~सरगम भट्टराई~
हेर्नुस् न ख्वामित्
यसले त
न हामीले भनेको मान्छ
न हाम्रो बुख्याँचा बन्छ
जहिले पनि भएन भन्छ
हामीलाई बिगार्यौ भन्छ
हाम्रै साम्राज्य माथि बसेर
हामीलाई नै दुत्कार्छ
सती साल झैँ अडिग छ
न झुक्छ
न हल्लिन्छ
न सुत्छ
न सुत्न दिन्छ
त्यसैले
यसको हर्कत रोक्न
अब हामी उदण्ड बन्नु पर्छ
हो ख्वामित्,
यो बूढो डाक्टरलाई मृत्युदण्ड दिनुपर्छ!
हो ख्वामित्
हामी मनमर्जी खोलौँ भन्छौँ
यो बन्द गर भन्छ
हामी गरेरै छोड्छु भन्छौँ
यो बरु म मर्छु भन्छ
न मनमौजी गर्न दिन्छ
बिपत्तिमा एक्लै हिड्छ
हामी ब्यापार गरौँ भन्छौँ
यो समाजसेवा गर् भन्छ
हामी चाकरीले पनि कमजोर हुँदा
यो नोकरीमै बलियो छ
क़सम ख्वामित् !
यस्तै हो भने:
अब यसले संसार जित्छ
हामी हार्छौ
हाम्रा हार्छन्
यो त पक्कै पनि
हाम्रो बाटोको चण्ड हुनुपर्छ
हो ख्वामित् !
यो बूढो डाक्टरलाई मृत्यदण्ड दिनुपर्छ !
हामी यो यो मात्र भन्छौँ
यसले खोई त त्यो भन्छ
हामी यता यता भन्छौँ
यो किन त्यता भन्छ
हाम्रो आँखासंग यो मिल्दैन
हाम्रो भाकासंग यो मिल्दैन
हामी सबैलाई भ्रष्ट देख्छ
आफैलाई मात्र प्रष्ट देख्छ
हामीलाई यो रुच्दैन
लोभ्याउँदा यो फँस्दैन
यो न घुल्छ
न हामीलाई घुलाउन दिन्छ
हाम्रो बाटोको काँडो बन्छ
हाम्रो साम्राज्य त स्वच्छन्द हुनुपर्छ
हो ख्वामित्
यो बूढो डाक्टरलाई मृत्युदण्ड दिनुपर्छ !
हामी मिलेर खाऊँ भन्छौँ
यो भए जति बाँडौ भन्छ
हामी मिलाएर छलौँ भन्छौँ
यो तलबले ओखती बाँड्छ
लाखौँले देवता भन्छन् यसलाई
हाम्रो बिरुद्द बोलिरहन्छ
यो त ट्यारट्यारे भ्यागुता हो
हामी घोडा चढ्छौ
यो घुँडा खुईल्याएर हिड्छ
हामी लुकाउँन खोज्छौँ
यो झन् देखाउन खोज्छ
हाम्रा लागि यो मत्ता हात्ती हो
यसले हाम्रो खेती फाँड्छ
हाम्रा सपनाहरु आत्महत्या गर्नेछन्
हाम्रो गास खोस्ने खोसुवा हो यो
हाम्रो राजमा त हाम्रै पो सुगन्ध हुनुपर्छ
मार्क्सवादको नकावमा
मार्शल लगाएर बिधेयक त पास गरियो
तर ख्वामित् !
यो बूढो डाक्टरलाई अब मृत्युदण्ड दिनुपर्छ !
(स्रोत : वैखरी डट कम)