~रमा दुलाल~
गगनचुम्बी पर्खाल भित्र
सुरक्षा कवजको घेरा भित्र
मेरो सिंहदरबार सुरक्षीत छ
मेरो सिंहदरबार शीतल शान्त छ।
तर, सिंहदरबार,
तिमी दरबार मात्र होइनौं
तिमीभित्र सिंह पनि त छ नि,
तर, खै तिमी गर्जन सकेको ?
तिमीसँग नीति र कानून पनि त छनि,
तर खै तिमी वर्षन सकेको ?
‘हवस’ हजुरको थेगो सँगै,
अस्तित्व तिम्रो हराउँन सक्छ,
‘सत्य’ बोल्न नसक्ने संस्कृतिले
झुठहरू मौलाउँन सक्छन्।
चाकडी, चाप्लुसी र स्वार्थी गुटहरूको घेराभित्र
न्याय, इमान्दार र सत्यवक्ताहरू
रोमका राजा निरोले झै
बाँसुरी बजाउँन बाध्य छन्… सिंहदरबार
यसैले आज म,
मन र दोमनको दोभानमा बग्दै,
मन, वचन र कर्मको त्रिकोणमा नाच्दै,
यी तिनको अद्भुत दृश्यहरुमा
शून्य हुन पुग्छ,
स्वप्नील प्रेममा वग्न नसक्दा
त्यसै त्यसै हराइरहेछु।
भो, पश्चाताप त गर्दिनँ म … सिंहदरबार
तर आफैंभित्र प्रश्न गर्छु,
म किन तिमीमा समाएँ?
वेतिथि र कुरीतिको भूमरीभित्र
किन त्यसै त्यसै अल्झिदै गएँ?
यसैले, सिंहदरबार
एकान्तमा शान्त भएर स्वीकार्छु आज
हो, ज्ञानभन्दा अज्ञान ठूलो रहेछ
अस्तित्वभन्दा मृत्यु सत्य रहेछ ।
अब म तिम्रो परिचय पनि खोज्दिनँ … सिंहदरबार
अब म तिम्रो इतिहास पनि पल्टाउँदिनँ … सिंहदरबार
तिमी, तिमीले रोजेझै बाटो हिड्न सक्छौ,
म, मैले खोजेको बाटो पहिल्यान सक्छु
लिनु र दिनु तिम्रो र मेरो केही पनि त छैन
हामीमा कुनै मित्रता वा दुश्मनीको तगारो पनि त छैन
तर पनि एक पल्ट,
पर्ख र सोच … सिंहदरबार
समयले सत्यतालाई एक दिन उदाङ्गी दिनेछ
इतिहासले तिमीलाई पक्कै तिम्रो परिचय दिनेछ ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )