~माल्भिना मात्रोसोभा~
भावानुवाद : जुगल भुर्तेल
छोरीको उमेर- पुग्यो तीन वर्ष
बाबाको काँधमा बस्न मन पर्छ
त्यहाँ माथिबाट आकाश भेटिन्छ
तलभन्दा छुट्टै संसार देखिन्छ
बाबालाई ऊ हुर्कने विश्वासै छैन
पुल्पुलिएकी छ छोरी,
अपूर्ण उसको कुनै इच्छा छैन
यसरी पुल्पुलिँदै छोरी, पुगी छ वर्ष
अझै पनि उसलाई बाबाकै काख मन पर्छ
बनी दिन्छन् बाबा मुसा, भालु, हात्ती
सबै जान्ने बाबा सबैभन्दा जाति
छोरीले टेकी दस वर्ष
चकचके छे साह्रै सताउँछे
आमाको लिपिस्टिक चोरीचोरी पूरै ओठ रंगाउँछे
त्यस्तो बेला झोक्किँदै बाबाले कराउँछन्
माया धेरै गर्ने बाबा कहिलेकाहीँ रिसाउँछन्
हेर्दाहेर्दै सानी छोरी पन्ध्र वर्ष लाग्छे
खोल्दिन अब मनको कुरा लुकाएर राख्छे
‘आइज बुई चढाउँछु’ भन्दा नाक खुम्च्याउँछे
‘तिमी अब बूढो भयौ, कहाँ सक्छौ?’ भन्छे
आजभोलि बोल्दिन छोरी बातचितै हुन्न
कपाल पनि छोटो पारी, आफूजस्तै देखिन्न
उसको मन त ट्याटु खोप्ने, साथीभाइ,
सहर डुल्नेमा छ
बाबासँग पार्क जाने अब फुर्सद कहाँ छ ?
छोरीको उमेर बीस वर्ष,
आज ऊ साथीसँग कतै गई, घर आइन
बाबाले फोन गरिरहे, अहँ… उसले फर्काइन
छटपटिमा रात कट्यो, नसुती बिताए
बिहान जब भेट भयो, बाबा रिसाए
झर्किएर जवाफ दिई, ‘नागरिकता देखाऊँ
अब म ठूली भएँ, स्वतन्त्र छु जहाँ जाऊँ’
छोरी साँच्चै ठूली भई,
बिहे भयो, अर्कै घर गई
बाबा घरिघरि उसलाई भेट्न जान्छन्
अझै पनि बच्चालाई झैं चकलेट लैजान्छन्
आज बाबा धेरै रोए खुसीको खबरमा
छोरीले जब सुनाई ‘हुँदैछौ हजुरबा’
छोरीको उमेर तीस वर्ष,
उसलाई अब अतित मन पर्छ
फेरि बाबाको माया भरोसा
त्यही काँध चाहियो
त्यही पार्क, त्यही चकलेट,
त्यही गुलाबी रिबन चाहियो
बाल्यकालका किताबमा अझै
चकलेटको खोल भेटिन्छ
सम्झनाको ज्वारभाटा
आँखाबाट पोखिन्छ
बाबाको फोन दिनदिनै आउँछ,
सोध्छन् ‘तिमीलाई कस्तो छ?’
ऊ भन्छे ‘बाल्यकाल फर्काएर बाबा
तिम्रो हात समाउने मन छ’
बाबा आमा घरिघरि
फोन गर्दै रुन्छन्
शरीर अब थला पर्यो
बिरामी भइरहन्छन्
आमा बाबा बस्ने घरमा
औषधि गनाउँछ
बुझेकी छे छोरीले
त्यो ‘घर’ अब चाँडै हराउँछ
भागेर कुनै मायावी संसार
ऊ जान चाहन्छे
समयलाई फर्काउन जहाँ
सिपालु छन् मान्छे
चिताएको इच्छा क्षणमै
जहाँ हुन्छ साकार
चढेर अग्लिनलाई त्यहाँ
बाबाको छ आधार
किनकि उसलाई थाहा छ-
उनको काँधबाट आकाश भेटिन्छ
तलभन्दा छुट्टै संसार देखिन्छ !!!!!