सिमलका भुवा कोठाभरि भए ।
खेल चलिरहेको थियो तर तकिया भने चाउरिँदै गइरहेको थियो । यतिकैमा रिदमको हातमा तकिया थियो । विमल उडेको सिमलको भुवा हातमा लिएझैँ गर्दे थियो । त्यही बेला रिदमले विमलतिर तकिया जोडले फ्याँक्यो ।
तकिया भन्नु मात्र, अब त त्यो अलि अलि बचेको सिमलको डल्लो मात्र भइसकेको थियो ।
त्यही बेला विमलले टाउको छलिदियो अनि त हुनसम्म भइगो नि । तकिया त सिधै झ्यालतिर गयो । झ्यालको खापा खुल्लै थियो तकिया त झ्यालबाट तल्ल गल्लीतिर भर्यो ।
दुवैले जिब्रो काटे । अनि झ्यालबाट विस्तारै तलतिर हेरे । अहँ बाटोमा कतै देखिएन तकिया । विमलले डराउँदै भन्यो, “लौ कसैको टाउकोमा त बज्रेन ?”
हत्तेरी वित्यास पर्यो । रिदमलाई तल गल्लीमा केही भइहाल्यो कि भन्दा पनि आमालाई के भन्ने चिन्ता पर्यो ।
“म जान्छु है रिदम ?” विमल निन्याउरो मुख लगाउँदै तलतिर ओल्र्यो ।
बेलुकी त आमा कोठामा आउनु भएन । विमलले एउटा सर्ट र सुइटर पट्याएर तकिया बनायो अनि त्यसैलाई सिरानमा हालेर सुत्यो ।
भोलिपल्ट खाना खाएर रिदम स्कुल गयो । दिनभरि उसको मनमा तकियाकै कुरा खेल्यो । हिजो सर्ट र सुइटरको तकियाले काम चलाएको थियो । तर उसलाई सुत्न पटक्कै सजिलो भएको थिएन ।
बेलुकी ऊ घर फक्र्यो अनि खाना खाएर गृहकार्य गर्न बस्यो । त्यही बेला आमा आउनु भयो । “सबै ठिक छ नि छोरा ?” आमाले ढोकाबाट चिहाउँदै भन्नुभयो ।
“ला, आमाले चाल पाउनु भो कि क्या हो ?” “ठिकै छ आमा पढ्दै छु ।” रिदमले आत्तिएर भन्यो ।
“ल ल राम्ररी पढ ।” आमा ढोका बन्द गरेर जानुभयो ।
रिदमले लामो सास फेर्यो । “आजचाहिँ एउटा ट्राउजर पनि थपेर अलि अग्लो तकिया बनाउनु पर्ला ।” उसले मनमनै भन्यो ।
फेरि कसैले ढोका ढक्ढक् गर्यो ।
अब को आयो फेरि ? रिदमले झसङ्ग हुँदै भन्यो “को हो ? आमा हो ?
“अरे, रिदम बाबु । म जोगिन्दर हँु । जोगिन्दर धुनियाँ । ढोका खोलि लिनुस् त ।”
“अहो, जोगेन्दर काका । कताबाट आइपुग्नु भो ?” कतै हिजोको तकिया उहाँको टाउको त बज्रेन, रिदमले मनमनै सोच्यो ।
रिदमले डराउँदै ढोका खोल्यो ।
लौ रिदम त ट्वाँ परेर हेरेको हेर्यै भयो । जोगेन्द्र काकाको हातमा चिटिक्क परेको तकिया थियो ।
जोगेन्द्रको पसल तल गल्लीमा थियो । उहाँको सिरक, डस्ना कपासको दुकान थियो । दुकान रिदमको जोडिएकै घरको छिँडीमा थियो ।
रिदमलाई अचम्म मानेको देखेर जोगेन्द्रले काकाले भने – “अरे रिदम बाबु, हिजो चाउरिएको तकिया तपाईंले दुकानतिर फाल्नु भएको होइन ? मैले त सोचँे, नयाँ बनाइदिन भन्नु भएको होला ।”
“पुरै नयाँ तकिया बनाइदिएको छु । नरम नरम, सुत्नुमा बडो आनन्द आइहाल्छ ।” जोगेन्द्रले काकाले तकियालाई मायालाग्दोसँग मुसार्दै भने ।
रिदम मनमनै खुसी भयो । तर उसको मुख खुलिहाल्यो– “अनि पैसा ?”
“अरे ! रिदम बाबु, पैसाको के कुरा ? एउटा सानु तकियाको पैसा म कहाँ लिन्छु र ।”
जोगेन्दर काकाले एकैछिन गम खाएर भने , “पोहर साल तपाईले टोलमा मलाई दुःख दिने केटाहरुलाई खेदाएको कहाँ बिर्सेको छु र ? अरे, तपाईको लागि त म दोलाँइ पनि बनाइदिनेछु । अरे, बनाइदिऊँ दोलाँई ?
“पर्दैन पर्दैन, काका अहिले यो तकिया नै मलाई लाख छ ।” रिदमले नयाँ तकियालाई सुमसुम्याउँदै भन्यो ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )