~शोभाकर बुढाथोकी~
सबैतिर छ्वाप्पै छोपेको छ
भय र त्रासको भकारीले थिचेको छ
अदृष्य शक्तिको चक्रव्युहमा
उनीहरु, म र हामी यात्रीहरुलाई
बुख्याँचा निरन्तर तर्साईरहन्छ
चपेटामा पारिरहन्छ ।
अवाक नजर लगाउँछ
चियाउँछ अतितको पहाडबाट
सामुन्नेको वर्तमान नियाल्दछ
र, भविष्यको मृगतृष्णामा
रहस्यमयी गुफाबाट चियाइरहन्छ
गन्तव्य पहिल्याउने ध्याउन्नमा
असरल्लतामा अल्मलिरहन्छ ।
अपरिचितको चिच्याहट
कुहीरोमा कठ्याङग्रीएका लालाबालाहरु
एकतमासले नियालिरहन्छन्
अनकण्टारबाट सबलाई पिरोलिरहन्छ
र, सडकमा सताइरहन्छ
गन्तव्यहीन यात्रीहरुलाई
माखेसाङ्लोको जञ्जालमा पार्न
चौबाटोमा कुरिरहन्छन् ।
भोक र प्यासमा अल्मलिएकाहरु
सपनाहरु सजाउन प्रयत्नरत रहन्छन्
अञ्जुलीमा पानीका थोपाहरु खेलाउने रहरमा
र, विपनाका चाहनाहरुलाई
अङ्गालोमा बाँध्ने चाहनामा
नयाँ युगमा प्रवेश गराउन
लोभी–पापीको षडयन्त्रमा फसेका छन् ।
फगत, असरल्ल यात्रीहरु
कुइनेटोमा साक्षी बन्न लामबद्ध छन् –
सुनेका र भोगेका कथाहरु
निरन्तर इमान लुटिएकाहरुको
इज्जतमाथि धावा बोलिनेहरुको
स्वतन्त्रता नजरबन्दमा पारिनेहरुको
र, सज्जनता नियन्त्रणमा लिईनेहरुको
नयाँ संसार सृजनाको प्रलोभनमा
आत्मसमर्पण गर्न बाध्य हुन्छन् ।
अनि, दिग्भ्रमित यात्रीहरु
तमासे बन्न बाध्य हुन्छन् –
गरीबीमाथि लादिएको शासनको
अवलाहरुको लुटिएको अस्मिता
बन्धक बनाइएको न्याय
नियन्त्रणमा लिइएका निर्दोष मनहरु
र, पींजडामा कैद गरिएका सच्चाईहरु
फगत यत्रतत्र कुदीरहन्छन् ।
त्यसैले, कुइनेटोमा बुख्याँचाहरुसँग
मलाई संधै डर लागिरहन्छ
जालझेलबाट टाढा रहन मन लाग्छ
दुष्टहरुको चंगुलबाट जोगिन
अनकण्टार र बिरानो ठाउँमा
दीवास्वपनमा हराउन मन लाग्छ ।
तापनि बुख्याँचा हाँसीरहन्छन्
यात्रीहरु निरन्तर यात्रा गरिरहन्छन्
योजनाबिहिन र गन्तव्यबिहिन यात्रामा ।
– काठमाडौं