~जीतबहादुर कटुवाल~
जिल्ला कारागारको अघिल्तिरको पान पसलमा बजरङगीलाई भेटेँ । जाडोको मौसम भएकोले बाक्लो स्विटर लगाएर कानमा गलबन्दी बेरेको थियो । उसको पहिरनका कारण हत्तपत्ति चिनिन । उसैले बोलाएपछि म झसङ्ग भएँ । मलाई देखेर ऊ फिस्स हाँस्यो । मैले उसको काँधमा धाप मार्दै एकै सासमा सञ्चो सुबिस्ताको र यहाँ आउनुको कारण सोधेँ ।
“ यहाँको पुरुष कारागारमा रहेको कैदी नं चार सय एक्काईसलाई भेट्न आएको । ऊ मेरो अलिक टाढाको आफन्त हो । अपराधी भए पनि सहर आएको बेला एकपल्ट भेटूँजस्तो लागेर आएको । हुन त अपराधीलाई भेटेर पनि अगति नै परिन्छ होला तर पनि मन मानेन । ” उसले सुनायो । कारागारमा अनेक प्रकारका थुनुवा आउँछन् । कोही परिबन्दले पनि जेल परेका हुन्छन् । कोही ज्यान मार्ने ,केही चोरी गर्ने ,कोही लागु पदार्थ सेवन गर्ने , कोही बलात्कारी । पोहोर एकजना अचम्मको अपराधीलाई देखेँको थिएँ । आगो लाएर आफ्नै घर जलाउने । मान्छेको स्वभाव पनि थरिथरिको हुन्छ । कुन बेला के सोच्छ के गर्छ ? पत्तै नपाइने ।
मैले उसको अपराधको बारेमा जान्न चाहेँ । मानौँ म अपराध विज्ञानमा अनुसन्न्धान गर्दैछु । उसले कैदी नं चार सय एक्काइस अर्थात गोरे साहिँला जेल पर्नुको चाख लाग्दोे बेलिबिस्तार यसरी लगायो ।
गोरे साइलाको घरमा मान्छेको भीड छ । आँगनमा उसकी श्रीमतीको लास पहेँलो रङको पातलो रामनामीले छोपिएको छ । शिरतिर गोरे सुँक्सुकाउँदै अँध्यारो मुख लगाएर बसेको छ । उसको छेवैमा दुईजना छोरी र एउटा छोरो भक्कानीभक्कानी रोइरहेका छन् । उनीहरूको क्रन्दनले दर्शक महानुभावहरूको हृदयको पातलो आवरण छेडेर नराम्ररी घोचिरहेको थियो । कोही हेरेर फर्किदैछन् । कोही हेर्न जम्मा हुँदैछन् । च्वच्व कठै के देख्नु पर्यो भन्दै शब्द सहानुभूतिको ओइरो लगाइरहेका मानिसहरु प्रशस्त थिए ।
“ ए गोरे ! यो सब चाइने कसरी भो ? कसरी त्यति टाढाको पोखरीमा चाइने साहिलीँ डुब्न पुगिन् ? भन् । ” चाइने मुखिया कडके । बोलि नै पिछे चाइने थेगो बोल्ने हुँदा गाउँलेले उनको नार्म चाइने मुखिया ’ राखिदिएका थिए ।
यो पीडाको पहाडले थिचेको बेला किन यस्तो प्रश्न गरेर मुुटुकलेजोमा नुन छर्केको भन्दै सन्तुकी आमाले असन्तुष्टी पोखिन् । कोही अलिक पर बसेर मुखामुख गर्दै थिए ।
गोरे साहिँलाले शुष्क आँखा चारैतिर फिँजायो । उपस्थितमध्ये धेरैजसोका आँखाका डिलमा विषादका थोप्पा टल्पलाएका थिए । उसले चाइने मुखियातिर हेर्यो । उसले पत्नीको दुर्घटनाका सम्बन्धमा बताएको विवरण यसप्रकारको थियो ।
गोरे साँहिलाको सनातन पेशा दाउरा चिर्नु थियो । त्यसैले गाउँलेहरूले उसको नाम दाउरे जुराएका थिए । बञ्चराको बिँड्ले उसका हात गोहोराको छालाभन्दा खस्रा भएका थिए । ठेला उठेर निस्केका पाप्रा उप्काएर हात हेरिनसक्नुको थियो ।
ऊ बिहान सबेरै उठ्यो । सिमलीको टुक्रो भाँचेर दतिवन गर्दै शौच गर्न गयो । आएर हातमुख धोयो । दुईओटा बाख्रालाई खोले बसाउन आगो बाल्यो । अनि अघिल्लो दिन जङ्गलबाट ल्याएको वन तरुल पोल्न हाल्यो । खोले पनि पाक्यो तरुल पनि पाक्यो । हातले खरानी टक्टक्यायो । अनि भाँचेर मुखमा हाल्यो । छोराछोरी उठेकै थिएनन् । बुढी उठेर सिकुवा बढार्न थाली । गोरे भने काँधमा बञ्चरो राखेर वनतिर लाग्यो ।
उसका मनमा अनेक कुरा खेलिरहेको थियो “यो खप्परमा दुख पनि कति लेख्या रै छ । रातोदिन बञ्चरो चलाएर पालिनु पर्ने ,पाल्नु पर्ने । कहिले हुने खाने होइएला । जिन्दगी यसै बित्ने भो । एउटा गतिलो घर पनि बनाउन सकिएन । ”
मनमा कुरा खेलाउँदै ऊ वननजिक पुग्यो । उसका पाइला लम्किरहे ,पूर्वतर्फ । एउटा बाँदरले एउटा रुखबाट अर्काेरुखमा हाम्फालेर उसलाई तर्सायो । उसले बञ्चरो उज्यायो । बाँदर कुरा बुझेझैँ कुलेलम ठोक्यो ।
“ गतिलो घर त के कुरा गर्नु ? दुई छाक टार्न पनि बाह्र लण्ठा गर्नु पर्ने कुनै दिन बिरामी हुन पाइँदैन । अल्छी लाग्यो भन्न पाइँदैन । काम गर्न अल्छी गर्यो भने हात मुख जोरिदैन । आफू त जसो तसो बसूँला ती कलिला लालाबालाको आन्द्रा नै सुक्छ । सबैभन्दा साह्रो ढुङ्गा भन्छन् यो ढुङ्गाभन्दा नि साह्रो गरिब हुनु रहेछ ।” उसले अघिको सोचाइको क्रमलाई पुनः जोड्यो ।
“ अब त वन पनि पातलिसक्यो । पहिलेको जस्तो घना छैन । यस्तै हो भने कुने दिन यो वन सबै मासिन के बेर । यी वन्यजन्तु कहाँ बस्लान् ? चराचुरुङ्गी कहाँ जालान् ? अनि के दाउरा चिर्नु ? ” ऊ भावुक भयो । आकासमाथि हेर्यो । सूर्य कलिलो रश्मी पुञ्जका साथ पूर्व आकासमा रातो भकुण्डोझै थिए ।
वनको मध्यभागमा एउटा पोखरी थियो । पोखरी वन्यजन्तु र चराचुरुङ्गीको तिर्खा मेटाउने स्थल थियो । ऊ पोखरीको नजिक पुग्यो । पोखरीको उत्तरतर्फ एउटा बाङ्गे सखुवाको दल्केको थियो । उसले त्यस रुखका हाँगा सुकेका देख्यो । रुख पोखरीतिर पैतालीस डिग्री कोण पारेर ढल्केको थियो । आज त्यहीँ सुकेका रुखका हाँगाको दाउरा बनाउने विचार गर्यो । उसले बञ्चरो रुखमा ठुङ्यो । अनि दुवै हातमा थुक लगाएर दल्यो । त्यसपछि दुवै हात रुखमा समाएर बल गरेर चढयो । अलिकति माथि पुगेर हाँगो समायो अनि फटाफट टुप्पातिर लाग्यो । एउटा हाँगोमा अडेस लागेर सुकेका हाँगा काटन थाल्यो । खुबै होस गर्नु पर्ने । बल पनि लगाउनु पर्ने , सावधानी पनि अपनाउनु पर्ने एकै साथ । काटेका दाउरा होसियारसँग पानीमा खस्न नदिई बाहिर निकाल्दै थियो । अलिकति दाउरा काटेको थियो । हातबाट बञ्चरो फुत्किएर छ्वात्ल्याङ्ग पानीमा खस्यो । ऊ जिल्ल पर्यो । मुख अँध्योरो भो । पानी निकै गहिरो थियो । पस्न सकिने थिएन । पसेर पनि के गर्नु कहाँ डुबेर छाम्नु । आधा अँगालो दाउरा पनि भएको थिएन । अब के गर्ने होला उसको मनले ठम्याउनै सकेन । एक्कासि रुन आएछ उसलाई । ऊ बिलौना गरेर रुन थाल्यो ।उसको रुवाइले एका बिहानै अरण्य शान्ति भङ्ग निकै बेरपछि पोखरीको पानी सल्बलाउन थाल्यो । पानीमाथि एकजना देखिए ।
“ ए दाउरे , तिमी किन रोएको ? ” पानीमा आधा शरीर देखाएर जलदेवताले भने ।
“ मेरो बञ्चरो पानीमा पस्यो । अब केले दाउरा चिर्नु ? ” ऊ फेरि बिलौना गर्न थाल्यो । जलदेवताले दाउरेको शिरदेखि पाउसम्म सूक्ष्म निरीक्षण गरे । उसको वदनमा देखापरेको कारुणिक भाव र शब्दमा व्यक्त क्रन्दनले जलदेवतालाई पगाल्यो ।
देवता पानीमा डुबे अनि एकछिनमा एउटा सुनौलो बञ्चरो हातमा लिएर देखा परे । उनले दाउरेलाई बञ्चरो देखाउँदै सोधे , “ तिम्रो बञ्चरो यो हो ? ”
दाउरेले होइन भन्यो । फेरि अर्काे चाँदीको बञ्चरो लिएर देवता देखा परे । दाउरेले त्यो पनि होइन भन्यो । फेरि देवताले फलामको बञ्चरो देखाउँदै सोधे । दाउरे आफ्नो बञ्चरो चिनेर मुसुक्क हाँस्यो ।
“ भगवान मेरो बञ्चरो यहीँ हो । ” उसले भन्यो । उसको इमान्दारी देखेर जलदेवता प्रसन्न बने । उनले तिनैओटा बञ्चरो दिए ।
दाउरे तिनै ओटा बञ्चरो लिएर खुशी हुँदै घरतिर लाग्यो । आज उसले दाउराका साटो काँधमा तीनओटा बञ्चरो बोकेको थियो । उसको शरीरका स्फुर्तिको सञ्चार थियो । खुशीले भित्रैदेखि छचल्किएको थियो । उसका खुट्टा भुइँमा थिएनन् । ऊ हतारिँदै घर पुग्यो ।
कहिलेकाही दाउरा चिर्न गएको गोरे जुम्ली कान्छाको घरमा बिहानभरि पापी पानी धोकेर अबेर रित्तो हात घर फर्किन्थ्यो । पति रित्तै घर आएको देखेर उसकी पत्नीले त्यहीँ ठानेर परैबाट कराई । उसले पत्नीलाई मधुर मुस्कानका साथ एकै स्वरमा बञ्चरो माहात्म्य बेलिबिस्तार लगायो । दाउरेकी पत्नी पतिको कुरा विश्वास गर्न सकिरहेकी थिइन । ऊ कहिले लोग्नेको झुस्स परेको दारीले आधाउधि ढाकेको मुहार त कहिले उसका हातका तीन ओटा बञ्चरो नियाली रहेकी थिई । दाउरेले सुनको बञ्चरो उसको हातमा राखिदिएर विश्वास दिलायो । ऊ अकल्पनीय वैभवकी स्वामिनी हुन पाएकोमा खुशी भई । कहिलेकाहीँ अपत्यारिलो कुरा पनि सत्य हुँदो रहेछ । उसका मनमा एकाएक अनेक आकाङ्क्षाका छाल उर्लिन थाले । छ माना दूध दिने भँैसी , दुईतले घर , जमिन , राम्रो रातो सारी ,सुनको तिलहरी ,चुरा,नौगेडी शिरफूल आदि उसका चाहनाका प्राथमिक सूची मनमनै तयार भए ।
उसले ओल्टाइपल्टाइ सुनको बञ्चरो हेरी । छातीमा लगाई । अनि पतितिर मायालु पाराले हेरेर मुस्कुराई ।
दिउँसो गोरेले अलिकति सुन लिएर बजार गयो । उसले निकै पैसा हात पार्यो । पैसाले नुन तेल चामल ,चिनी , छोराछोरीलाई लुगा, पत्नीलाई साडी , आफूलाई कमिज अनि केही भाँडाकुँडा किन्यो । एकैपटकमा उसको घरमा त्यतिका सामान अहिल्यै प्रवेश गरेका थिएनन् । साँच्चिकै उसकी पत्नी दङ्ग भई । उसले फर्याकफुरुक गर्दै मिठो भान्सा तयार पारी । गोरे पनि मनमनै भावी योजनाको गुराँस फुलाएर मख्ख थियो । बेलुका अबेरसम्म दुई जोइपोई कुराकानी गरेर बसे ।
बिहान छोराछोरी खाना खाएर हिजो बाले किनिदिएका नयाँ लुगा लगाएर फुरुक्क पर्दै विद्यालयतिर लागे ।
लोग्नेलाई थालमा खाना पस्किँदै उसकी पत्नीले जिज्ञासा प्रकट गरी , “ यो सुनको बञ्चरो कहाँ भेटेको हो ? ”
“ मैले मध्य वनको पोखरीको किनारको बाङ्गे रुखमा दाउरा काटदा बञ्चरो पानीमा खसेको थियो । त्यहीँ भेट्टाको ” थाल आफूतिर तान्दै गोरेले सुनायो ।
“ एकपल्ट हेर्न जाऊँ न , त्यो ठाउँ । ” गोरे साहिँलाकी पत्नीले बडो अनौठा इच्छा सुनाई । तर उसको लोग्नेलाई त्यो कुरा मन परेन ।
“स्वादिलो आँप खान पाएपछि बोट जस्तोसुकै होस् ,किन चाहियो ? ” दाउरेले असन्तुष्टि जनायो ।
दाउरेकी पत्नीले जिद्धी गर्न थाली । पत्नीको इच्छा पूरा गरिदिनु पतिको कर्तव्य थियो । उसले घरधन्दा सकेर जाउँला भनेर चित्त बुझायो ।
दुवैले खाना खाए । मिलेरै जुठोचुलो गरे । त्यसपछि गोरे पत्नीलाई लिएर जङ्गलतिर हिँड्यो । बाटाभरि पतिपत्नीबीच अलिअलि एकान्तमा हुने खालका ठट्टा भए । अलिअलि नयाँ योजनाका खाका कोरे । कुराकानी गर्दै उनीहरू पोखरी नजिक पुगे ।
गोरेले ऊ परको त्यो बाङ्गो रुख भनेर देखायो । पत्नीले रुखमै चढने इच्छा गरी । पहिले दाउरे रुखमा चढ्यो अनि पत्नीको हात समातेर तान्यो । दुवैजना बञ्चरो खसेको ठाउँनिर पुगे । तलतिर हेर्न खोज्दा एक्कासि पत्नीचाहिँ चिप्लिएर पानीमा खसी ।
पत्नी पानीमा डुबेपछि दाउरे रुन थाल्यो । निकैबेरमा जल देवता देखा परे । उसले जलदेवतालाई आफ्नी पत्नी पानीमा खसेको कुरा विलौना गर्दै सुनायो । जल देवताले गोरेको मुहार हेरे ,आँखा नियाले । अनि केही नबोली घुप्लुक्क पानीमा डुबे । दाउरे पानीमा डुबेकी पत्नी बचाइदिने आशामा बसिरह्यो तर जलदेवता निस्केनन् । सूर्य पश्चिम पहाडबाट मधुरो प्रकाशका साथमा आकासको पर्दा उघारेर लुप्त भए । त्यसपछि ऊ निरास भएर रुँदै घर फक्र्याे ।
दाउरेले सबैका सामु यही कहानी सुनायोे । दाउरेले कथा भनुन्जेल छाउको सन्नाटा बिस्तारै भङ्ग हुन थाल्यो । खासखुस सुरु भो ।
दाउरेको कुरा नजिकै बसेर सुनिरहेको एउटा मान्छे बुरुक्क उफ्रियो ।
“यसले भनेको कुरा पछिल्लो चाँही असत्य हो । यसकी पत्नी आफैँ खसेकी होइन । उसले ठेलेर झारिदिएको हो । म केही पर बसेर हेरिरहेको थिएँ । वनमा चराउन छोडेको गाई बेलुका बास बस्न घर नआएकाले खोजी गर्न वनमा गएको थिएँ । त्यही बेला मैले रुखमा चढदै गरेका यी दुई बुढाबुढीलाई देखेँ । किन बुढाबुढी रुख चढे भनेर विचार गरेँ । हेर्दाहेर्दै बाङ्गे रुखबाट धकेलेर यसले पत्नीलाई झारिदियोे । त्यसैले यो दाउरे उसकी पत्नीके हत्यारा हो । यसलाई सजाय दिनुपर्छ ।”
त्यस मान्छेले गोरे साहिँलालाई झुटको खेती गर्ने ठहर्यायो । बेइमानको घण्टका रूपमा प्रस्तुत गर्यो ,अपराधी सावित गर्यो ।
हेर्दाहेर्दै गोरेको मुहार सडियो । उसलाई के गरुँ , कसो गरुँ भो । ओठमुख सुकेर आयो । छोराछोरीको मुहारमा हेर्यो । उनीहरू घोप्टो परेर रोइरहेका थिए । त्यतिनै बेला कसैले लासको अनुहार हेर्न रामनामी उघार्यो । गोरेले मृत स्वास्नीलाई पुलुक्क हेर्यो । खुब माया लागेर आयो ।
“ आफ्नै पत्नीलाई कसरी पानीमा डुबायो होला र ? ” कसैले गोरेप्रति सहानुभूति प्रकट गर्यो ।
“ ए गोरे ! चाइने तैले हामीलाई ढाँटे पनि भगवानलाई ढाँटन सक्दैनस् , आफ्नै आत्मालाई ढाँटन सक्दैनस् । चाइने साँचो कुरा के हो ? भन् । ” चाइने मुखियाले गोरेलाई हेर्दै भने ।
गोरे चुप थियो । सबैको ध्यान ऊतिर थियो । उसले के भन्ला भन्ने जिज्ञासा व्याप्त थियो ।
“ मुखिया बा , मेरै कारण सन्तेकी आमा पोखरीमा खसी । म दोषी छु । ” उसले रुँदै भन्यो ।
“ चाइने कसरी यस्तो भयो ? साँचो कुरा बता । ” मुखियाले अलिक ठूलो स्वरमा हपाारे ।
“ सुनको बञ्चरो पाएको पोखरी देखाउन पत्नीलाई वनमा लिएर जाँदा मेरो मनमा अनेक कुरा सल्बलाए । धनी हुन्छु , ठूलो घर हुनेछ । सुन चाँदीका गहनाले पत्नीलाई माथिदेखि तलसम्म ढाकिदिनेछु । यस्तै सोचेँ । पत्नीको अनुहार हेरेँ । ऊ गरिबी र कुपोषणले बैँशमै चाउरी परेजस्ती थिई । म अब गोरे साँहिलोबाट गोरे साहु बन्नेछु । तर मसँग अब यस्ती पत्नी कसरी सुहाउली ? कन्पारो पनि भासिएजस्तो । अनुहार कुच्चिएको प्लास्टिकको बट्टाजस्तो । खाली खुट्टा हिँडेर फुटेका कुर्कुच्चा देख्दा मेरो मन अमिलो भो । मलाई उसको शिरदेखि पाउसम्मको शरीर देखेर घिन लाग्यो । जे भए नि पत्नी आफ्नै हो ,मेरो अर्काे मनले भन्यो । रुखमाथि चढेपछि फलामको बञ्चरो पानीमा खस्दा सुन र चाँदीको पनि बञ्चरो पाएझैँ पत्नी पानीमा खसी भने उमेर छँदैछ अझै राम्रा पत्नी पाउनेछु भन्ने लाग्यो । अनि उसलाई ठेलेर खसाएछु । मेरालागि दिलोज्यान दिने पत्नीलाई गुमाउनु परेकोमा म अहिले पश्चातापको ज्वालामा पिल्सेको छु । तर के गर्नु हुने कुरा भइसक्यो । फर्केर आउने हैन रैछ । मेरो कुकर्म देखेरै पानीका भगवानले पनि सहयोग नगरेका होलान् ।”
“ ल हेरहेर यस असत्तिको बुद्धि । अब परेन के फसाद । दुखमा साथ दिने पत्नीलाई अलिकति सुख हुँदा मार्ने तँ राक्षस होस् । अब तँसँग जतिनै धन भएर के भो ? तैले अब अपराधको प्रायश्चित जेलमा बसेर गर्नुपर्नेछ । “ छेवेमा बसेकी पल्लाघरकी ठूली भाउजूले धारे हातले गाली गरिन् ।
“ यसले त आफ्नो भविस्यै सको । बालखा छोराछोरीको बिचल्ली पारो । थुक्क बजिया तेरो बुद्धि ! ” मनमती दिदीले उसलाई हेरेर आकाशतिर थुकिन् ।
“ मलाई माफ गर्नुहोस । ” सुँक्कसँुक्क गर्दै गोरे साँहिलाले बिस्मत गर्यो । त्यसभन्दा बढता बोल्ने हिम्मत ऊसँग थिएन ।
“ पाप धुरीबाट कराउँछ भन्या साँच्चो हो । किन पाप लुक्थ्यो र ? ” कसैले पछाडिबाट भन्यो ।
त्यतिञ्जेलमा प्रहरी आइपुगे । हत्कडी लगाएर उसलाई लगे । हेर्दाहेर्दै गोरेको साहुजी अभिलाषा साँगुरो गन्दे कोठाको चार दिवारभित्र कैद भो ।
गोरे दाउरेको अपराध कथा बजरङ्गीले सुनायो । चोक्टा खान गएको बुढी झोलमा डुबेझै लाग्यो । आत्मग्लानीमा डुबेको गोरेको नियाउरो अनुहारको काल्पनिक चित्र मेरो मनमस्तिष्कमा कोरियो । बजरङ्गी मबाट बिदा भएर गयो । म भने गोरे अर्थात कैदी नं चारसय एक्काइसको बुद्धिलाई धिक्कार्दै टोलाई रहेँ ।
रतुवामाई ८ ,दाम्राभिट्टा मोरङ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )